काठमाडौं । स्वास्थ्य सेवाको अग्रपंक्तिमा रहेर बिरामीको सेवामा अहोरात्र खटिने नर्स अब देशको स्वास्थ्य नीति निर्माण गर्ने मुख्य तहमा पुगेकी छिन्। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित मन्त्रिमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेकी छिन्।
सुनसरीको इनरुवामा जन्मिएकी निशाले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन्। उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल नर्स र विराटनगरको विराट मेडिकल कलेजमा लेक्चररका रूपमा लामो समय काम गरेकी थिइन्।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहेकी निशा हाल पार्टीको केन्द्रीय सदस्य हुन्। २०७९ को निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि सांसद बन्न नसकेकी उनी, यसपटक भने जनताको विश्वास र पार्टीको सक्रियताका कारण प्रतिनिधि सभा सदस्य हुँदै सिधै मन्त्रालयको नेतृत्वमा पुग्न सफल भइन्।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री मेहताले भनिन्— “मैले आर्थिक अभावका कारण उपचार नपाएर नागरिकले ज्यान गुमाउनु परेको पीडादायी दृश्य नजिकबाट देखेकी छु। अब स्वास्थ्य ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै हरेक नागरिकका लागि स्वास्थ्य सेवा सर्वसुलभ बनाउनु मेरो मुख्य प्राथमिकता हुनेछ ।”
उनका श्रीमान् डा। सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायव उपरीक्षक हुन्। नर्सिङ पृष्ठभूमिकै व्यक्तिले स्वास्थ्य मन्त्रालयको बागडोर सम्हालेपछि स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन हुने अपेक्षा गरिएको छ।

Leave a Reply