पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्नाः सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। हिरासतमा रहेका खड्कालाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज लगिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। प्रहरी प्रभाग पुल्चोकको हिरासतमा रहेका खड्कालाई गएराति अचानक बान्ता भएपछि सुरुमा नर्भिक अस्पताल लगिएको विभागका अधिकारीहरूले जनाएका छन्। तर, स्वास्थ्य अवस्था स्थिर नभएपछि उनलाई नर्भिकले शिक्षण अस्पताल रिफर गरेको हो।

काठमाडौँ जिल्ला अदालतले खड्कालाई अनुसन्धानका लागि हिरासतमा राख्न ७ दिनको अनुमति दिएको छ। उनीविरुद्ध भदौ २४ गते घरमा जलेका नोटहरू फेला परेको विषयलाई लिएर विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूक्ष्म अनुसन्धान गरिरहेका छन्।

विभागका अनुसार खड्काको बयान लिने कार्य सुरु भइसके पनि थप प्रमाणहरू जुटाउन र विस्तृत छानबिन गर्न बाँकी रहेकाले उनलाई हिरासतमा राख्न म्याद थप गरिएको हो। हाल उनलाई प्रहरीकै निगरानीमा अस्पतालमा राखेर उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts