बनेपामा लागुपदार्थ सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ

बनेपा । अरनिको राजमार्ग अन्तरर्गत काभ्रेको बनेपामा लागुऔषध सेवन गरेर सवारी चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहिबार बनेपा–८ जनागलमा गरिएको विशेष चेकिङका क्रममा उनीहरु पक्राउ परेका हुन् ।


जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाका संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकको सहयोगमा ‘ड्रग्स किट्स’ मार्फत पिसाब परीक्षण गर्दा उनीहरुले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो ।


पक्राउ पर्नेहरु समिर तामाङ, रोहित घतानी विश्रवकर्मा, समिर महत, महेश चौधरी र सुगम भुजेल रहेका छन् । पक्राउ पर्नेमा ३ जना सार्वजनिक बसका चालक र १ जना पानी ट्याङकरका चालक रहेका छन् । प्रहरीले जम्मा ३९ वटा सवारी साधनको जाँच गरेको थियो ।


प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ परेका सबै चालकलाई आवश्यकता कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यलय बनेपा राखिएको छ । सार्वजनिक सडकमा यात्रुको ज्यान जोखिममा पार्ने यस्ता चालकहरुमाथि प्रहरीले निगरानी बढाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts