Author: Dwarika Pokhrel

  • मतदान प्रभावकारी बनाउन नमुना अभ्यास

    मतदान प्रभावकारी बनाउन नमुना अभ्यास


    सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कालीकोट र मुख्य निर्वाचन कार्यालयले संयुक्त रूपमा नमुना मतदान आयोजना गरेको हो ।

    निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने प्रक्रियाको अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुकासाथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित नमुना मतदान गरिएको हो ।

    प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो । मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने, गोप्य कक्षमा प्रवेश गर्दा ध्यान दिनुपर्ने विषय,मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया चरणबद्ध रूपमा अभ्यास गराइएको थियो ।

    नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन लाइनको व्यवस्था गरिएको थियो । मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतपत्र च्यातिने वा बिग्रिने अवस्था, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन तथा सुरक्षा समन्वयजस्ता विषयमा पनि अभ्यास गराइएको थियो ।

    साथै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी, भूमिकाविभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत टंकबहादुर थापाले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमुना मतदान अत्यन्त उपयोगी हुने बताए । उनले मतदातालाई सही तरिकाले मतदानगर्न आग्रह गर्दै बदर मत न्यूनीकरणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

  • बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ १ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकका अनुसार स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा कायम गरेको छ ।

    यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

  • राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

    काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

    प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको योगदानको स्मरण गर्दै आज देशभर श्रद्धाञ्जली अर्पण गरिँदै छ ।

    प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले हाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य, मान्यता र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको इतिहासकारहरूको भनाइ छ ।

    यस वर्षको मूल समारोह काठमाडौंस्थित सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च पदाधिकारीहरू सदस्य छन् भने गृह मन्त्रालयका सचिव सदस्य सचिवको भूमिकामा छन्।

    प्रजातन्त्र दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले प्रजातन्त्र स्थापनाका लागि योगदान पु¥याउने शहीदहरूको स्मरण गर्दै देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।

  • आज ग्याल्पो ल्होसार मनाईंदै, देशैभर सार्वजनिक बिदा

    आज ग्याल्पो ल्होसार मनाईंदै, देशैभर सार्वजनिक बिदा

    काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँने गर्दछन् ।

    पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।

    नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।

    नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

  • स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो

    स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो


    काठमाडौं । जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको छ । मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो ।

    स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्यो । चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले ७३ रनको अविजित साझेदारी गरेपछि नेपालले जारी विश्वकपमा पहिलो जित हात पारेको हो ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २० औँ ओभरको पहिलो बलमा २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे । जारी विश्वकपमा यो दीपेन्द्रको लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले वेष्ट इण्डिजविरुद्ध अर्धशतक हानेका थिए । गुल्सन झाले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ रनमा अविजित रहे ।

    ओपनर कुशल भुर्तेल ४३ रन बनाउँदा क्याच आउट हुन पुगे । ३५ बलमा १ चौका ६ छक्का सहयोगमा ४३ रन बनाएका कुशल माइकल लिस्कको बलमा क्याच आउट भए । अर्का ओपनर आशिफ शेख २७ बलमा २ छक्का सहयोगमा ३३ रन बनाउँदा माइकल लिस्क कै बलमा क्याच आउट भए ।

    कप्तान रोहित पौडेल १४ बलमा १ चौकाको मद्दतमा १६ रन बनाउँदा माइकल कै बलमा क्याच आउट हुन पुगे । स्कटल्यान्डका लागि ३ विकेट माइकल लिस्कलले लिए उनले आफ्नो स्पेलमा ३० रन खर्चे । त्यसअघि मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो । पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र माइकल जोन्सले १० ओभरमा ८० रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

    १० औँ ओभरको अन्तिम बलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अ‍ोपनर जर्ज मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए । २९ बलमा ४ चौका सहयोगमा २७ रनमा क्याच आउट भए । त्यसअघि १० औँ ओभरको पाचौँ बलमा माइकलले ३१ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। त्यसको दोस्रो बलमा जर्ज आउट भए । दोस्रो विकेटका लागि माइकल र ब्रान्डोन म्याक मुलेनले ५२ रनको साझेदारी गरेका थिए । १६ औँ ओभरको दोस्रो बलमा ७१ रन बनाएका माइकल जोन्स सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ४५ बलमा ८ चौका र ३ छक्का हाने । १६ औँ ओभरको चौथो बलमा २५ रन बनाएका ब्रान्डोम सोमपाल कै बलमा कट एण्ड बोल्ड हुन पुगे। ब्रान्डोमले १९ बलमा १ चौका र १ छक्का हानेका थिए ।

    कप्तान रिची बेरिङटोन १० रन बनाउँदा कुशल भुर्तेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे । म्याथु क्रस ४ रनमा नन्दन यादवको बलमा बोल्ड आउट भए । टोम ब्रुस ५ रन बनाउँदा सोमपाल कै बलमा बोल्ड आउट भए ।माइकल लिस्क ४ रन बनाउँदा नन्दनको बलमा आशिफ शेखको हातबाट आउट भए । मार्क वाट १० ओलिभर डेविडसन १ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । सोमपालले आफ्नो स्पेलमा २५ रन दिए । नन्दन यादवले २ विकेट आफ्नो नाममा गरे । कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए । कुशलले आफ्नो स्पेलमा ३७ रन दिए ।

    जारी विश्वकपको समूह चरणमा नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो । तेस्रो खेलमा वेष्ट इण्डिजसँग ९ विकेटको हार बेहोर्यो । त्यसयता नेपालले विश्वकपमा जित निकाल्न सकेको थिएन ।
    नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा २ जित हात पारेको थियो । नेपालले पहिलो पटक विश्वकप खेल्दा सन् २०१४ मा हङकङलाई ८० रनले हराएको थियो ।

  • बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

    युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा तोकिएको छ ।

  • उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

    उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना


    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
    आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु÷कुहिरो रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ ।

    लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

    यसैगरी आज राती तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपात तथा पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • स्थानीय कुसुमदेवीले दिँदैछिन् पर्यटक उम्मेदवार प्रचण्डलाई चुनौती

    स्थानीय कुसुमदेवीले दिँदैछिन् पर्यटक उम्मेदवार प्रचण्डलाई चुनौती

    रूकुम । एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम पूर्वमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षबाट उम्मेदवारी दिएकी छिन् कुसुमदेवी थापा मगरले । ०२९ भदौ २९ गते पर्वतमा जन्मिएकी कुसुम रूकुमको पुथा उत्तरगंगा गाउँपालिका–१० की स्थायी बासिन्दा हुन् ।

    कुसुमले ०५२ मा नेपाल विद्यार्थी संघबाट राजनीति शरू गरेकी हुन् । उनी कांग्रेस भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको संस्थापक सदस्य हुँदै केन्द्रीय उपसभापति बनिन् । नेपाल महिला संघको तेस्रो महाधिवेशन केन्द्रीय कोषाध्यक्षको उम्मेदवारी दिएकी उनी कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् ।

    उनी भन्छिन्, ‘मैले नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गरेकी हुँ । पछि कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको संस्थापक सदस्य हुँदै केन्द्रीय उपसभापति भएँ ।’

    त्यसो त कुसुम विघटित प्रतिनिधि सभा सदस्य हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् । उनी भन्छिन्, ‘म कांग्रेसको भिजन २० सँगै पर्यटन विकास, गाउँपालिकाको स्थानीय होमस्टे र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने योजनाका साथ अघि बढेको छु । त्यसमा मैले मगरको संस्कृति र संस्कार जोगाउने अभियानमा जुट्छु ।

    उनी पूर्वी रूकुम सबैभन्दा नयाँ र कान्छो जिल्ला भएकाले यसलाई आवश्यक पूर्वाधारहरू बनाउने योजनामा छिन् । नयाँ जिल्ला भए पनि यहाँ आवश्यक पूर्वाधारहरू छैनन् । नौ वटा वडामा अझै पनि पहुँच मार्ग पुगेको छैन । यो भौगोलिक रूपमा निकै अप्ठ्यारो भूभाग हो । कहिले डोल्पा जिल्लामा गाभिने, कहिले बागलुङमा, कहिले रुकुममा,यसरी प्रशासनिक रूपमा अस्थिर रहँदा कुनै पनि ठाउँबाट उचित सेवा सुविधा पाउन सकेन । त्यसपछि छुट्टै जिल्ला बनेको हो ।

    भौतिक पूर्वाधारको अत्यन्त अभाव छ, राज्यको उपेक्षामा परेको अवस्था छ । त्यसैले उनको पहिलो एजेन्डा नै पूर्वाधार विकास हो ।

    उनी भन्छिन्, ‘यस जिल्लामा ठूला मगर बस्तीहरू छन् । ५२ पोखरी, ५३ ताल भनेर चिनिने रूकुमको स्यार्पु ताल लगायतका प्राकृतिक सम्पदाहरू यही पूर्वी रूकुममा छन् । यी सम्भावनालाई पर्यटनसँग जोड्न, पर्यटन पूर्वाधार निर्माण गर्ने मेरो योजना छ।’

    उनको अर्को महत्त्वपूर्ण विषय रोजगारी हो । रूकुम पूर्वका धेरै युवा खाडी मुलुकमा भएकाले पर्काउने योजनामा उनले उम्मेदवारी दिएकी छन्,’कोही अवैधानिक रूपमा अमेरिकालगायत देशमा गएका छन् । उनीहरू सुरक्षित र स्थिर रोजगारीमा छैनन् । मेरो एजेन्डा ‘नलेज इकोनोमी’ हो । अहिलेसम्म युवाहरूले शारीरिक श्रम गरे, अब उनीहरूलाई आईटी र प्रविधिसँग जोडेर यहीँ प्रविधिमैत्री शिक्षा र तालिम दिएर रोजगारी सिर्जना गर्नुपर्छ । काठमाडौँका युवाले लाखौँ कमाउन सक्छन् भने रूकुम पूर्वका युवाले किन नसक्ने ?’ उनी थप्छिन् ।

    एसएलसीपछि राजनीतिमा सक्रिय

    एसएलसी पास गरेपछि नै कुसुमदेवी राजनीतिमा सक्रिय हुन थालिन् । उनको जन्मस्थान पर्वत हो । कलेज पढ्दा उमा अधिकारी रेग्मीले ०४८ सालमा पर्वतबाट चुनाव जितिन् । उनले विकासका धेरै पूर्वाधार योजना ल्याएर गाउँमै देखिने काम गरिन् ।

    महिलाले पनि राजनीति गरेर समाज परिवर्तन गर्न सकिन्छ भन्ने प्रेरणा उनले त्यहाँबाट सिकिन् । परिवार र आफन्तको सहयोगले उनी अहिलेसम्म निरन्तर राजनीतिमा लागिरहिन् ।

    बहुमूल्य जडीबुटीको अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य

    रूकुम पूर्वमा बहुमूल्य जडीबुटी पाइन्छ । डोल्पासँग जोडिएको यो क्षेत्र नेपालमै सबैभन्दा बढी यार्सा पाइने क्षेत्र हो । यी जडीबुटीको प्रशोधन केन्द्र स्थापना गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उनको योजना छ ।

    उनी भन्छिन्, ‘कृषिलाई पनि व्यवसायीकरण गर्नुपर्छ । यहाँ ठूला-ठूला बुकी पाटन छन्, भेँडा पालनको राम्रो सम्भावना छ । उच्च नश्लका भेँडा ल्याएर बढी ऊनर मासु उत्पादन गर्न सकिन्छ । भेँडापालक किसान विस्थापित नहोस् भनेर प्रोत्साहन र भत्ता व्यवस्थाको पहल गर्नेछु ।’

    यहाँ उत्पादन हुने ऊनबाट स्थानीयले बिछ्यौना, ओढ्ने, सिरानी, कपडा बनाइरहेका छन् । यसलाई पश्मिनासँग जोड्न सकियो भने ठूलो सम्भावना छ ।

    उनी अगाडि भन्छिन्,’रूकुम पूर्व अर्गानिक जिल्ला हो । रैथाने बालीको संरक्षण गर्दै अर्गानिक उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ । अर्गानिक उत्पादनको मूल्य फरक हुन्छ । त्यसलाई बजारमा ब्रान्डिङ गरेर स्थापित गर्ने मेरो योजना रहनेछ।’

    साथै यहाँका जनताले सरकारबाट पाउनुपर्ने आधारभूत सेवा सुविधा पाएका छैनन् । गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, विद्युत, टेलिफोन टावर, इन्टरनेट सबैको समस्या छ । कतिपय ठाउँमा टेलिफोनसमेत टिप्दैन । बालविवाह छ, मातृ तथा शिशु मृत्यु दर उच्च छ ।

    ‘म यही माटो, यही भूगोल र यही समुदायसँग जोडिएकी भएकाले यी समस्याहरूलाई नजिकबाट अनुभूति गरेको छु । म यसअघि समानुपातिक सांसद थिएँ, तर बजेट निर्माण र योजना छनोट प्रक्रियामा सहभागिता हुँदैन रहेछ । त्यसैले अहिले प्रत्यक्ष निर्वाचनबाट जनताको अनुमोदन लिएर यी समस्या समाधान गर्न चाहन्छु’, उनले भनिन् ।

    उनका मुख्य प्रतिस्पर्धी पूर्व प्रधानमन्त्री प्रचण्ड हुन् । प्रचण्डले रूकुमलाई द्वन्द्वकालमा आधार इलाका मात्रै बनाएको आरोप छ । तर ०६४ सालपछि तीन पटक प्रधानमन्त्री हुँदा पनि रूकुमको समस्या ज्यूँका त्यूँ रहेको उनको दाबी छ ।

    उनी भन्छिन्,’यदि आधार इलाका मानेको भए तीन पटक प्रधानमन्त्री हुँदा किन विकास हुन सकेन ? जनताले आधारभूत सेवा सुविधा पाएका छैनन् । त्यसैले अब जनताले मूल्यांकन गर्नुहुन्छ भन्ने विश्वास छ ।’

    युवाहरूलाई गाउँमै रोजगारी र सीप

    ‘मिसन रोजगारी’ कांग्रेसकोयोजनासँगैउनको भने गाउँमै युवाहरूलाई रोजगारी दिने हो । ‘वैदेशिक रोजगारीमा जानेहरूलाई दक्ष बनाएर पठाउने, नेपालमै उद्यमशीलता विकास गर्ने, आईटीसँग जोडेर गाउँमै रोजगारी सिर्जना गर्ने मेरोयोजना छ’, उनी भन्छिन्, ‘यहाँका उत्पादन, पर्यटन र युवा दक्षतालाई मध्यनजर गर्दै रूकुमको शान, पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएकी छु ।’

    साथै उनी सांसद हुँदाका विकासका योजनाहरूलाई मूर्त रुपमा दिनु पनि रहेको बताउँछिन् । ‘मैले ३३ महिना सांसद हुँदा बाटो, पुल, मगर बस्तीको संस्कृति संरक्षण, खानेपानी, लिफ्टिङ योजनाहरू शुरू गरेँ । ती योजनाहरूलाई पूर्णता दिन, ट्रयाक खुलेका बाटोलाई कालोपत्रे गर्न र देखेका समस्याहरू समाधान गर्न मेरो उम्मेदवारी हो’, उनी सुनाउँछिन् ।

    रूकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेबाट लिलामणि गौतम र रास्वपाबाट लखनकुमार थापा उठेका छन् । यो क्षेत्रमा गत निर्वाचनमा समानुपातिकतर्फ माओवादी केन्द्रले ८ हजार २७१, कांग्रेसले ५ हजार ६९२ र एमालेले ३ हजार ६५९ मत ल्याएको थियो ।

    २०७९ को निर्वाचनमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत ल्याएर निर्वाचित हुँदा एमालेका कैलाश मल्लले ५ हजार २११ मत पाएका थिए । कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले माओवादीसँग गठबन्धन गरेको थियो । त्यतिबेला ३७५ मत पाएको एकीकृत समाजवादी र माओवादी लगायतका दल मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको हो ।

    माओवादीको प्रभाव क्षेत्रमा पूर्व प्रधानमन्त्री प्रचण्डको उम्मेदवारी, माओवादी–एकीकृत समाजवादीको एकता र कांग्रेस भित्रको असन्तुष्टि मगरका लागि चुनौती हुन् ।

    मगर समुदाय बाहुल यो क्षेत्रबाट पूर्व प्रधानमन्त्री प्रचण्डलाई पराजित गर्ने मगरको दाबी छ । यसै पनि उनी पर्यटक उम्मेदवार भएकोमा रूकुमेली खुशी छैनन् । प्रचण्डले अहिलेसम्म चुनाव लडेका कुनै पनि क्षेत्रमा दोहोरिएका छैनन् । 

  • बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

    बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् ।

    आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिए ।

    निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ ।

    आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको स्पष्ट पारेको छ । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता नखोलेका बताए ।

    नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेका छन् । राजनीतिक दल र उम्मेदवारले रु २५ हजारभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरी छलफल गरेको थियो । सो छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनुभएको थियो ।

    बैंकसँगको छलफलमा उनले हातहातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र त्यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी दिएका थिए ।

  • देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता 

    देशमा सुनिने र बोलिने सांसद बन्ने प्रवलको प्रतिबद्धता 

    काठमाडौँ ।  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ का उम्मेदवार प्रवल थापाले देशमा सुनिने र बोलिने सांसद बन्ने प्रतिबद्धता जनाएका छन् । 
    आफ्नो निर्वाचन क्षत्रका मतदाताहरूसँगको संवादमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

