प्रहरी महानिरीक्षकविरुद्ध सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि संसद्‌मा लगाएको गम्भीर आरोप र अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाइएको छ।

गत भदौ २६ गते बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र तल्लो दर्जाका प्रहरीको रासनभत्तामा समेत अनियमितता गरेको दाबी गर्दै तत्काल बर्खास्तीको माग गरेका थिए। साथै, उनीविरुद्ध अख्तियार र सार्वजनिक लेखा समितिमा उजुरी परेको दाबीसमेत उनले गरेका थिए।

तर, भदौ ३० गतेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद सुनारले प्रयोग गरेका ती विवादित शब्दावली तथा वाक्यांशहरू नियमानुसार संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुखको आदेशपछि प्रहरी प्रमुखसँग जोडिएर संसद्‌मा व्यक्त गरिएका आधारहीन तथा गम्भीर आरोपयुक्त शब्दहरू औपचारिक अभिलेखबाट हटाइसकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *