
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्नेहरूको सूची टुंगिन समय लाग्ने देखिएको छ।यस विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बुधबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठमा नेताहरूसँग छलफल राखेका थिए। उक्त छलफलमा सबैले आ-आफ्नो धारणा राखे पनि कुनै निष्कर्षमा पुग्न नसकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।उनका अनुसार देउवा पक्षको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कसरी अघि बढ्छ सोही आधारमा आफूहरूले पनि रणनीति बनाउने तय भएको छ।त्योसँगै नेता कृष्णप्रसाद सिटौलालाई पनि सुरूमै मिलाएर प्यानल घोषणा गर्नु पर्ने कुरा छलफलमा उठेको थियो।दउवा समूहमै पदाधिकारीमा धेरै आकांक्षी छन्। उनीहरूलाई व्यवस्थापन गर्न नसके गुट परिवर्तन गरेर जानसक्ने डर देउवालाई छ। पौडेल पक्षको रणनीति पर्खिने र सिटौलालाई पनि मिलाएर प्यानल बनाउने भएपछि उम्मेदवार टुंग्याउन समय लाग्ने देखिएको हो।
