
काठमाण्डौ- गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको नगर प्रमुख उम्मेदवार सिर्जना सिंहले श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताएकि छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँले आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा ट्रेड युनियनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सिंहले आफू नगर प्रमुखमा निर्वाचित भएर श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्ने बताएकि हुन् ।
“श्रमको सम्मान गरे मात्र देशको विकास हुन्छ, म नगर प्रमुखमा निर्वाचित भएमा श्रमको सम्मान गर्दै श्रमिकसँग सहकार्य गरेर अगाडि बढ्नेछु”, सिंहले भनिन् । उनले काठमाडौँ भित्रको फुटपाथको व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नगरप्रमुख उम्मेदवार सिंहले रात्रिकालीन समयमा महिलालाई सुरक्षित तवरले काठमाडौँभित्र हिँड्ने वातावरण निर्माणका लागि सबै वडाभित्र सीसी क्यामरा र पोलपोलमा बिजुलीबत्तीको व्यवस्था गर्ने स्पष्ट पारिन् ।
उनले श्रमिक महिलाका बालबालिकालाई राख्नका लागि शिशु स्याहार केन्द्रको व्यवस्था गर्नका साथै गृहिणी महिलाका लागि विशेष भत्ताको व्यवस्था गर्ने बताइन् ।
ट्रेड युनियन काँग्रेसका नेता एवम् पूर्व सांसद अच्युतराज पाण्डेले काठमाडौँको विकासका लागि यस पटक महिला उम्मेदवार सिंहलाई विजय गराउनुपर्ने बताए ।
ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुमार कुँवरले श्रमको सम्मान गर्न नसक्दा मुलुक पछाडि परेको भन्दै श्रमको सम्मान गर्ने पार्टी काँग्रेसको पक्षमा जनलहर सिर्जना गर्न सम्पूर्ण श्रमिकलाई आग्रह गरेका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसका सह कोषाध्यक्ष सुशीला घिमिरे, जी पी कोइराला लेवर फाउन्डेसनका महासचिब सुर्य नेपाल, नेपाल ट्रेड यूनियन कांग्रेस काठमाण्डौका पुर्व अध्यक्ष गणेश भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँका अध्यक्ष देवीप्रसाद भुसाल लगायतले काठमाडौँ महानगरको प्रमुखमा महिलालाई टिकट दिएर काँग्रेसले महिलाप्रति सम्मान गरेको बताए । काठमाण्डौ महानगर लगायत सबै स्थानिय निकायहरु श्रम मैत्री हुनु पर्ने कुरामा जोड दिए ।

Leave a Reply