
१५ असोज,काठमाडौं ।
रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने भन्दै विवेकशील साझाका लुम्बिनी प्रदेश संयोजकसहित ३१ जनाले सामूहिक राजीनामा दिएका छन्।
उनीहरुले पार्टीको साधारण सदस्य समेत नरहने भन्दै पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पेस गरेका हुन्। राजीनामा बुझाउनेमा पार्टीका लुम्बिनी प्रदेश संयोजक अनुपमान सैजुसहित नेता, कार्यकर्ता छन्।
सामूहिक राजनीनामा पत्रमा पार्टीका पूर्व अध्यक्ष मिश्रको ‘विचारभन्दा माथि देश’ भन्ने ‘मार्गदर्शन’लाई काठमाडौंमा रहेका केही सीमित व्यक्तिहरुले एकलौटी रुपमा खारेज गरेको भनेर असन्तुष्टि पोखिएको छ।
‘रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिङ्गो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर रहेको हुँदा आजका मितिदेखी लागू हुने गरि विवेकशील साझा पार्टी लुम्बिनी प्रदेश समिती भंग गर्दै लुम्बिनी प्रदेशका सम्पुर्ण जिल्ला समिति समेत आजका मितिदेखि भंग गर्दै प्रदेश समिति, जिल्ला समिति, नगर तथा गाउँपालिका समितिमा रहनुभएका तपसिलका सम्पुर्ण जिम्मेवार सदस्यहरुले विवेकशील साझा पार्टीको साधारण सदस्य नरहने गरी आजका मितिदेखि लागू हुनेगरी राजीनामा गरेका छौं,’ सामूहिक राजीनामा पत्रमा भनिएको छ।
विवेकशील साझाले स्थानीय तहको निर्वाचनमा नराम्रो हार बेहोरेपछि ‘नैतिकताका आधार’मा अध्यक्ष पदबाट राजीनामा दिएका मिश्र केही दिन अगाडि साधारण सदस्यबाट समेत राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका थिए।
मिश्रको राप्रपा प्रवेशपछि विभिन्न केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरुले विवेकशील साझा छाड्न लागेका छन्।

Leave a Reply