‘वाडा अटो शो’को पूर्व सन्ध्यामा पोखरामा मोटर र्‍याली आयोजना

पोखरा । पोखरामा ‘कार मोटर र्‍याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को पूर्व सन्ध्यामा शनिबार पोखरामा मोटर र्‍याली आयोजना गरिएको हो ।

पोखरा रंगशालाबाट र्‍याली सुरु भएको थियो । गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले फ्ल्याग अफ गरी र्‍यालीको उद्घाटन गरे । र्‍यालीमा ५२ वटा गाडीमा १५० जना सहभागी भएको वाडाका वरिष्ठ उपाध्यक्ष एवं र्‍याली कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए ।

र्‍याली पृृथ्वीचोक, मुुस्ताङचोक, बिरौटा, ड्यामसाइड, राष्ट्रबैंकचोक, बसुुन्धारा पार्क, वाराहीचोक, हल्लनचोक, जिरो किमी, हरिचोक, हेम्जा, घट्टेखोला, नौंडाडा, कास्कीकोट, सराङकोट, विन्ध्यबासिनी, बागलुङ बसपार्क, नालामुुख, तेस्रापट्टी, महेन्द्रपुुल, नयाँबजार, पृथ्वीचोक, सभागृह, न्युुरोड, चिप्लेढुंगा, महेन्द्रपुुल, रानीपौवा, हस्पिटलचोक हुँदै र्‍याली अमरसिंहचोक मैदानमा पुगेर समापन भएको हो ।

र्‍यालीमा पुरुषतर्फ शोवितमान बुद्धाचार्य प्रथम, सुमन बिजुक्छे दोस्रो र सुनिल श्रेष्ठ तृतीय भएका छन् । महिलातर्फ तिसा जोशी प्रथम, रोमिका बुद्धाचार्य दोस्रो र शोभा केसी तृतीय भएकी छन् ।

नाडा र वाडासहित गण्डकी प्रदेश अटोमोबाइल संघ (नासा गण्डकी), नेपाली युवा उद्यमी मञ्च पोखरा, जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा मोटर र्‍याली आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विन्दुकुमार थापाले पोखरामा अटो शो आयोजना हुनु राम्रो पक्ष रहेको बताए । विशेष अतिथि नाडाका निबर्तमान अध्यक्ष ध्रुवबहादुर थापाले पोखरामा अटो शो आयोजना गर्दा अटो क्षेत्रलाई चलायमान बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला, वाडाका उपाध्यक्ष एवं अटो शो संयोजक निरन केसी लगायतले बोलेका थिए ।

चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुनेछ । अटो सोका लागि २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायत कम्पनीहरुको स्टल रहने संयोजक निरन केसीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts