म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा

म्याग्दी, २२ कात्तिक : गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु. ६२ करोड बजेट बिनियोजन गरेको छ ।

क्रमागत १७  योजनाका लागि रु. ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु. १० करोड बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो ।

यसअघिका बर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण ब्यवसायीहरु बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आव्हानका लागि सर्वेक्षण र लागत अनुमानको काम भैरहेको उहाँले बताउनुभयो ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १(ख)का १८ योजनाका लागि रु. ४७ करोड र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १(क) का १४ योजनाका लागि रु. १४ करोड ६२ लाख बजेट प्राप्त भएको छ ।

संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु. २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ-ताकम-शिवाङ-मुना-जलजला-ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठूलो योजना हो ।

बिम-मराङ-मल्कवाङ-पाखापानी, जैसीखोर-खहरेखोला-रिसिन चौतारी हुदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि रु. एक/एक करोड बजेट बिनियोजन भएको छ ।

म्याग्दी १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले धवलागिरि गाउँपालिका-१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्य सहित प्रदेशबाट रु. ५० लाख बिनियोजन भएको जानकारी दिनुभयो । संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उहाँले बताउनुभयो ।

मङ्गला गाउँपालिका-१ को तुसारेपानी-कुहुँ, गैराखेत-मालिका मन्दिर र दरवाङ-लामेला-अल्काचौर, दूधखोला-तोलावाङ र सराग्दी सडकका लागि रु. ५०÷५० लाख र

मालिका गाँउपालिकको खतेन-ओखरबोट झोलुङ्गे पुललाई रु. ३० लाख बजेट बिनियोजन भएको छ ।

घारखोला-नेपाने र तिप्ल्याङ-बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा-२ र बगैचा रानीपौवा रिसिन चौतारी हुदै बेगखोला जोड्ने सडक र रघुगङ्गा -१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि रु. ५०÷५० लाख बजेट बिनियोजन भएको म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । ग्रामिण सडकहरुलाई ग्राभेल, ढलान र कालोपत्र गरेर स्तरोन्नति गर्न योजनाहरु सञ्चालन भएको उहाँले बताउनुभयो । सडक स्तारोन्नति भएपछि ग्रामिण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाईसराई घट्ने अपेक्षा गरिएको छ ।

अन्नपूर्ण-५ पाउद्धारदेखि कुरिलाबगर हुदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा-भिरकाटे सडक, ज्ञानप्रकाश मावि देखि कोट खलंगा- हुदै ठारा, भगवती-डाडाबारी-पिप्ले एकघरे सडक, कोटगाउँ-रायखोर- घ्यासीखर्क र पाखापानी- कालावाङ -ठाडाखानी र ठूलोगैरा – खबरा- बन्चरेढुंगा-भकुण्डे र आनन्दबगर- लामबगर – ढोडेनी सडकका लागि रु. ५०÷५० लाख बजेट बिनियोजन भएको छ । 

बेनी-दरवाङ-कल्लेनी-ताकम-मुना-जलजला, दरवाङ-अदिभारा-डाडागाउँ-सोले-तमान-बुर्तीवाङ, पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक,  दरवाङ- मुना- ढोरपाटन, दरवाङ-बिम-दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल,  रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(ख) का क्रमागत बहुबर्षीय योजनाहरु हुन् ।

निर्वाचन क्षेत्र १(क) मा बेनी-तोरीपानी, हाँडेभिर-बगरफाँट -दूधेखोला- हल्लेगौडा- डोलेमुसुङ, गलेश्वर-पिप्ले – भगवति, गलेश्वर-पुलाश्रम, चित्रे- घोडेपानी, भगवति-सिजलगाउँ-बेग जोड्ने क्रमागत बहुबर्षीय सडक निर्माणाधिन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *