पाँच दलीय सत्ता गठबन्धनको बैठक मंगलबार बिहान साढे ११ बजे तय भएकोमा दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्रीको अन्य कार्यक्रम परेकाले बैठक दिउँसो २ बजे सरेको जानकारी दिनुभयो ।
गठबन्धनको सोमबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा चुनावी तयारी, तालमेललगायतका विषयमा भएको सहमतिलाई अन्तिम रुप दिइने बताइएको थियो ।
निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतविरुद्ध दिएको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ ।
पदमुक्त गर्ने प्रयोजनले आफूविरुद्ध जाँचबुझ समिति बनाएको भन्दै अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए । अधिकारीको उक्त रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुन लागेको हो ।
गत चैत २४ मा मन्त्रिपरिषद्ले गभर्नरविरुद्ध सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भणडारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै उनी स्वतस् निलम्बनमा परेका छन् । आफ्नो निलम्बनविरुद्ध सर्वोच्च पुगेका अधिकारीले अन्तरिम आदेश मार्फत् जाँचबुझ समितिलाई कामकाज गर्न रोक लगाउन र आफूलाई नियमित काममा फर्काउन माग गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहपूर्ण तरिकाले आफूलाई हटाउन जाँचबुझ समिति गठन गरेको, समितिको नेतृत्व आफ्नै नातेदारलाई दिएको र समिति सदस्यहरूमा पनि अर्थमन्त्री शर्मा आवद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई राखेको भन्दै जाँचबुझ समितिकै वैधानिकतामा चुनौति दिएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई कीभ भ्रमणको क्रममा १२० वटा बख्तरबन्द गाडी र नयाँ एन्टी(शिप मिसाइल प्रणाली प्रदान गर्ने वाचा गरेका छन्।
यस भ्रमणका क्रममा बोरिस जोनसनले युक्रेनलाई विश्व बैंकबाट ५० करोड डलर दिने ग्यारेन्टी बेलायतले वाचा गरेका छन् । तर, यसका लागि बेलायतको संसद्को अनुमोदन चाहिन्छ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी गरेको छ ।
लाइसेन्सका लागी नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले हाल नयाँ आवेदन बन्द गरेको छ ।
विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ ।
नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो । यी काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार बाँकी रहेका डेढ लाखप्रति लाइसेन्स छाप्ने काम पनि भइरहेको छ । जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको छ ।
कोरोना महामारीका कारण २०७६ चैतपछि २०७७ पुससम्म आवेदन बन्द थियो । करिब एक वर्षपछि खुला गर्दा आवेदन दिनेको चाप एक्कासि बढेको थियो । कोरोनाका कारण २०७८ वैशाखदेखि बन्द भएको आवेदन कात्तिकमा खुला गरिएको थियो ।
काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ।
बागमती प्रदेशको प्रदेश सरकारले आगामी बैशाख १ गतेदेखि उपत्यकासहित बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।
जारी एक सुचनामा भनिएको छ ,‘ २०७९ /१/ १ देखि लागू हुने गरी बागमती प्रदेश भित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर देहाय अनुसार हुने गरी यस मन्त्रालयको २४ (माननीय मन्त्रीस्तर) को निर्णयानुसार समायोजन गरिएको छ।’
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा किलोमिटरको आधारमा भाडा बढाएको हो। उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडादर कायम गरेको छ।
यसैगरी उपत्यका बाहिरका स्थानमा चल्ने सवारी साधनमा भने २०७८ कार्तिक १ देखि यात्रुबाहक सवारीसाधनमा लागु भएको भाडामा १० प्रतिशत वृद्धि गरेको छ।
प्रदेशमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सीले सुरुमा ५० र प्रति २०० मिटरको भाडादर १० रुपैयाँ, विद्युतीय ट्याक्सी सेवाको हकमा प्रति २०० मिटरको भाडादर ९ रुपैयाँ कायम गरिएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागु गर्ने भएको छ ।
निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलको हस्ताक्षर गराइसकेको आयोगले, मतदानको दिनसम्म आचारसंहिता कार्यान्वयन गर्न लागेको हो ।
उक्त आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई लागू हुने आयोगले जनाएको छ ।
आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । कुनै पनि योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काम गर्न पाइँदैन ।
यसै गरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ ।
‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो ।
प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायर मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते भएका थिए। घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ ।
चार दिनदेखि गरिएको परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिए पछि काभ्रेपलाञ्चोक जिल्ला कोरोनामुक्त भएको जनाइएको छ ।
बनेपा नगरपालिकामा रहेका एक कोरोना सङ्क्रमित पुरुष चार दिनअघि निको भएपछि जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो ।
जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो ।
चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा १८ वटा स्थानीय तह छन् जसमध्ये काठमाडौँ महानगर, ललितपुर महानगर र भक्तपुर नगरमा भने जिल्लाका मुख्य निर्वाचन अधिकृत नै निर्वाचन अधिकृतको भूमिकामा रहनेछन् ।
बाँकी रहेका १५ स्थानीय तहमा अधिकृत महिला रहने गरी तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश मात्रै नियुक्त हुँदै आएका छन् । निर्वाचन अधिकृतका रूपमा भने न्याय र प्रशासन सेवाका उपसचिव नियुक्त हुँदै आएका छन् ।
आयोगले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट यसअघि नै निर्वाचन अधिकृतका रूपमा नियुक्त हुने कर्मचारीको सूची प्राप्त गरिसकेको छ ।उक्त सूचीबाट नै काठमाडौँ उपत्यकाका विभिन्न कार्यालयमा सेवामा रहेका उपसचिव श्रेणीका अधिकृत महिला नियुक्त गरिने आयोगले जनाएको छ ।
काठमाडौँ उपत्यकामा करिब १० लाखभन्दा बढी मतदाता छन् । आयोगले २०७७ साल पुस ५ गते मतदाता नामावली अद्यावधिक गर्दा काठमाडौँ जिल्लामा छ लाख, ललितपुरमा दुई लाख ३६ हजार र भक्तपुरमा एक लाख ८४ हजार मतदाता कायम थिए ।
निर्वाचन कार्यक्रम बमोजिम चैत १३ गते नै आयोगले निर्वाचन अधिकृतको नामावली प्रकाशन गर्नेछन् । चैत्त २९ गते निर्वाचन अधिकृत नियुक्त हुनेछन् ।