विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ। दिउँसो करिब २ बजे अचानक सुरु भएको आगोले १५ भन्दा बढी घरहरू क्षणभरमै खरानी बनाएको छ।
बस्तीका घरहरू फुसको छाना र टाटीले बनेका कारण आगो तीव्र गतिमा फैलिएको स्थानीयले बताएका छन्। विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको करिब ४५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन।
आगलागीबाट घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएपछि दैनिक ज्यालादारीमा निर्भर विपन्न मुसहर परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्। इलाका प्रहरी कार्यालय नेमुवा र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। पीडितहरूले तत्काल राहत र बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

Leave a Reply