    आफूलाई ‘माटोसँग जोडिएको प्रतिनिधि’का रूपमा प्रस्तुत गरेका थापाले राष्ट्रिय तहमा लोकतन्त्र, सुशासन र राजनीति सुधार पारदर्शिता र जवाफदेहिता प्रबर्धन गर्दै संसदमा सुनिने र बोलिने सांसद बन्ने थापाको दाबी छ । 
     
    राष्ट्रिय राजनीतिमा अपेक्षाकृत नयाँ अनुहार भए पनि स्थानीय जनजीवनसँगको निकटता, पार्टी संगठनमा लामो सक्रियता र समुदायमा निरन्तर उपस्थिति आफ्नो पहिचान भएको उनले बताए । 

    संघीय सांसदको भूमिका नीति निर्माणसमेत रहने हुँदा आफूले उद्यमशीलता र स्थायित्व कायम गर्ने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्माण गर्ने बताए । ‘काठमाडौं क्षेत्र नं. १ सिंगो देशको दर्पण हो’ उनले भने, ‘यो निर्वाचन क्षेत्र ७७ जिल्लाका मानिस र देश विदेशका आँखा पर्ने भएकाले यहाँको विकास र गतिविधिसँग राष्ट्रिय परिचयसमेत जोडिने छ । तीनै तहका सरकारसँगको सहकार्य र समन्वयमा विकास योजना लागू गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि मैले काम गर्नेछु ।’

    यस क्षेत्रलाई राष्ट्रिय नमूना विकास मोडल बनाउने लक्ष्य राखेका थापाले बताए ।  अन्तर्राष्ट्रिय विमानस्थल र पूर्वी नेपालको प्रवेशद्वार भएकाले यस क्षेत्रको रणनीतिक महत्वलाई ध्यानमा राखेर विशेष योजना ल्याउने एजेण्डा समेत उनले अघि सारेका छन् । 

    थापाले आफ्नो क्षेत्रमा वैज्ञानिक ट्राफिक व्यवस्थापन र पार्किङ प्रणालीलाई क्षेत्र केन्द्रित एजेन्डामा समेटेका छन् । त्यस्तै व्यावसायिक सुरक्षा र सुरक्षित आवास क्षेत्र, स्थानीय उद्यमशीलता प्रवद्र्धन (स्टार्टअप, साना व्यवसाय) भित्री बस्तीमा सडक, पैदल मार्ग र सार्वजनिक यातायातको कनेक्टिभिटी, शहरको सौन्दर्यकरण, हरियाली र सम्पदा संरक्षण तथा सुकुम्बासी समस्याको वैज्ञानिक र न्यायोचित समाधानलाई अगाडि सारेका छन् । 

    आफ्नो चुनावी घोषणापत्रमा अर्थतन्त्र जोगाउन व्यवसायमैत्री वातावरण, व्यवस्थित शैक्षिक हब निर्माण, स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन र ढल निकासका कार्यक्रमलाई उनले जोड दिएका छन् । सहरी गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम, सीप विकास, स्वरोजगार प्रवद्र्धन तथा सेवा, पर्यटन र हस्पिटालिटी क्षेत्रको विकासलाई उनले प्राथमिकता दिएका छन् । 

    थापाको उपस्थितिले कांग्रेसको विरासत जोगाउन सहज भएको स्थानीय नेता कार्यकर्ताहरूको भनाइ छ ।  डेढ दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका थापा नेविसंघ र तरुण दल हुँदै पार्टीको विभिन्न तहमा काम गरेका नेता हुन् । 

    उनले नेविसंघको क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, तरुण दल केन्द्रीय सदस्य, नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस केन्द्रीय समिति तरुण विभाग सदस्य, महासमिति सदस्य महाधिवेशन प्रतिनिधिलगायत भूमिकामा काम गरिसकेका छन् । 

    उनले  पार्टीको तल्लो कमिटी र विद्यार्थी संगठनदेखि नै सक्रिय रहेकाले आफू नेपाली कांग्रेसको नर्सरीमा हुर्किएको र माटोलाई बुझेको उम्मेदवार रहेको बताए । 

    अष्ट्रेलियाबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका थापा हाल पारिवारिक हस्पिटालिटी व्यवसाय, सामाजिक काम र राजनीतिमा समानान्तर रूपमा सक्रिय छन् । उनले आफू ‘भाइरल राजनीति’भन्दा ‘ग्राउन्ड राजनीति’मा विश्वास गर्ने बताउँछन् ।