
असारको ३२ गते बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट पूर्वमन्त्री प्रा. मानबहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ ।
प्रा. मानबहादुर विश्वकर्माले दलित समुदायमा शैक्षिक र राजनीतिक जागरण ल्याउनका साथै अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको योगदानलाई कदर गर्दै सरकारले प्रा. विश्वकर्मालाई एक लाख नगद र ताम्रापत्रसहित पुरस्कारबाट पुरस्कृत गरेको हो ।
राणाशासनकालमा दलित जागरणको आन्दोलनमा होमिएका दलित मुक्ति आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको सम्मानमा सरकारले २०७२ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो । यस पुरस्कार मार्फत राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको क्षेत्र, समाज सुधार अभियानको क्षेत्र, मानव अधिकारको क्षेत्र र सीप, कला, शिक्षा–साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आईरहेको छ ।
प्रा. विश्वकर्मा सन् १९४८ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर विद्यालयस्तरसम्मको गाउँबाटै अध्ययन शुरु गरेका थिए । उनले भारतको राँची विश्वविद्यालयबाट एमएस्सी गरि वि.सं.२०३४ सालदेखि प्राध्यापन शुरू गरेका थिए।
