काठमाडौं । खेतीपाती थन्क्याउने बेला बाँदरले बाली सखाप पारेपछि खोटाङका किसानहरू आन्दोलित भएका छन्। बाँदर नियन्त्रणका लागि सरकारले ठोस कदम नचालेको भन्दै दिक्तेल बजारमा आज किसानहरूले अनौठो शैलीमा प्रदर्शन गरेका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाबाट भेला भएका किसानहरूले हातमा हलो, जुवा, दाँते र कोदालो बोकेर बजार परिक्रमा गरेका थिए। वर्षभरी दु:ख गरेर उब्जाएको अन्नबाली बाँदरले खेतबारीमै नष्ट गरिदिँदा परिवार पाल्नै धौ-धौ परेको उनीहरूको गुनासो छ।
“खेती लगायो, गोडमेल गर्यो तर भित्र्याउने बेला बाँदरले केही बाँकी राख्दैन,” प्रदर्शनमा सहभागी एक किसानले भने, “हाम्रो समस्या सुन्ने कोही भएन, त्यसैले कृषि औजारसहित सडकमा आउन बाध्य भयौं।”
किसानहरूले बाँदर नियन्त्रणलाई प्राथमिकतामा राख्न र पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय तथा संघीय सरकारसँग माग गरेका छन्। बाँदर आतंकका कारण धेरैजसो गाउँमा खेतीयोग्य जमिन बाँझो हुँदै गएको र मानिसहरू बसाइँ सर्न बाध्य भएको स्थितिप्रति उनीहरूले ध्यानाकर्षण गराएका छन्।

Leave a Reply