ओली र लेखक पक्राउको विरोधमा एमाले आन्दोलित

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेकपा एमालेले सशक्त विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। ‘जेनजी’ आन्दोलनका क्रममा दमन गरेको आरोपमा प्रहरीले आज बिहान दुवै नेतालाई नियन्त्रणमा लिएको हो।

​एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी कार्यकर्ता र समर्थकहरूलाई यो कदमको विरुद्धमा सडकमा उत्रिन आह्वान गर्नुभएको छ। उहाँले ओली र लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै यसले देशमा थप द्वन्द्व निम्त्याउने चेतावनी दिनुभएको छ। लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र प्रतिशोधको राजनीति अन्त्यका लागि आजैदेखि प्रदर्शन सुरु हुने र यसबारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने बस्नेतले उल्लेख गर्नुभएको छ।

​नेता बस्नेतले प्रहरी प्रशासनको भूमिकामाथि पनि कडा टिप्पणी गर्नुभएको छ। आफ्नै चौकी र सरकारी सम्पत्तिको सुरक्षा गर्न नसक्ने प्रहरी प्रशासनले लोकतन्त्रका लागि लडेका नेताहरूलाई पक्राउ गर्न ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ। यस घटनाले मुलुकको राजनीतिक वातावरण थप तातिने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *