
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा मुकुल ढकाल नै कायम रहेको जनाएको छ। रास्वपालाई पठाएको पत्रमा आयोगले ढकाललाई महामन्त्रीको रूपमा मान्यता दिएको हो।
आयोगले रास्वपाको केन्द्रीय समितिका पदाधिकारी र सदस्यको हेरफेर २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसपछि हालसम्म कुनै परिवर्तन नभएको अभिलेखमा देखिएको उल्लेख गरेको छ। रास्वपाले गत वर्ष ढकाललाई महामन्त्री र प्रवक्ताबाट हटाएको दाबी गरेको थियो।
रास्वपाबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगमा पार्टीको अभिलेख अद्यावधिक भएको वा नभएको बारे सूचना माग गरेका थिए। उनको मिति २०८२/०३/०४ को निवेदनको जवाफमा आयोगले भनेको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसपछि हालसम्म कुनै अद्यावधिक नभएको अभिलेखबाट देखिन्छ।”
आयोगको यो पत्रअनुसार मुकुल ढकाल रास्वपाको महामन्त्रीको रूपमा कायमै रहेको पुष्टि भएको छ।
