अध्यक्ष र सीइओ विरुद्ध लगाइएका आरोप असत्य र निराधार

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न अनलाइन मिडियामा संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मामाथि लगाइएका आर्थिक अनियमितताका आरोपहरूलाई असत्य, निराधार र भ्रमपूर्ण भन्दै तिनको खण्डन गरेको छ।

संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यक्ष शर्माको नेतृत्वमा संस्थाले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको जनाइएको छ।

मातृभूमि लघुवित्तको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका शर्माले विभिन्न वित्तीय संस्थाको सफल मर्जरमार्फत् संस्थालाई राष्ट्रिय स्तरको प्रतिष्ठित वित्तीय संस्थामा परिणत गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार आयोजित एक अन्तरक्रियामा अध्यक्ष शर्माले आफु तथा सञ्चालक समिति सदस्यहरूको कर्जा प्रक्रियामा कुनै संलग्नता नरहने स्पष्ट पार्दै व्यवस्थापन टोलीको सामूहिक निर्णयमार्फत मात्र कर्जा प्रक्रिया सम्बन्धी निर्णय हुने जनाए। उनले एन.आई.सी. एशिया बैंकलगायत अन्य वित्तीय संस्थाहरूबाट कर्जा प्रवाहमा कमिशन लिएको आरोप पूर्णत: निराधार रहेको पनि उनले जिकिर गरे ।

प्रेस विज्ञप्तिमा अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माबीच कुनै पारिवारिक वा नाता सम्बन्ध नरहेको प्रस्ट्याइएको छ। यस्ता आरोपलाई नियोजित षड्यन्त्रको संज्ञा दिँदै संस्थाले यसप्रकारका आधारहीन प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।

त्यस्तै संस्थाले बुटवलमा आयोजित शाखा प्रबन्धक तालिम कार्यक्रममा पारदर्शिता अपनाइएको र सो तालिममा भएको कुल खर्च व्यवस्थापनको सामूहिक निर्णयअनुसार भुक्तानी गरिएको स्पष्ट पारेको छ। तालिममा बीमा कम्पनी मेटलाइफले रु ४ लाख १८ हजार भुक्तानी गरेको जनाइएको छ।

एक पूर्वकर्मचारीको शेयर जफत सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै संस्थाले यस विषयलाई लिएर अध्यक्ष र प्रमुख कार्यकारीमाथि लगाइएका व्यक्तिगत दोषारोपणप्रति खेद व्यक्त गरेको छ।

आगामी साधारण सभालाई लक्षित गरी संस्थाको छविमा आँच पुर्‍याउन नियोजित रूपमा भ्रम फैलाउने प्रयास गरिएको पनि विज्ञप्तिमा दाबी गरिएको छ।

“यस्ता कपोलकल्पित र आधारहीन समाचारहरूले २ लाख २५ हजारभन्दा बढी सदस्य, लगानीकर्ता र ९०० भन्दा बढी कर्मचारीको प्रतिष्ठामा आँच पुर्‍याउने” विज्ञप्तिमा उल्लेख छ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाले यस्ता आरोपहरूको छानबिन नेपाल राष्ट्र बैंकद्वारा गरिसकिएको र त्यहाँबाट पनि कुनै त्रुटि प्रमाणित नभएको बताएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts