’स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा २७औँ फ्लोरा एक्स्पो २०८२ हिजो चैत ५ गतेदेखि भव्य रूपमा सुरु भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित यस प्रदर्शनीको पहिलो दिनदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न कुनाकाप्चाबाट पुष्प प्रेमी, विद्यार्थी, शिक्षक र सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ।
मेला उद्घाटन गर्दै बागमती प्रदेशका कृषि मन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई ‘स्मार्ट’ र निर्यातमुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रदर्शनीमा ८३ वटा स्टलहरू रहेका छन्, जहाँ मौसमी फूल, सुनाखरी, र आधुनिक खेती प्रविधिको प्रदर्शन तथा बिक्री भइरहेको छ।
विशेष गरी प्रदर्शनीमा राखिएका मनमोहक फूलहरू र आधुनिक गार्डेनिङ सजावटले सबैको ध्यान आकर्षित गरिरहेको छ। सिस्टा, मेलिशा, आजिमा र जाभा कुसुम जस्ता प्रतिष्ठित नर्सरीहरूले प्रदर्शनीलाई दुलही झैँ सजाउन विशेष भूमिका खेलेका छन्।
उत्पादक र उपभोक्तालाई एउटै थलोमा जोड्ने यो मेला आगामी चैत ९ गतेसम्म हरेक दिन बिहान ९:०० देखि बेलुका ५:३० बजेसम्म अवलोकनका लागि खुल्ला रहनेछ। बीवाइडी र एभरेष्ट ग्यास जस्ता संस्थाहरूको सहयोगमा सञ्चालित यो एक्स्पोले नेपाली पुष्प व्यवसायलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave a Reply