
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरूले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले महाभियोगको प्रश्न संसद्को विषय भएको धारणा राखेका हुन् । श्रेष्ठले विगतमा भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको टिप्पणी गरेका छन्।
उनले बिचौलियालाई न्यायपालिकाभित्र प्रवेश निषेध गराउनको लागि पनि आफूहरूले संस्थागत र व्यक्तिगत रूपमा सुझाव दिएको कार्यक्रम मार्फत स्मरण गराए । न्यायालयमा विकृति, विसङ्गति मौलाएको कुरा उठेको र यी चिज रोक्नको लागि आफूहरूले बारम्बार भनिरहेको सुनाए । उनले न्यायपालिकाभित्रका विकृति, विसङ्गति, भ्रष्टाचार रोक्नको लागि उपाय र कार्य योजना बनाउन हरिकृष्ण कार्कीको नेतृत्वमा कमिटी गठन भएको र त्यसले रिपोर्टसमेत दिइसकेको बताए । उनले भने,‘न्यायपालिकाको सुधारको लागि साउन १४ गते हामीले रिपोर्ट दियौँ, न्यायपालिकाको नेतृत्व सचेततापूर्वक लाग्ने हो भने यो रिपोर्टले ८० प्रतिशत सुधार हुन्छ ।’
