Author: Dwarika Pokhrel

  • महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो : अध्यक्ष  ओली

    महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो : अध्यक्ष  ओली


    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व रहेको बताएका छन् ।

    आज महाशिवरात्रि पर्वको अवसरमा सामाजिक संजाल फेसबुकमार्फत शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएको बताएका हुन् ।

    ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै पाटबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन्’ उनले लेखेका छन् । ‘ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएका छन ।’

    उनले बाहिरको कोलाहलमा नभइ भित्रको विवेकमा सत्य निहित रहेको उल्लेख गर्दै यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होस् भन्ने कामना गरेका छन् ।

  • विकास, सुशासन र समृद्ध भविष्यका लागि सभापति थापालाई मतदान गरौँ : रास्वपा नेता महतो

    विकास, सुशासन र समृद्ध भविष्यका लागि सभापति थापालाई मतदान गरौँ : रास्वपा नेता महतो

    सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक महतोले सर्लाही क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसका सभापति तथा उम्मेदवार गगन थापालाई मतदान गर्न अपिल गरेका छन् ।

    सामाजिक सञ्जालमा सभापति थापासँगको तस्बिर साँझा गर्दै नेता महतोले आगामी प्रतिनिधिसभा निर्वाचनमा थापालाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका हुन् । उनले सभापति थापासँग देशको वर्तमान राजनीतिक संकट समाधान गर्ने स्पष्ट दृष्टिकोण रहेको, सुशासन, पारदर्शिता र जवाफदेहिता कार्यान्वयन गर्न सक्ने नेतृत्व क्षमता भएको उल्लेख गरेका छन् ।

    नेता महतोले सभापति थापालाई सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि स्पष्ट खाका प्रस्तुत गर्न सक्ने नेता भन्दै कानुन तथा नीति निर्माणमा अनुभवी र दक्ष रहेको बताएका छन् ।

    ‘तीव्र आर्थिक विकास, पूर्वाधार निर्माण र समृद्धिलाई प्राथमिकता दिने तथा भू – राजनीतिक सन्तुलन कायम गर्दै राष्ट्रिय हित सुरक्षित गर्न सक्ने क्षमता रहेका नेता थापा हुन् । सर्लाही ४ वासीले पाएको मौकाको सदुपयोग गर्दै देशको भावी प्रधानमन्त्रीको उम्मेदवारलाई भारी मतान्तरले विजयी गराउनु पर्छ । उनको जीतले क्षेत्रसँगै जिल्लाको विकासमा ठूलो टेवा पुग्छ’, नेता महतोले भने ।

    उनले युवा, महिला, किसान, मजदुर तथा सीमान्तकृत वर्गको आवाज संसदमा पुर्‍याउन सक्ने सक्षम, इमानदार र प्रशिक्षित नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सचेत नागरिक र युवाहरूले सही नेतृत्व चयन गर्नुपर्ने बताए ।

    महतोले आगामी निर्वाचनमा विकास, सुशासन र समृद्ध भविष्यका लागि सभापति थापालाई मतदान गर्न आग्रह गर्दै सर्लाही – ४ बाट परिवर्तनको सुरुवात गर्न आह्वान गरेका छन् । महतो सर्लाहीका रास्वपाका नेता हुन् । 

  • रुकुमका राजुलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ

    रुकुमका राजुलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ


    रुकुम । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले रुकुम पश्चिममा युवा नेता राजु केसीलाई उम्मेदवार बनाएपछि कांग्रेस घरदैलोमा व्यस्त रहेको छ ।

    सफल युवा व्यवसायी र युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेता मैदानमा उत्रिएपछि मत परिणाम आफ्नै पोल्टामा पार्न कांग्रेसले जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।

    उम्मेदवार केसीसहितको प्रचार अभियान टोली बाँफिकोट सानिभेरीका बस्तीहरुमा भेटघाट सकेर चौरजहारीमा दैनिक गतिविधि गरिरहेको छ । पार्टीको पालिकास्तरिय समितिले पनि जिल्लाका विभिन्न स्थानमा घरदैलो गरिरहेका छन् ।

    यस पटकको निर्वाचनमा तत्कालीन माओवादी फुटको लाभ लिएर जित हासिल गर्ने दाउमा रहेको रुकुम कांग्रेसले यो मौका नगुमाउन कसरत शुरू गरेको छ । भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि परिवर्तित समयको माग र सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धतासहित घरदैलोमा कार्यकर्ता भेटघार गरिरहेको उम्मेदवार केसीले बताएका छन् ।

    उनले कांग्रेसका आस्थावान् जेष्ठ नागरिकहरुले दिने माया र आशीर्वाद तथा युवा पुस्ताले दिइरहेको साथले आफूलाई जितको लागि सहज भइरहेको बताए । ३० वर्षदेखि रुकुम पश्चिममा सत्ता बिमुख भएका कांग्रेसजनले पाएको पीडा र भोगेको अन्याय चिर्नलाई कांग्रेसले जित निकाल्ने उनको भनाइ छ ।

    जिल्लामा विकास प्रक्रियामा भएको एकलौटीपन, दलीय दम्भ र अन्यायमा परेका आम नागरिकले आफ्नो उम्मेदवारीलाई विकास, समृद्धि, न्याय र समानताको रुपमा लिएको उम्मेदवार केसीको भनाइ छ ।

    केसीले भने, “आत्मनिर्भर रुकुम र विवेकी रुकुमेली बनाउन म राजनीतिको मैदानमा आएको छु, आर्थिक उत्पादनका गतिविधिहरुमार्फत गाउँमै स्वरोजगार बन्ने अवस्था निर्माणका लागि प्रतिबद्ध छु ।” उनले गाउँमा देखिएको उत्साहले आफूलाई थप हौसला बढिरहेको बताए ।

    परिवर्तित परिस्थितिअनुसार पुस्तान्तरणको मागलाई आत्मसाथ गरेर उम्मेदवार चयन गरेको कांग्रेसको देशव्यापी लहरमा रुकुम पनि सामेल भएको उहाँको बुझाई छ । रुकुमका कांग्रेसजनहरुले आफ्नै चुनावी चिन्हमा मतदान गर्ने मौका समेत भएकोले एकढिक्का कांग्रेसकै कारण आफू ढुक्कले जित्ने केसीको भनाइ छ ।

  • आज विश्व रेडियो दिवस मनाइँदै

    आज विश्व रेडियो दिवस मनाइँदै

    काठमाडौं । आज १३ फेब्रुअरीका दिन विश्वभर विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सूचना, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा रेडियोले पु¥याएको योगदानको सम्मानस्वरूप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

    सन् २०११ मा युनेस्कोले १३ फेब्रुअरीलाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको हो। विश्वभरका रेडियोकर्मी, सञ्चार संस्था र श्रोताहरूले आजका दिन विशेष कार्यक्रम, अन्तरक्रिया तथा सचेतनामूलक गतिविधि आयोजना गर्ने गर्दछन्।

    रेडियोको आविष्कार सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले गरेका थिए । तारबिनाको माध्यमबाट ध्वनि प्रसारण गर्न सकिने प्रविधिले सञ्चार क्षेत्रमा क्रान्ति ल्याएको थियो। समयक्रममा शर्टवेभ, मिडियमवेभ हुँदै एफएम र डिजिटल प्रविधिसम्म रेडियो विस्तार भएको छ ।

    नेपालमा पनि रेडियोको आफ्नै ऐतिहासिक महत्व छ । रेडियो नेपाल स्थापना भएपछि देशभर सूचना प्रवाहको सशक्त माध्यमको रूपमा रेडियो विकसित भएको हो। राजनीतिक परिवर्तन, जनआन्दोलन तथा विपद्का समयमा रेडियोले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।

    विशेषगरी वि.सं. २०७२ को भूकम्पका बेला अन्य सञ्चार माध्यम प्रभावित हुँदा रेडियोमार्फत देशभर सूचना आदान–प्रदान गरी उद्धार तथा राहत कार्यलाई सहज बनाइएको थियो।

    प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म विस्तार भए पनि रेडियो अझै विश्वसनीय, सुलभ र प्रभावकारी सञ्चार माध्यमका रूपमा स्थापित रहेको छ ।

  • यसरी बढ्दै छ रूपन्देही २ मा कांग्रेसको पक्षमा माहोल

    यसरी बढ्दै छ रूपन्देही २ मा कांग्रेसको पक्षमा माहोल


    बुटवल । रूपन्देहीको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको पक्षमा माहोल बन्दै गएको छ । कांग्रेसको तर्फबाट रूपेन्देहीका लागि समाजसेवी एवम् व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा माहोल बन्दै गएको हो ।

    यसअघि नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनाव जितेको सो क्षेत्रमा यस पटक भने कांग्रेसका उम्मेदवार पौडेलको पक्षमा माहोल बनेको स्थानीय बताउँछन् ।

    पौडेल साढे दुई दशकदेखि रूपन्देही जिल्ला केन्द्रित भएर समाजसेवा हुँदै विभिन्न व्यवसायमा जोडिएका छन् । रूपन्देहीकी स्थानीय तारा शर्माले यस पटक जिल्लामा विभिन्न उद्योगमार्फत करिब पाँच हजार युवालाई प्रत्यक्ष युवालाई रोजगारी दिन सफल रहेको हुँदा पनि त्यस क्षेत्रका जनतामाझ पौडेल पहिलो रोजाइमा पर्न सफल भएको बताइन् ।

    उनको बुझाईमा एकातिर बदलिएको नेपाली कांग्रेस र अर्कोतिर समाजसेवी पौडेल यस क्षेत्रको चुनावी मैदानमा भएकाले रूपन्देही २ कांग्रेसको पक्षमा जाने निश्चित देखिएको हो ।

    चुनावी प्रचारका क्रममा बुटवलमा विहीबार बिहान आयोजित कार्यक्रममा अधिकांश रूपन्देही २ पौडेललाई मतदान गर्न उत्साही भएको प्रतिक्रिया दिइयो । यस क्षेत्रका नागरिकको समस्याको पहिचान गरेर त्यसको समाधानका लागि पौडेलबाट पहल हुनेमा स्थानीय ढुक्क छन् ।

  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्ने

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लाग्ने

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    जसका कारण शुक्रबार बिहान तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।

    यस्तै, महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।

    आज राती भने तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु÷कुहिरो रहने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भू–भागमा आंशिक बादल लाग्ने समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

    कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

    काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो ।

    आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । यस्तै, ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ । कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

    हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभाको मतपत्र छपाइ सम्पन्न भएको छ ।

    त्यसैगरी, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकको मतपत्रसमेत छपाइ सम्पन्न भएको छ ।

    आयेगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा मतपत्र छपाइ भइरहेको छ । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको पनि आयोगले जनाएको छ ।

    यस्तै, प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । यही माघ १६ गते बिहानदेखि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको हो ।

  • झापा ५ की कांग्रेस उम्मेदवार मन्धरा भन्छिन् – म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु

    झापा ५ की कांग्रेस उम्मेदवार मन्धरा भन्छिन् – म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु

    झापा । झापा ५ की नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने दाबी गरेकी छिन् ।

    सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले स्थानीय तहमा समाजसेवा गर्दै आएको र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकाले स्थानीयहरूको विश्वास रहेको बताइन् ।

    उनले भनिन्, ‘म यहीँको स्थानीय हो । मेरो क्षेत्रमा मैले स्थानीयहरूको समस्या र गुनासो दुवै सुनेर काम गरेकी छु। बालबालिकाको क्षेत्रमा पनि विशेष काम गर्दै आएकीले यहाँ मलाई सबैले चिन्नुहुन्छ। मतदाता नै मेरो परिवार हो । भोट यसपालि मलाई नै दिनुहुन्छ ।

    उनले  आफू मिडियामा कम आए पनि जनताको घरदैलोमा सधैं पुग्ने गरेको बताइन् । उनले भनिन्, ‘म मिडियामा कम र जनताको घरदैलोमा सधैँ पुगिरहेकी छु। त्यसकारण मलाई उहाँहरूको मतप्रति विश्वास छ।’

    झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेन पनि उम्मेदवार रहँदा उनीहरूका मात्र चर्चा मिडियामा भएकोप्रति चिमरियालाई कुनै गुनासो नभएको हो ।

  • देशलाई थितिमा राख्न अजयबाबुलाई मत दिन कुन्दन काफ्लेको आग्रह

    देशलाई थितिमा राख्न अजयबाबुलाई मत दिन कुन्दन काफ्लेको आग्रह

    चरीकोट । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले देशलाई थितिमा राख्न र सुशासन कायम गर्न कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई मतदान गर्न आग्रह गरेका छन् ।

    भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना कांग्रेसको मुख्य मुद्दा भएको उल्लेख गर्दै उनले यो म्यान्डेट पूरा गर्न रूख चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए । उनले अन्य राजनीतिक दलहरूलाई लक्षित गर्दै जनताको ठेक्का कसैले लिनु नपर्ने र आगामी फागुन २१ गते जनता कसको पक्षमा छन् भन्ने कुरा स्पष्ट भइहाल्ने जिकिर गरे ।

    उनले भने, “भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने कांग्रेसको मुद्दा हो । देशलाई थितिमा राख्ने कांग्रेसको मुद्दा हो । त्यो म्यान्डेट हामी पूरा गर्छौं त्यसैले रुख चिन्हमा मतदान गर्नुपर्छ । म सम्पूर्ण राजनीतिक दललाई भन्न चाहन्छु यो ठेक्का पट्टा जनताको लिने काम कसैले नगर्दा हुन्छ । जनता कसको पक्षमा छन् हामी २१ गते देखाइदिन्छौँ । त्यही भएर कांग्रेसका कार्यकर्ता उच्च मनोबलका साथ गौरीशङ्कर हिमाल जस्तै शिर ठाडो बनाएर हिँडौँ । यो परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्नेछ । हामी कुनै जनताको शिर निहुराउन दिनेछैन त्यही अनुरूप सबै लाग्नुहोला ।”

