Author: Nabin Bhattarai

  • डा.विक्रम तिमिल्सिना सञ्चारमन्त्री नियुक्त

    डा.विक्रम तिमिल्सिना सञ्चारमन्त्री नियुक्त

    काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नवगठित मन्त्रिमण्डलमा डा.विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित डा. तिमिल्सिनाले अनुभवी र प्रभावशाली नेता डा. प्रकाशशरण महतलाई पराजित गर्दै संसदीय राजनीतिमा आफ्नो सशक्त उपस्थिति जनाएका हुन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री बनेका डा. तिमिल्सिनासँग सञ्चार क्षेत्रको झन्डै डेढ दशक लामो व्यावहारिक अनुभव रहेको छ। अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र भू–राजनीतिमा विद्यावारिधि गरेका उनीसँग रेडियो सगरमाथा र विदेशका विभिन्न सञ्चार माध्यमहरूमा सम्पादकीय नेतृत्व सम्हालेको अनुभव छ।


    ​राजनीतिमा प्रवेश गर्नुपूर्व त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउँदै आएका डा. तिमिल्सिना कूटनीति र सूचना प्रविधि दुवै क्षेत्रका विज्ञ मानिन्छन्। उनको यो विज्ञताले नेपालको सञ्चार र प्रविधि क्षेत्रमा नीतिगत सुधार र आधुनिकीकरणका लागि नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।

  • नर्सदेखि स्वास्थ्य मन्त्रीसम्मस् को हुन् निशा मेहता ?

    नर्सदेखि स्वास्थ्य मन्त्रीसम्मस् को हुन् निशा मेहता ?

    काठमाडौं । स्वास्थ्य सेवाको अग्रपंक्तिमा रहेर बिरामीको सेवामा अहोरात्र खटिने नर्स अब देशको स्वास्थ्य नीति निर्माण गर्ने मुख्य तहमा पुगेकी छिन्। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित मन्त्रिमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेकी छिन्।

    ​सुनसरीको इनरुवामा जन्मिएकी निशाले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन्। उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्स र विराटनगरको विराट मेडिकल कलेजमा लेक्चररका रूपमा लामो समय काम गरेकी थिइन्।

    ​रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहेकी निशा हाल पार्टीको केन्द्रीय सदस्य हुन्। २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि सांसद बन्न नसकेकी उनी, यसपटक भने जनताको विश्वास र पार्टीको सक्रियताका कारण प्रतिनिधि सभा सदस्य हुँदै सिधै मन्त्रालयको नेतृत्वमा पुग्न सफल भइन्।

    ​पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री मेहताले भनिन्— “मैले आर्थिक अभावका कारण उपचार नपाएर नागरिकले ज्यान गुमाउनु परेको पीडादायी दृश्य नजिकबाट देखेकी छु। अब स्वास्थ्य ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै हरेक नागरिकका लागि स्वास्थ्य सेवा सर्वसुलभ बनाउनु मेरो मुख्य प्राथमिकता हुनेछ ।”

    ​उनका श्रीमान् डा। सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायव उपरीक्षक हुन्। नर्सिङ पृष्ठभूमिकै व्यक्तिले स्वास्थ्य मन्त्रालयको बागडोर सम्हालेपछि स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन हुने अपेक्षा गरिएको छ।

  • जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङ बने गृहमन्त्री

    जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङ बने गृहमन्त्री

    काठमाडौँ । गोरखा क्षेत्र नं १ बाट निर्वाचित सांसद सुधन गुरुङ नवनियुक्त गृहमन्त्री बनेका छन् । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमाा गठित नयाँ मन्त्रिपरिषधमा उनलाई गृह प्रशासनको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो ।

    ३८ बर्षीय गुरुङ विगतमा ‘हामी नेपाल’ अभियनतामार्फत सामाजिक सेवामा सक्रिय थिए । विशेषगरी भदौ २३ को ‘जेनजी आन्दोलन’ मा पानी बाँड्ने र उद्धारमा खटिएका कारण उनी चर्चामा आएका थिए ।

  • अमरेशकुमार सिंहद्धारा मन्त्री पद अस्वीकार

    अमरेशकुमार सिंहद्धारा मन्त्री पद अस्वीकार

    काठमाडौँ । सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहले नयाँ सरकारमा मन्त्री बन्न अस्वीकार गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी प्रस्ताव गरिएको थियो ।

    सिंहका स्वकीय सचिव रञ्जित झाका अनुसार, उनले मन्त्री बन्नुभन्दा सांसदकै भुमिकामा रहेर देशको सेवा गर्ने इच्छा व्यक्त गरेका छन् । सिंहले पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका थिए ।

    यसैबीच, प्रधानमन्त्री बालेन शाहाले १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । अन्य मन्त्रालयको टुङगो लागे पनि अमरेशकुमार सिंहले अस्वीकार गरेपछि उद्योग मन्त्रालयको भने हाललाई प्रधानमन्त्री शाहले नै आफुसँग राखेका छन् ।

  • बनेपामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ

    बनेपामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ

    बनेपा । अरनिको राजमार्ग अन्तरर्गत काभ्रेको बनेपामा लागुऔषध सेवन गरेर सवारी चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार बनेपा–८ जनागलमा गरिएको विशेष चेकिङका क्रममा उनीहरु पक्राउ परेका हुन् ।


    जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाका संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकको सहयोगमा ‘ड्रग्स किट्स’ मार्फत पिसाब परीक्षण गर्दा उनीहरुले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो ।


    पक्राउ पर्नेहरु समिर तामाङ, रोहित घतानी विश्रवकर्मा, समिर महत, महेश चौधरी र सुगम भुजेल रहेका छन् । पक्राउ पर्नेमा ३ जना सार्वजनिक बसका चालक र १ जना पानी ट्याङकरका चालक रहेका छन् । प्रहरीले जम्मा ३९ वटा सवारी साधनको जाँच गरेको थियो ।


    प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ परेका सबै चालकलाई आवश्यकता कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यलय बनेपा राखिएको छ । सार्वजनिक सडकमा यात्रुको ज्यान जोखिममा पार्ने यस्ता चालकहरुमाथि प्रहरीले निगरानी बढाएको छ ।

  • बालेन शाह मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त

    बालेन शाह मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त

    काठमाडौं । नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याउँदै बालेन शाह नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै प्रधानमन्त्री पदको जिम्मेवारी सुम्पिएका हुन्।

    ​राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै विशेष समारोहका बीच शाहले शपथ लिने कार्यक्रम तय भएको छ। प्राप्त जानकारी अनुसार मध्याह्न १२:३४ बजे उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।

    ​राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो मात्रै शाहलाई आफ्नो संसदीय दलको नेतामा सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो। सोही निर्णयका आधारमा उनलाई सरकारको नेतृत्व गर्ने बाटो खुलेको हो।

  • इनिशा विक प्रकरण: बलात्कार र हत्याको अभियोगमा चार किशोरविरुद्ध मुद्दा चलाउन सिफारिस

    इनिशा विक प्रकरण: बलात्कार र हत्याको अभियोगमा चार किशोरविरुद्ध मुद्दा चलाउन सिफारिस

    सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या घटनामा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रहरीले मुख्य अभियुक्तका रूपमा एक किशोरलाई ‘जबरजस्ती करणी’ र ‘कर्तव्य ज्यान’ मुद्दामा जन्मकैदको मागदाबी गरेको छ।


    ​प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीका अनुसार घटनामा संलग्न अन्य तीन जना किशोरलाई भने ‘ज्यान सम्बन्धी कसुर’ मा मुद्दा चलाउन सिफारिस गरिएको छ। उनीहरूले घाइते अवस्थाकी इनिशालाई समयमै अस्पताल पुर्‍याउन भूमिका नखेलेको प्रहरीको निष्कर्ष छ। पक्राउ परेका चारै जना १८ वर्षभन्दा कम उमेरका भएकाले उनीहरूको परिचय गोप्य राखिएको छ।


    ​गत फागुन २३ गते वीरेन्द्रनगर-१ स्थित सामुदायिक वनमा इनिशा मृत फेला परेकी थिइन्। पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको देखाएको छ। यद्यपि, शरीरमा कुनै विषालु पदार्थ प्रयोग भए-नभएको खुल्ने ‘टक्सिकोलोजी’ र डीएनए रिपोर्ट आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ। ती नमुनाहरू परीक्षणका लागि विदेश पठाइएको छ।


    ​प्रहरीले प्रतिवेदन बुझाए पनि पीडित परिवारले अनुसन्धानमा चित्त बुझाएका छैनन्। जसका कारण १९ दिनदेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालमै रहेको छ। सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनको अध्ययनपछि मात्र अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाउने बताएको छ।

  • बालेन शाहले शुक्रबार १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने

    बालेन शाहले शुक्रबार १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आगामी चैत १३ गते शुक्रबार मुलुकको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। गत फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिटसहित ऐतिहासिक जित हासिल गरेपछि शाहले एकल सरकारको नेतृत्व गर्न लागेका हुन्।


    ​शपथ ग्रहण कार्यक्रम शुक्रबार मध्याह्न १२:३४ बजेका लागि तय गरिएको छ। समारोहलाई विशेष बनाउन १०८ जना बटुकबाट स्वस्ति वाचन, १६ जना भिक्षुबाट अष्ठमंगल पाठ र ७ वटा शंख बजाएर शंखनाद गरिने कार्यक्रम रहेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।


    ​प्रधानमन्त्रीको शपथ लिएलगत्तै शाह दिउँसो २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्। नयाँ प्रधानमन्त्रीको आगमनसँगै मुलुकमा नयाँ राजनीतिक उत्साह देखिएको छ।

  • जेनजी आन्दोलन दमन प्रकरण: नेपाल प्रहरी र सशस्त्रका ८ उच्च अधिकारीलाई कारबाही सिफारिस

    जेनजी आन्दोलन दमन प्रकरण: नेपाल प्रहरी र सशस्त्रका ८ उच्च अधिकारीलाई कारबाही सिफारिस

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ जना उच्च अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ। सरकारलाई बुझाइएको तर गोप्य राखिएको प्रतिवेदनमा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ३ अधिकारीमाथि कानुनी कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।

    ​आयोगको प्रतिवेदन अनुसार नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, नायव महानिरीक्षक द्वय ओमबहादुर राना र विश्व अधिकारी, वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा र उपरीक्षक ऋषिराम कँडेल कारबाहीको सूचीमा परेका छन्।

    ​त्यस्तै, सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ र उपरीक्षक जीवन केसीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। आन्दोलनका क्रममा आफ्ना जिम्मेवारी पूरा नगरेको र दमनमा संलग्न रहेको भन्दै उनीहरूलाई कानुन बमोजिम कारबाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। यो प्रतिवेदन सार्वजनिक भएसँगै सुरक्षा निकायभित्र ठुलो तरंग पैदा भएको छ।

  • आगामी बजेटको सिलिङ १८ खर्ब ९० अर्बस् चैत १५ भित्र विवरण प्रविष्ट गर्न मन्त्रालयहरूलाई निर्देशन

    आगामी बजेटको सिलिङ १८ खर्ब ९० अर्बस् चैत १५ भित्र विवरण प्रविष्ट गर्न मन्त्रालयहरूलाई निर्देशन

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) निर्धारण गरेको छ। राष्ट्रिय स्रोत अनुमान समितिले दिएको उक्त सिलिङका आधारमा अर्थ मन्त्रालयले बजेट निर्माणको प्रक्रियालाई तीव्रता दिएको हो।

    ​नयाँ सरकार गठनको प्रक्रिया जारी रहे पनि अर्थ मन्त्रालयले प्रशासनिक र प्रक्रियागत कामहरू अघि बढाइरहेको छ। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, सबै मन्त्रालयहरूले आगामी चैत १५ गतेभित्र आफ्नो कार्यक्रम र बजेटको विवरण ‘एलएमबीआइएस’ प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ। नयाँ सरकार आएपछि ती कार्यक्रमहरूमा आवश्यकता अनुसार फेरबदल हुन सक्ने मन्त्रालयले जनाएको छ।

    ​बजेटका मुख्य विशेषता र सुधारः
    ​प्राथमिकताः आगामी बजेटमा बुढीगण्डकी जलविद्युत् आयोजना र स्वास्थ्य बीमा कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्दै बजेट ‘इयरमार्क’ गरिएको छ।

    ​राजस्व छुटमा कडाइः अबदेखि वैदेशिक सहायताका आयोजनामा दिइने राजस्व छुटको सट्टा बजेटबाटै भुक्तानी गर्ने नयाँ प्रणाली लागू गरिनेछ।

    ​वित्तीय अनुशासनः हचुवाका भरमा बहुवर्षीय आयोजनामा सहमति दिने परिपाटी अन्त्य गर्दै तीन वर्षभित्र सम्पन्न हुने आयोजनालाई मात्र प्राथमिकता दिइनेछ।

    ​निर्वाचनबाट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हाल्ने भएपछि नयाँ बजेटमा केही महत्त्वाकाङ्क्षी कार्यक्रमहरू थपिन सक्ने र बजेटको आकार समेत बढ्न सक्ने अनुमान गरिएको छ।