पाँच करोडको ढुङ्गा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी

काठमाडौँ – पाँच करोड मूल्य पर्ने बहुमूल्य ढुङ्गा दिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले दुई युवती र एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-१७ छोटे पाटन बस्ने ३१ बर्सिया इन्दिरा विक, ३६ वर्षीय राजन विक र खोटाङ हलेसी नगरपालिका-१ बस्ने २७ बर्सिया जुनु भन्ने लक्ष्मी राई रहेका छन्।

उनीहरूलाई पोखरा महानगरपालिका-६ लेक साइडबाट बिहीबार अपराह्न पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए।

उनीहरूविरूद्ध पोखराकै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएपछि प्रहरीले खोजी थालेको थियो। उनीहरूलाई खोज्न गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोली खटिएको थियो।

प्रहरी निरीक्षक जिसीका अनुसार पक्राउ परेकाहरूले सुब्बालाई पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनेर १३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘सो ढुङ्गा के कसो हो, बहुमूल्य हो वा होइन अपत्यारिलो लागेपछि शङ्का लागेर पीडितले जाहेरी दिएका थिए,’ जिसीले भने, ‘पक्राउ व्यक्तिहरूको साथबाट केही ढुङ्गा बरामद भएका छन्, तर तिनीहरू के-कस्ता हुन् खुल्न बाँकी छ।’

लेक साइडमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूमध्ये इन्दिरा र राजनको कोठाबाट प्रहरीले सेतो रङ्गको पारदर्शी ढुङ्गा ६ थान, रातो रङ्गको ढुङ्गा १ थान, विभिन्न बैङ्कका ३१ लाख बराबरका ४ थान चेक र मोबाइल ३ थान बरामद गरेको छ।

तिनै जनालाई शुक्रवार जिल्ला अदालत कास्कीबाट ठग सम्बन्धी मुद्दामा सात दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts