काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ जना उच्च अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ। सरकारलाई बुझाइएको तर गोप्य राखिएको प्रतिवेदनमा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ३ अधिकारीमाथि कानुनी कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।
आयोगको प्रतिवेदन अनुसार नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, नायव महानिरीक्षक द्वय ओमबहादुर राना र विश्व अधिकारी, वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा र उपरीक्षक ऋषिराम कँडेल कारबाहीको सूचीमा परेका छन्।
त्यस्तै, सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ र उपरीक्षक जीवन केसीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। आन्दोलनका क्रममा आफ्ना जिम्मेवारी पूरा नगरेको र दमनमा संलग्न रहेको भन्दै उनीहरूलाई कानुन बमोजिम कारबाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। यो प्रतिवेदन सार्वजनिक भएसँगै सुरक्षा निकायभित्र ठुलो तरंग पैदा भएको छ।

Leave a Reply