काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ। अब नागरिकहरूले स्वास्थ्य बीमाका लागि छुट्टै कार्ड बोक्नुपर्ने झन्झट अन्त्य हुने भएको छ।
बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग एक समझदारी–पत्रमा हस्ताक्षर गर्दै बीमा प्रणालीलाई राष्ट्रिय परिचयपत्र नम्बरमा आधारित बनाउने तयारी गरेको हो। सम्झौतापत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र बीमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।
सेवाग्राहीलाई के हुन्छ फाइदारु ?
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यस सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियालाई पूर्णतः अनलाइन प्रणालीमा लैजाने गृहकार्य भइरहेको छ।
अनलाइन सेवा: बोर्डले यही चैत २५ गतेभित्र अनलाइनमार्फत नै नयाँ दर्ता प्रक्रिया सुरु गर्ने लक्ष्य राखेको छ।
झन्झटमुक्त सेवा: भविष्यमा नागरिकले अस्पतालमा सेवा लिँदा कार्डको साटो राष्ट्रिय परिचयपत्र नम्बर वा बायोमेट्रिक प्रमाणीकरणमार्फत नै उपचार पाउनेछन्।
त्रुटीमा कमी: हाल म्यानुअल प्रणालीका कारण हुने दोहोरो दर्ता, विवरण नमिल्ने र कार्डको दुरुपयोग हुने जस्ता समस्याहरू डिजिटल प्रणालीमा जोडिएपछि स्वतः नियन्त्रण हुने विश्वास गरिएको छ।
हालसम्म करिब एक करोड नागरिक स्वास्थ्य बीमाको दायरामा आइसकेका छन्। राष्ट्रिय परिचयपत्रसँग आबद्ध भएसँगै यो कार्यक्रम थप पारदर्शी र छिटो–छरितो हुने अपेक्षा बोर्डले गरेको छ।

Leave a Reply