
शिक्षक सेवा आयोगले चार बर्ष पछि सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्तिको विज्ञापन खुलाउन लागेको छ ।
आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशन गर्दै छ । अर्को सातासम्म क्रमशः निम्न माध्यमिक र प्राथमिक तहको पनि विज्ञापन खुलाइने बताइएको छ ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताएका छन् । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो ।
आयोगले वार्षिक कार्ययोजना बनाएर मंसिरभित्र विज्ञापन आह्वान गर्ने कार्यतालिका बनाएको थियो । आगामी असोज र कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने लक्ष्य लिइएको छ ।
दरबन्दी मिलान सुझाव कार्यदलले दुई वर्षअघि नै सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
यसअघि २०७४ र ७५ मा विज्ञापन खुलेको थियो । त्यतिबेला करिब १२ हजार शिक्षक आयोगको परीक्षा पास गरेर स्थायी भएका थिए ।

Leave a Reply