काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह( बालेन )ले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शाहले भने, “यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो ” बताएका छन् ।
सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए ।
“मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ,” प्रधानमन्त्री शाहले भने ।
प्रधानमन्त्रीले अहिलेसम्म सरकारले ११ हजार ९९३ जनाको उद्धार गरेको बताउँदै तीन हजार ९१६ सम्पर्कविहीन भएको जानकारी गराए ।
उनले मनमा अर्को गहिरोगरी प्रश्न गढेको बताए ।
“हामीमाझ यस्तो कसरी विपद् आइलाग्यो? ,” प्रधानमन्त्रीको प्रश्न थियो, “विज्ञहरुले यो विपद्लाई यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन् ।”
उनले अहिले थप जोखिम बढ्दै गएको बताउँदै जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय स्तरमा दह्रोगरी आवाज उठाउनुपर्ने बताए ।
“जोखिम बढ्दै गएको संकेत गरेको छ । जलवायु परिवर्तनपछि हामीले भोग्नुपरेको असरका बारेमा विश्व समुदायमाझ दह्रो गरी राख्नुपर्ने भएको छ,” प्रधानमन्त्री शाहले भने, “सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ ।”
समयमै बाढीको सूचना किन भएन? भन्ने प्रश्न उठेको बताउँदै प्रधानमन्त्री शाहले भने, “यो पूर्वामानुमानभन्दा बाहिरको कुरा हो । सूचना दिन खटिनुभएका सुरक्षाकर्मी नै बेपत्ता हुनुभएको छ । आधाघण्टा अघि नै सूचना दिइएको थियो ।”
शव व्यवस्थापनमा सरकारले गरेको कामका बारेमा पनि प्रश्न उठेको प्रधानमन्त्रीको स्वीकारोक्ति थियो ।
“धेरैले लेदोमा ज्यान गुमाउनुभयो । शवलाई फरक–फरक ठाउँमा पुर्यायो । जमिनमुनी व्यवस्थापन गरेका हौँ । डीएनए मिलेपछि परिवारको जिम्मा लगाउनेछौँ । यसमा भ्रममा नपर्नुहोला ।”
उनले विदेशबाट पनि तत्काल सहयोग मागिएको बताए ।
“विदेशी सहयोग नलिने भन्ने हुँदैन । हामीले समन्वय गरेकै थियौँ । मित्रराष्ट्र चीन र भारतबाट प्राविधिक पठाउनुभएको थियो,” उनले भने, “टनेलमा आएको विपत्ती विशेष किसिमको छ । टनेलमा आएको पहिरो पन्छाएर भित्र छिर्न सकिने अवस्थाको होइन । पहिरोले थुनिएको टनेल होइन । टनेल नै हिलो र बाढीले थुनिएका छन् । यस सम्बन्धी काम गर्ने ठूलो एक्पर्टिज हामीसँग थिएन । हिलो थोरै सुक्नासाथ गर्न सकिन्छ । एउटा टनेलमा एकैपल्ट २० वटा डोजर किन लगाइएन भनियो ? तर एक, दुई भन्दा बढी लगाउन सकिने अवस्था थिएन । ”
प्रधानमन्त्रीले ‘सरकार हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ’ भनेका छन् ।
