
कास्की : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ ।
यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्वितीय बन्न सफल भएको छ ।
बागमती प्रदेशले एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जितेको हो । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले भने एक रजतमा जित्यो ।
त्यस्तै आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते ।
पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट् हाडालाई ७–६, ६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जितेका हुन् ।
यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण पदक जिते ।
पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य पदक जिते ।
महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते ।
पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडीले रजत पदक जितेको छ ।
महिला युगल विधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाहको जोडीले रजत पदक जितेको छ ।
टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जित्यो ।

Leave a Reply