मेस्सीको ह्याट्रिक अर्जेन्टिनाको सानदार जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार सम्पन्न खेलहरूमा अर्जेन्टिना, नर्वे र फ्रान्सले विजयी सुरुआत गरेका छन् । कान्सास सिटी स्टेडियममा भएको समूह चरणको आफ्नो पहिलो खेलमा लियोनेल मेस्सीले सानदार ह्याट्रिक गरेपछि साविक विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध रोमाञ्चक जित निकालेको हो ।

खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका कप्तान मेस्सीले दोस्रो हाफमा थप आक्रामक बन्दै खेलको ६० औं र ७६ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीको सानदार जित सुनिश्चित गरे ।

यसैगरी समूह ‘आई’ को अर्को खेलमा नर्वेले इराकलाई ४–१ गोल अन्तरले पराजित गर्दै विश्वकपमा सुखद सुरुआत गरेको छ । बोस्टन स्टेडियममा भएको खेलमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो ‘डेब्यु’ विश्वकपमै दुई गोल गर्दै सनसनिपूर्ण प्रदर्शन गरे । खेलको २९ औं मिनेटमा हालान्डको गोलमार्फत नर्वेले अग्रता लिए पनि ३९ औं मिनेटमा इराकका कप्तान आमेन हुसेनले अमिर अल अम्मारीको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

तर, पहिलो हाफ सकिनुअघि ४३ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः २–१ को अग्रता दिलाए । दोस्रो हाफमा खेलमाथि पूर्ण नियन्त्रण राखेको नर्वेका लागि ७६ औं मिनेटमा डिफेन्डर लियो स्किरी ओस्टिगार्डले मार्टिन ओडेगार्डको पासमा तेस्रो गोल गरे भने इन्जुरी समयको छैटौँ मिनेटमा इराकका हुसेनबाट आत्मघाती गोल हुन पुग्दा नर्वे ४–१ ले विजयी भयो । यस जितसँगै नर्वेले ४ दशकपछि विश्वकपमा सानदार पुनरागमन गरेको छ ।

आजै सम्पन्न समूह ‘आई’ कै अर्को प्रतिश्पर्धात्मक खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने खेल निकै रोमाञ्चक बन्यो ।

खेलको ६६ औं मिनेटमा स्टार फरवार्ड किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाए भने ८२ औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । खेलको अतिरिक्त समयमा सेनेगलका इब्राहिम एम्बायेले सान्त्वना गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि त्यसको लगत्तै अर्को मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–१ को जित पक्का गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *