काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकको पक्राउको विरोधमा आइतबार काठमाडौँको माइतीघर क्षेत्रमा तनाव उत्पन्न भएको छ। प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ।
माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि दोहोरो झडप सुरु भएको थियो। सो क्रममा प्रहरीको लाठी लागेर केही कार्यकर्ता घाइते भएका छन् भने एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ। घाइतेहरूको अहिले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। माइतीघर र बबरमहल क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। एमालेले आफ्ना शीर्ष नेताहरूको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

Leave a Reply