वर्षायाममा वाग्मती किनारका बासिन्दाको त्रास

सर्लाहीको पश्चिमी सिमानामा बग्ने वाग्मती नदीले वर्षायाममा किनारका बासिन्दालाई त्रासमा राख्छ। चुरे पर्वतको काखबाट बग्ने यो नदीले बाढीको समयमा गाउँ र खेतमा विनाश निम्त्याउँछ। बाढीले थातथलो छाडेर भाग्नुपरेको पीडा यहाँका स्थानीयको मनमा ताजै छ।

बसवरिया गाउँपालिका–२, मानपुरका ६५ वर्षीय रामसेवक महतो भन्नुहुन्छ, “वर्षा सुरु भएपछि रातभर निद्रा लाग्दैन। गत वर्ष बाढीले ड्याम फुटाएर गाउँमा पानी पस्यो, भागेर ज्यान जोगायौँ।” आकाश गडगडाउन थालेपछि पशुचौपाया खोलेर सुरक्षित स्थानतिर लाग्ने गरेको उहाँ बताउनुहुन्छ।

गत वर्षको बाढीले बसवरियाको मानपुर, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम–दक्षिण क्षेत्र प्रभावित भएको थियो। रामनगर–१ का वडाध्यक्ष दिनेश यादवका अनुसार बाढी गाउँ र खेतमा पस्दा धेरै स्थानीय विस्थापित भए। वाग्मतीसँग मिसिने सहायक नदीहरूले पनि दक्षिणी क्षेत्रमा थप क्षति पुर्‍याउने गरेका छन्।

रामनगर–१, छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बाढीले फुस र खरले बनेको घर बगाएको स्मरण गर्नुहुन्छ। “एक सातासम्म गाउँ डुबानमा पर्‍यो, विस्थापित भएर बस्नुपर्‍यो,” उहाँ भन्नुहुन्छ, “यो वर्ष पनि त्यस्तै सास्ती हुने हो कि भन्ने चिन्ता छ।” नेताहरू भोट माग्न मात्र आउने गरेको उहाँको गुनासो छ।

वाग्मती नदी चुरेमा साँघुरो भए पनि दक्षिणतिर फैलिँदै जान्छ। भारत प्रवेश गर्ने स्थानमा यो नदी करिब तीन किलोमिटरभन्दा फराकिलो हुन्छ। बलरा–१ का हरिशरण कापर भन्नुहुन्छ, “वाग्मतीको बाढी खोलाभन्दा बढी खेत र बस्तीमा बग्छ। गत वर्ष मेरो खाने अन्न पनि बगायो।” स्थानीय सरकारले समयमै बाँध निर्माण र मर्मत नगर्दा बर्सेनि सास्ती हुने उहाँको भनाइ छ।

स्थानीय तहको तयारी दाबी
स्थानीय पालिकाहरूले विपद् पूर्वतयारीमा काम गरिरहेको दाबी गरेका छन्। बलरा नगरपालिकाका मेयर रामा शङ्करप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताउनुहुन्छ। “स्थानीय युवालाई विपद्मा परिचालन गर्न तालिम दिइरहेका छौँ,” उहाँ भन्नुहुन्छ, “यसले जनधनको क्षति कम गर्न सहयोग पुग्छ।”

गत असारमा आएको बाढीले बलरा, रामनगर, धन्कौल र बसवरिया गाउँपालिकाका धेरै वडा प्रभावित भएका थिए। डुबानले खानेपानीको समस्या र शैक्षिक संस्था हप्तौँसम्म बन्द भए। स्थानीय सञ्चारकर्मी जितेश यादवका अनुसार भारतले सीमा क्षेत्रमा बनाएको ड्याम र एसएसबी रोडले वाग्मतीको पानी नेपालतर्फ फर्कँदा बाढीको जोखिम बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *