फिफा विश्वकप अन्तर्गतको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डो चम्किँदा पोर्चुगलले उज्वेकिस्तानमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । पोर्चुगलको जितमा दुई गोल गरेका रोनाल्डो नायक बनेका छन् । उनले खेलको छैटौँ मिनेटमा कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि १७ औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए भने ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुग्यो । दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको पोर्चुगलका लागि खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि टोली ५-० ले विजयी भयो ।
यो जितसँगै पोर्चुगल समूह ‘के’ को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा पोर्चुगल कङ्गोसँग बराबरीमा रोकिएको थियो । लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने अङ्क तालिकाको पुछारमा छ ।
पोर्चुगलले अब समूहको अन्तिम खेल कोलम्बियासंग जून २७ मा खेल्नेछ।
