काठमडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि ‘फलदायी वार्ता’ भइरहेको दाबी गरे पनि इरानी पक्षले त्यसलाई पूर्णतः अस्वीकार गरेको छ । इजरायल–इरान द्वन्द्व चर्किएसँगै ट्रम्पले सम्झैताको प्रयास भइरहेको बताएका हुन् । जसलाई इरानले ‘आर्थिक र राजनीतिक चालबाजी’ को संज्ञा दिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले एक अज्ञात उच्च इरानी अधिकारीसँगको वार्तापछि सहमतिका मुख्य बुँदाहरु तयार भएको जिकिर गरेका छन् । ट्रम्पको यो भनाइ यस्तो समयमा आएको छ, जब अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर पुगेर अमेरिकी अर्थतन्त्रमा दबाब सिर्जना भएको छ । उनले इरानबाट सकारात्मक प्रतिक्रियाका लागि पाँच दिने समयसीमा समेत तोकेका छन् ।
यता, इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जालमार्फत ट्रम्पको दाबीको कडा खण्डन गरेका छन् । उनले अमेरिका र इजरायल फसेको ‘दलदल’ बाट उम्कन र तेल बजारलाई हेरफेर गर्न ट्रम्पले झुटा समाचार फैलाएको आरोप लगाएका छन् । इरानले अहिलेको युद्धलाई लम्ब्याएर अमेरिकालाई अर्थिक पीडा दिन चाहिरहेको विश्र्लेषण गरिएको छ ।
अहिले दुबै पक्ष आ–आफ्नो ‘प्रोपोगान्डा’ स्थापित गर्न व्यस्त देखिन्छन् । ट्रम्प आगामी चुनाव अघि युद्ध रोकेर बजार शान्त पार्न चाहन्छन् भने इरान भविष्यका लागि बलियो प्रतिरोध क्षमता देखाउने रणनीतिमा छ । यसले गर्दा वास्तवमै वार्ता भइरहेको छ वा यो केवल मनोवैज्ञानिक युद्ध मात्र हो भन्ने कुरा अझै रहस्यमय बनेको छ ।

Leave a Reply