ग्वार्को फ्लाइओभर उद्घाटन: देशमा बहुआयामिक विकास हुँदै 

ललितपुर, ६ असार: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा रहेको ग्वार्को फ्लाइओभरको उद्घाटन गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा यो फ्लाइओभर सञ्चालनमा ल्याइएको हो। इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा आशिष समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजारमा निर्माण गरेको यो नेपालकै पहिलो फ्लाइओभर हो। कुल ५०० मिटर अप्रोच सडक र ३५ मिटर स्पानको ४ लेनको पुल रहेको यो फ्लाइओभर २०७८ सालदेखि निर्माण सुरु भएको थियो।  

प्रधानमन्त्री ओलीले नेपालमा पहिलो फ्लाइओभर सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए। ग्वार्को चोकको ट्राफिक जाम समस्याको समाधान हुने उनको भनाइ छ। सरकारले बहुआयामिक र चौतर्फी विकासलाई अगाडि बढाएको र यसमा सबैको साथ रहने उनले विश्वास व्यक्त गरे।  

“हामी विकासको बाटोमा निरन्तर अगाडि बढिरहेका छौँ। दैलेखमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास फेला परेको पुष्टि भएको छ। तीनवटा कुवामध्ये एउटैबाट यति ग्यास उत्पादन हुन्छ। त्यसको उत्खननको सुरुवात मैले गरेको थिएँ। धौवादी फलाम कारखाना सञ्चालन भएपछि नेपालमै फलाम उत्पादन हुनेछ, जसले अर्थतन्त्रलाई बलियो बनाउनेछ,” ओलीले भने। “यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ। आर्थिक लाभ र स्वदेशमै रोजगारी सिर्जना हुनेछ। अन्य खनिज उत्खनन, कृषिको आधुनिकीकरण, नयाँ उद्योग स्थापना र सामाजिक–प्रशासनिक सुधारमार्फत देशलाई अगाडि बढाउँछौँ। निराशा र असन्तुष्टि होइन, आशा र सम्भावनालाई प्राथमिकता दिनुपर्छ।”  

सुनकोशी मरिन डाइभर्सन र हुलाकी राजमार्गले तराईको कायापलट गर्ने र मेची–महाकालीको विकासमा योगदान पुग्ने उनले बताए। मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत अन्य आयोजनाले पनि गति लिने उनको भनाइ छ। 

फ्लाइओभरको निर्माणले ग्वार्को चोकमा सवारी जामको समस्या समाधान हुने अपेक्षा गरिएको छ। निर्माणमा ढिलाइ र लागत वृद्धि भए पनि यो परियोजनाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिनेछ। 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts