भेलाको उपस्थितिले पार्टीमा उर्जा थप्यो : महानगर अध्यक्ष थापा

विराटनगर, १९ भदौ । नेकपा एमाले विराटनगर महानगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाले कार्यकर्ताहरुमा उर्जा भरेको महानगर अध्यक्ष सागर थापाले बताएका छन् । विगतको तुलनामा एमाले अवस्था अझ सुधार भएको भन्दै उनले कार्यकर्ताहरुमा उत्साह बढेको दावी गरे । आजको भेलाले पार्टी फुटका विरुद्ध आम कार्यकर्ता रहेको प्रमाणित गरेको उनले बताए । उल्लेख्य रुपमा कार्यकर्ताको उपस्थिति भएपछि नेतृत्वलाई समेत उर्जा थपेको छ । कार्यकर्ताको सहभागिताले उत्साहित बनेका अध्यक्ष थापाले देश र जनताको पक्षमा पार्टीले सरकारमा हुँदा गरेको विकास र राष्ट्रीयताको पक्षमा नेतृत्वले लिएको चट्टानी अडानले गर्दा एमालेको जनाधार झनै बढेको दावी गरे ।

विगतमा एमालेमै बसेर एमालेलाई नै घात गर्नेहरु बाहिरिएको कारण पार्टी सङ्लिएको हुँदा समेत कार्यकर्तामा उत्साह बढेको थापाको भनाई छ । उनले तल्लो तहका कार्यकर्तामा बढेको यो उत्साहले स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा समेत एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताए । महानगर स्तरिय कार्यकर्ता भेलामा पूर्वमन्त्री लालबाबु पण्डित, सांसद तथा पूर्वमन्त्री भानुभक्त ढकाल, पूर्वमन्त्री तथा सांसद शिवमाया तुम्बाहाम्फे, प्रदेश १ का पूर्व समाजिक विकास मन्त्री जीवन घिमिरे लगायतकाले सम्बोधन गरेका थिए । एमालेले अहिले देशभर स्थानीय तह र जिल्लास्तरमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *