सेयर बजारमा गिरावटः नेप्से २८ सय अंकमुनि, कारोबार रकममा पनि खुम्चियो

काठमाडौँ । साताको पहिलो दिन सोमबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बजार २६.०७ अंकले घटेर २ हजार ७ सय ९८ को विन्दुम सीमित भएको छ ।

बजारमा गिरावट आएसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपौयाँ बराबरको कारोबार भएकोमा सोमबार घटेर ११ अर्ब ९७ करोड रुपैयाँमा झरेको छ ।

सोमबार कुल २११ कम्पनीको मूल्य घट्दा ४८ कम्पनीको मूल्यमा मात्र वृद्धि भएको छ । चार कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । समूहगत सूचकहरुमध्ये उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका सूचकहरु घटेको छ । विशेषगरी बैंकिङ, लगानी र अन्य समूहको सूचकमा बढी गिरावट देखिएको छ ।


बजारमा गिरावट आए पनि ५ वटा कम्पनीको सेयर मूल्यमा भने १० प्रतिशतको ‘पोजिटिभ सर्किट’ लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला जलविद्युत, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले पनि राम्रो कमाएका छन् ।

यता, नारायणी डेभलपमेन्ट बैंक र ग्रिनलाइफ हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । दिनभरको कारोबारमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर र अपर हेवाखोलाको सेयर सबैभन्दा बढी खरिद–बिक्री भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts