
केहि समयदेखि प्राविधिक समस्याका कारण छपाई रोकिएको सवारी चालक अनुमतिपत्रको छपाई कार्ड एकदेखि डेढ महिनाभित्रमा नेपाल आइपुग्ने भएको छ ।
लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर) मा कार्ड नमिलेका कारण कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड आउनुपर्ने विभागले जनाएको छ । विभागमा कार्ड आएपछि झण्डै आधा अहिले नै छाप्नुपर्ने छ ।
दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब एकदुई हजार मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयहरुले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।
