नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबिच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।

काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमका बीच कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले सो सम्झौता पत्रमा हस्ताक्षर गरे। यस सम्झौतासँगै अब गाउँपालिकाका श्रमिकहरूले ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्न सक्ने बाटो खुलेको छ।नयाँ व्यवस्था अनुसार गाउँपालिकाले आफ्नो श्रमिक कल्याण कोष सञ्चालन कार्यविधि अनुसार सहभागी श्रमिकको खातामा मासिक ५०० रुपैयाँ थपिदिनेछ।

यी योजनामा सहभागी श्रमिक आफैँले मासिक ५०० रुपैयाँ योगदान गर्नुपर्नेछ भने गाउँपालिकाले ५०० रुपैयाँ थपेर प्रतिमहिना कुल १ हजार रुपैयाँ कोषमा जम्मा हुने व्यवस्था मिलाइनेछ।

यदि पेन्सन पाइरहेका सहभागी श्रमिकको मृत्यु भएमा वा उनी हराएर बेपत्ता भएको अवस्थामा निजको श्रीमान् वा श्रीमतीलाई प्रचलित व्यवस्था अनुसार सोही सरह आजीवन पेन्सन उपलब्ध गराइने व्यवस्था सम्झौतामा गरिएको छ। दुवैको मृत्यु भएको खण्डमा भने खातामा बाँकी रहेको बचत रकम उनीहरूको नजिकको हकवालाले पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *