सुमना श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने प्रस्ताव अघि सारेकी छन्। उनले प्रतिनिधिसभा सांसदको जिम्मेवारीमै केन्द्रित हुने इच्छा व्यक्त गरेकी छन्।

श्रेष्ठले पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई बुझाएको प्रस्तावमा ‘एक व्यक्ति, एक पद’ को मान्यता व्यवहारमा उतार्न चाहेको उल्लेख छ। उनले पार्टीको अभियानात्मक भूमिकाभन्दा संसदमा नीतिनिर्माणमा सीमित रहने लक्ष्य राखेको बताएकी छन्।

“राजकीय तथा व्यवस्थापकीय जिम्मेवारी एक किसिमको हो, पार्टीको अभियान चलाउने जिम्मेवारी अर्कै खालको हुन्छ। अब यी दुईबीचको भिन्नता स्वीकार गर्दै कार्य विभाजन गर्न सिक्नुपर्छ,” श्रेष्ठको प्रस्तावमा उल्लेख छ।

श्रेष्ठका अनुसार, सांसदले पार्टीको पनि जिम्मेवारी ओगट्दा राम्रो सन्देश जाँदैन। त्यसैले त्यो जिम्मेवारी अर्को सक्षम व्यक्तिलाई दिन ढोका खोलिनु आवश्यक भएको उनले उल्लेख गरेकी छन्। उनले यो निर्णय व्यक्तिगत नभई सैद्धान्तिक सोचबाट प्रेरित भएको स्पष्ट पारेकी छन्।

यद्यपि यसअघि उनी शिक्षामन्त्री रहँदा पनि सहमहामन्त्रीको पदमा बहाल नै थिइन्। त्यतिबेला पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए भने डिपी अर्याल श्रममन्त्रीका साथै उपसभापति थिए।

तर, श्रेष्ठले त्यो समयमै पनि ‘एक व्यक्ति, एक पद’ को बहस भइरहेको स्मरण गराउँदै अब कार्यान्वयनको चरणमा लैजानुपर्ने बताएकी छन्। “नत्र रास्वपा पनि अन्य परम्परागत पार्टीहरूजस्तै बन्नेछ,” उनको भनाइ छ।

श्रेष्ठको प्रस्तावमा उपसभामुख इन्दिरा राना र प्रमुख सचेतक सन्तोष परियारजस्ता प्रतिनिधिहरूको हकमा भने यो मान्यता लागू नगरे पनि हुने उल्लेख छ, किनकि उनीहरू विशेष समुदायबाट आएका सक्षम व्यक्तित्व हुन्। “बाँकीका लागि भने हामीले पार्टी दस्तावेजमै उल्लेख गरिसकेका मान्यता लागू हुनुपर्छ,” श्रेष्ठले लेखेकी छन्।

श्रेष्ठको प्रस्ताव पार्टीभित्र विभिन्न कोणबाट बहसको विषय बनेको छ। कतिपय नेताहरूले उनले पहिल्यैदेखि उठाउँदै आएको विषयलाई नै अगाडि बढाएको बताइरहेका छन्। तर केही केन्द्रीय सदस्यहरूले भने श्रेष्ठको निर्णयलाई ‘अराजनीतिक’ भन्दै आलोचना गरेका छन्।

“सुमना जीको नियत खराब नहोला, तर यो निर्णय समयसापेक्ष छैन। अहिले पार्टीले प्रतिकूलता भोगिरहेका बेला आशाको सन्देश दिनुपर्नेमा उल्टो बाटो समात्नु गलत हो,” एक नेताले टिप्पणी गरे।

१७ चैतमा सभापतिमा रवि लामिछाने पुनर्बहाली भएको दिन नै श्रेष्ठले राजीनामा दिने प्रस्ताव बुझाएकी थिइन्। लामिछानेले त्यसबेला केही समय ‘एक व्यक्ति, एक पद’ को मान्यता थाती राख्न सुझाव दिएका थिए। त्यसपछि श्रेष्ठ रोकिएकी थिइन्। तर हाल लामिछाने कारागारमा रहेका बेला श्रेष्ठको प्रस्ताव फेरि अघि आएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts