खानपिनमा ध्यान नदिए बनिएला टाइफाइटको सिकार

काठमाडौँ । गर्मी यामसँगै अहिले हावाहुरी तथा वर्षाको समय छ । यस्तो समयमा खानेपानी लगायत वातावरण नै प्रदुषणबाट ग्रषित छ । अझै भनौँ, यस्तो समयमा विशेष ध्यान नपुर्‍याउनाले मानव शरिरमा विभिन्न संक्रमण हुन जान्छ । मानव मात्र नभई अन्य पशुपक्षी, जिवजन्तुलगायतमा पनि संक्रमण देखा पर्न सक्दछन् । गर्मी याममा खास गरि टाइफाइड, रुघाखोकी लगायतको बढि नै संक्रमण हुन्छ । यहाँ हामीले टाइफाइड र यसका लक्षण तथा यसबाट बच्ने उपायहरुबारे चर्चा गरेका छौँ ।

टाइफाइड

अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ ‘टाइफसजस्तै लाग्ने’ भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखापर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो । टाइफाइडलाई म्यादी ज्वरो तथा आन्तरिक ज्वरोको नामले पनि चिनिन्छ । यो ज्वरो साल्मोनेला टाइफी ९मुख्य० र पाराटाइफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ । तुलनात्मकरूपमा एशियामा टाइफाइडका बिरामी बढी हुने गर्छन् । त्यसपछि अफ्रीकी मुलुकहरू दोस्रो नम्बरमा आउँछन् । एशियन मुलुकहरू जस्तै बंगलादेश, चीन, नेपाल, इन्डिया, इंडोनेशिया, लाओस, भियतनाम आदिले ८०५ रोग ओगट्छन् । असार, साउन र भदौ अर्थात् वर्षायाममा यो रोगको सङ्क्रमण बढ्दछ । दूषित पानी, खानाका माध्यमबाट सर्ने यो रोग मानिसको व्यक्तिगत सरसफाइ तथा वातावरणीय सरसफाइसँग प्रत्यक्षरूपमा सम्बन्धित छ । त्यसैले विकासोन्मुख देशहरूमा यो रोग एउटा स्वास्थ्य चुनौती पनि हो।

लक्षण

-शरीरमा हनहनी ज्वरो आउने
-रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने
-कसैलाई कब्जियत हुन्छ भने कसैलाई डायरिया हुने
-शरीर गल्ने र खान मन नलाग्ने
-औषधि सेवन गरेपनि तुरुन्तै ज्वरो नघट्ने


टाइफाइड भएमा के गर्ने
रगत परीक्षण गराएर रोगको किटान गर्न सकिन्छ । रगत परिक्षणबाट टाइफाइड भएको पक्का भएपछि यसको घरेलु उपचार गर्न सकिन्छ । बिरामीलाई हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी लगाउनुपर्छ । त्यसपछि हलुका लुगा लगाइदिएर विरामीलाई खुल्ला ठाउँमा राख्नुपर्छ ।

कतिपय व्यक्ति ज्वरो आएमा बाक्लो लुगा लगाउने, मुख छोपेर बाक्लो लुगा ओढ्ने गर्छन् तर यसो गर्नुहुँदैन । यसो गर्दा ज्वरो झन बढ्न जान्छ । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गर्नुपर्छ ।

सरसफाईमा विशेष ध्यान

टाइफाइड जस्ता रोगहरुबाट बच्नका लागि सरसफाईमा विशेष ध्यान दिनु आवश्यक छ । खुला ठाउँमा दिसा पिसाप गर्नुहुँदैन । शौच गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । खाना खानुभन्दा अगाडी साबुन पानीले हात धुनुपर्छ । पिउने पानी उमालेर मात्र खानुपर्छ । घर, सुत्ने कोठा सफा राख्नुपर्छ । बिरामीले लगाउने लुगा र प्रयोग गर्ने बेडको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

बिरामीले के खाने

टाइफाइडले आन्द्रामा संक्रमण गर्छ । त्यसकारण टाइफाइडका बिरामीले झोलिलो वा नरम खाना खानुपर्छ । प्रशस्त मात्रामा पानी वा झोलिलो पदार्थको सेवन गर्नुपर्छ । यो रोगका बिरामीका लागि जावलो सबैभन्दा उत्तम खाना मानिन्छ ।

के नखानेटाइफाइडका बिरामीले अमिलो, पीरो र कडा खालको खाना खानुहुँदैन । फोहोर एवं दुषित पानी पिउनु हुँदैन । नरम खालका फलफूल सेवन गर्न सकिन्छ । माछा, मासु र चिल्लोजन्य पदार्थबाट टाढा रहनुपर्छ । यदि कसैलाई टाइफाइड भएको छ भने उसले पूर्णरुपमा संचो नभएसम्म भान्साका काममा लाग्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *