
काठमाडौं :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरीसम्बद्ध व्यक्तिहरूको मोबाइल फोन जफत गरेको छ।
अख्तियार स्रोतका अनुसार चाबहिलस्थित यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीको २५ थान मोबाइल नियन्त्रणमा लिइएको हो।
त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल पनि जफत गरिएको छ।
यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाबाट ९ थान मोबाइल बरामद गरिएको अख्तियारले जनाएको छ।
अनुसन्धानका क्रममा लिखित परीक्षामा असफल भइसकेका परीक्षार्थीहरूलाई तोकिएको समयावधि नपुग्दै पुनः परीक्षामा सहभागी गराइएको र उत्तरपुस्तिकामा हेरफेर गरिएको आशंका देखिएको छ। सोही कारण परीक्षार्थीहरूको उत्तरपुस्तिकासमेत जफत गरिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार कर्मचारी र प्रहरीको मिलेमतोमा पाँच हजारदेखि दस हजार रुपैयाँसम्म रकम लिएर लिखित परीक्षामा फेल भएका परीक्षार्थीलाई पास गराउने गरिएको पाइएपछि अख्तियारले अनुसन्धान अघि बढाएको जनाएको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही गरिने अख्तियारले जनाएको छ।
Leave a Reply