
काठमाडौंको व्यस्त बजार नयाँ सडकको छेउमै संकटा भगवतीको मन्दिर छ । जसको तल्लो तलामा करुणामय र माथ्लो तलामा संकटाको मूर्ति राखिएको छ । संकटा र करुणामयको मन्दिर एउटै हो । मस्त्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । संकटालाई समस्या र संकट हटाउने देवीका रूपमा पूजा गरिन्छ । संकटा देविलाई पूरान अनुसार विकत मातृका पनि भनिन्छ । जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ ।
किंवदन्ती अनुसार, लिच्छविराजा नरेन्द्र देवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । खडेरीको कारण खोजी गर्दा त्यसको मुख्य कारण गोरखनाथ रहेको थाहा भयो । उनी उपत्यकाका सबै नागहरूलाई आफ्नो अधीनमा लिई स्वयम्भूस्थित गुफामा दिव्य साधनामा बसेका रहेछन् । गोरखनाथको अधीनमा परेका नागहरूले वर्षा गराउन पाएनछन् । यता नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउनका लागि उनलाई साधनाबाट ब्यूँताउन आवश्यक थियो । यो कुरा उनका गुरु मत्स्येन्द्रनाथबाट मात्र सम्भव रहेछ । तसर्थ भारतको असममा रहेका मत्स्येन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएछ । काठमाडौं आउँदा बाटामा उनलाई विघ्नबाधा नपरोस् भनी संकटाको कलश उनीसाथै ल्याइएछ । मत्स्येन्द्रनाथ उपत्यका आइपुग्नासाथ आफ्ना गुरु आएको थाहा पाएर गोरखनाथ साधनाबाट ब्यूँतिएर गुरुको स्वागत गर्न आएछन् । अनि उनको नियन्त्रणमा रहेका नागहरू स्वतन्त्र भएछन् र उपत्यकामा वर्षा गराएछन् । यता मत्स्येन्द्रनाथका लागि काठमाडौंमा करुणामयको मन्दिर बनाइएको थाहा पाएपछि संकटाले पनि यही मन्दिरमा बस्ने मनसाय राखिछन् । त्यसपछि उनको मूर्ति करुणामयको मन्दिरको माथ्लो तलामा राखिएछ । मन्दिर अगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ ।
नवरात्रीको आठौं दिनमा मानिसहरु देवी संकटाको मन्दिर गई पूजाआजा गर्दछन् । शनिबार संकटा देवीको दर्शन गरेमा सबै संकटहरु टाढा भाग्ने जनविश्वास रहेको छ ।
