
काठमाडौं – बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्यो नवप्रवर्तन केन्द्र (इनोभेशन सेन्टर) सुरु गरेको छ। नगरपालिकाले सुरु गरेको सम्भवत: यो नेपालकै पहिलो इनोभेशन सेन्टर हो।
जेनेस सलुशनसँगको सहकार्यमा सेन्टरमा शुक्रबार स्थानीय युवाहरूका लागि सूचना प्रविधि सम्बन्धी रोजगार कार्यशालाको दोस्रो चरण (सेकेन्ड ब्याच) आयोजना गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई कार्यशालामा सक्रिय सहभागिता जनाउँदै आफ्ना सीपहरू अभिवृद्धि गर्न आग्रह गरे। उनले भने, “आईटी साक्षरता अहिले सबै उमेर समूहका मानिसका लागि आवश्यक भइसकेको छ, विशेष गरी युवाहरूका लागि।” ढकालले स्थानीय युवाको सीप विकासमा प्राथमिकता दिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरे।
कार्यक्रममा प्रस्तुति दिँदै जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले डिजिटल शासनमा रहेको खाडल हटाउन सके हजारौं रोजगारी सिर्जना गर्न सकिने र नेपाल आफ्नै शर्तमा विश्वसँग जोडिन सक्ने बताए। फुयाँलले जेनेस सलुशनले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा स्थापना गरेको जेनेस टेक्नोलोजी एण्ड एक्सलेन्स सेन्टर (G-TEC) अन्तर्गत पहिलो चरणको सफलता पछि दोस्रो ब्याच सुरु गरिएको पनि जानकारी दिए। उनले अहिले नगरपालिका आफैले इनोभेशन सेन्टर स्थापना गरेको र आफुहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। “यो केन्द्रले समुदायका सदस्यहरू—विशेष गरी स्थानीय युवाहरूलाई-उद्योगसँग मेल खाने सीप प्रदान गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै र दिगो रोजगारीतर्फको बाटो खोल्दै सशक्त बनाउने काम गर्दै आएको छ। हामीले सुरु गरेको यो दोस्रो ब्याच केवल तालिमको निरन्तरता होइन, यो अवसर सिर्जना र भविष्य निर्माणको अभियान पनि हो,” उनले भने।
यूके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (AWS) का एम्बासडर समेत रहिसकेका फुयाँलले केन्द्रमार्फत युवाहरूलाई एडब्लुएस, माइक्रोसफ्ट एजर र गुगल क्लाउडका अन्तरराष्ट्रिय प्रमाणपत्र कोर्सहरूसँग जोड्ने तथा तालीम प्राप्त युवाहरूको प्रत्यक्ष रूपमा आईटी रोजगारी बजारसँग पहुँच पुराउन मदत गर्ने योजना रहेको बताए। उनले थपे, “प्रविधि भनेको औजार मात्रै होइन, यो मानिसहरूको बारेमा हो। त्यसैले हामी सबैले युवाहरूलाई नवप्रवर्तन गर्न सक्ने, अरूलाई उत्प्रेरित गर्न सक्ने र नेतृत्व लिन सक्ने अवसर सिर्जना गर्न हातेमालो गर्नुपर्छ।”
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले यो नगरपालिकालाई देशकै आइ टी हब बनाउने उद्देश्य लिएर इनोभेशन सेन्टर सुरु गरिएको बताए।
उनले एसईई पास गरे पछि विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्न सकुन भनेर कक्षा ९ देखि नै आइटी विषय पढाउन सुरु गरिएको बताए। उनले नगरपालिकाको सहयोगमा कान्तिपुर एकेडेमीमा २४ जना विद्यार्थीहरुले आइटी इन्जीनियरिंग पढीरहेको पनि बताए । “पढेर मात्रै नहुने रैछ। सीप ठूलो कुरा रहेछ। हामी अन्जनी फुयाँल जस्ता धेरै नेपाली युवा विश्वको आइटी एरेनामा पुगेको हेर्न चाहन्छौं। त्यो सम्भावना , तर हुटहुटी चाहिन्छ,” मेयर अर्यालले भने। उनले नगरपालिका जेन जी पुस्ता को लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताए। उनले आइटी तालिम लिएका युवाहरुले राम्रो रोजगार पाएका र केही ‘सेल्फ इम्प्लोइड’ भएर काम गरिरहेको पनि बताए।
त्यसैगरी, नगरपालिकाको वडा नं. ६ का अध्यक्ष प्रकाश फुयालले धेरै युवा रोजगारीको अवसर नपाएर विदेशिन बाध्य भएको उल्लेख गर्दै समुदायमै बसेर सीप सिक्ने र रोजगारी पाउने अवसर सिर्जना गरिदिएकोमा जेनेस सलुशनलाई धन्यवाद दिए। उनले नगरपालिकाको तर्फबाट यस अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसै वर्ष अगस्ट महिनामा जेनेस सलुशन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको थियो। हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन्।
जेनेस सलुशनका अफिसहरू नेपाल, बंगलादेश, नाइजेरिया, फिनल्याण्डसहित १० भन्दा बढी देशहरूमा रहेका छन्। कम्पनीले विश्वभरका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआइ) र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्याउँदै आएको छ।
