आइसीसी टी- २० विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड सेमिफाइनल नजिक पुग्दा आयोजक मध्ये एक राष्ट्र श्रीलंका भने आउट भएको छ ।
कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बुधबार राति भएको खेलमा न्युजिल्याण्डसँग ६१ रनको भारी अन्तरले पराजित हुँदै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १०७ रन बनाउन सक्यो ।
न्युजिल्याण्डको जितमा कप्तान मिचेल स्यान्टनर र कोल म्याकोन्ची बीचको ऐतिहासिक साझेदारी बन्यो । एक समय ८४ रनमा ६ विकेट गुमाएर संकटमा परेको न्युजिल्याण्डलाई यी दुईले अन्तिम चार ओभरमा ७० रन जोड्दै सम्मानजनक स्कोरमा पुर्याएका थिए । स्यान्टनरले ४७ र म्याकोन्चीले महत्वपूर्ण ३१ रनको योगदान दिएपछि सातौँ विकेटका लागि ८४ रनको साझेदारी भएको थियो, जुन टी-२० विश्वकप इतिहासकै सातौँ विकेटका लागि उच्च साझेदारी हो । श्रीलंकाका महिश थिक्सनाले सुरुवाती ओभरहरूमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि अन्तिम ओभरमा उनी महँगो सावित भए ।
१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात निकै खराब रह्यो । म्याट हेनरीले इनिङ्सको पहिलो बलमै ओपनर पथुम निसंकालाई बोल्ड गर्दै घरेलु दर्शकलाई स्तब्ध पारे । त्यसपछि चरिथ असलङ्का पनि सस्तैमा आउट भएपछि श्रीलंका दबाबमा आयो । न्युजिल्याण्डका स्पिनरहरूले श्रीलंकाली ब्याटरहरूलाई खुलेर खेल्न दिएनन् । रचिन रविन्द्रले घातक बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए, जुन उनको टी-२० करियरकै उत्कृष्ट प्रदर्शन बनेको छ । श्रीलंकाका लागि कामिन्दु मेन्डिसले ३१ र वेलालागेले २९ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टोली लक्ष्यभन्दा धेरै पछाडि रह्यो ।
हारसँगै श्रीलंका आफ्नै देशमा आयोजित विश्वकपको दौडबाट बाहिरिएको छ । कोलम्बोको पिच स्पिनमैत्री हुने अनुमान गरिए अनुसार न्युजिल्याण्डका स्पिनरहरूले त्यसको भरपुर फाइदा उठाए । न्युजिल्याण्डले यस खेलमा मात्र तीन ओभर मध्यम गति (सीमर) बलिङ प्रयोग गरेको थियो । जुन उसको क्रिकेट इतिहासकै दुर्लभ रणनीति थियो ।

Leave a Reply