    उनले हरेक कार्यकर्तालाई आफ्नो जित सुनिश्चित भइसकेको महसुस गर्दै छाती चौडा पारेर अगाडि बढ्न आह्वान गरे । पार्टीभित्र पक्ष–विपक्ष हुनु स्वभाविक भए पनि कांग्रेसको नीति, सिद्धान्त, निष्ठा र दृष्टिकोण सधैँ अब्बल रहेको कुरा बारम्बार पुष्टि भइसकेको उनको तर्क छ ।

    उनले गैर–कांग्रेस मतदाताहरूलाई समेत यस पटक विकास र समृद्धिका लागि रूख चिन्हमा मतदान गर्न विशेष आग्रह गरे । दोलखाको विकास र भविष्यका लागि अजयबाबु शिवाकोटी जस्तो योग्य उम्मेदवारको आवश्यकता रहेको भन्दै उनले सबैलाई गोलबद्ध हुन आह्वान गरे ।

    उनले भने .”गैर कांग्रेसलाई म भन्न चाहन्छु पार्टी भित्र पक्ष विपक्ष हुन पाइन्छ । तर हाम्रो पार्टीले हाम्रो नीति सिद्धान्त निष्ठा दृष्टिकोणमा अब्बल छ । यो बारम्बार पुष्टि भइसकेको छ । छाती चौडा राखेर हरेक कांग्रेसका कार्यकर्ता जित सुनिश्चित भइसक्यो भन्ने दिशामा अगाडि बढ्न काम गर्न अनुरोध गर्न चाहन्छु । साह्रोगाह्रोमा नेपाली कांग्रेस हिजो जस्तै चट्टान झैँ अडान लिएर गरिब जनताको पक्षमा उभिनेछ । युवाले कांग्रेसको नेतृत्व गर्दैछ भनेर तपाईँहरू गाउँ गाउँमा गएर सुनाउनुस् । गैर कांग्रेसले पनि यसपालि विकास चाहनुहुन्छ भने रूख चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।”

    चुनाव जितिसकेको मानसिकताका साथ उच्च ऊर्जाका साथ काम गर्न उनले कार्यकर्तालाई अनुरोध गरे । कांग्रेस सधैँ जनताको सुख–दुःखको साथी भएको र आगामी दिनमा पनि त्यही भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे ।

  • सिद्धान्तभन्दा नतिजामा विश्वास गर्ने काठमाडौँ ३ का उम्मेदवार रमेश अर्याल

    सिद्धान्तभन्दा नतिजामा विश्वास गर्ने काठमाडौँ ३ का उम्मेदवार रमेश अर्याल

    काठमाडौँ । गत माघ ६ गते देशभर २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको थियो । अघिल्लो दिनसम्म काठमाडौँ क्षेत्र नम्बर ३ मा उम्मेदवार को हुने भन्ने टुंगो लागेको थिएन । दुई दिनदेखि माघ ५ गतेको रातभर विभिन्न नामहरू चर्चामा थिए । कसले टिकट पाउने भन्ने निश्चित भएन । यही अन्योलबीच एकाएक एउटा नाम सार्वजनिक भयो -रमेश अर्याल ।

    नेपाली कांग्रेसको प्रभावशाली क्षेत्र जहाँ चर्चित सेलिब्रेटीहरूले समेत निर्वाचन लड्ने रणनीति बनाइरहेका थिए । त्यही अवस्थामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले अर्याललाई आफ्नो ‘कमान्डर’ का रूपमा किल्ला रक्षा गर्न चयन गरे । अर्यालको नाम चयन हुनुका पछाडि स्पष्ट कारणहरू थिए ।

    चक्रबहादुर ठकुरीको विरासतलाई कसले निरन्तरता दिन सक्छ भन्ने विषयमा सभापति र उपसभापतिबीच लामो छलफल भयो । छलफलपछि अर्याल नै उपयुक्त पात्र भएको निष्कर्षमा उनीहरू पुगे । मध्यरातमा अर्याललाई फोन आयो र सभापति थापाले “अब टिकट तपाईंलाई नै हो, तयारी गर्नुस्” भन्ने सन्देश दिए ।

    यस क्षेत्रमा अर्यालसँगै अन्य धेरै प्रतिस्पर्धी पनि थिए। आफू नै चयन भएको कुराले उनी स्वयं अचम्मित भए । टिकटको आशा त थियो तर विश्वास थिएन । पार्टीले एकाएक यसरी भरोसा गरेपछि अर्याल आफ्नै विगत सम्झन पुगे ।

    अर्याललाई छान्नुका मुख्य तीन कारण

    पहिलोः यस क्षेत्रमा उनको दीर्घकालीन परोपकारी भूमिका र जनतालाई नझर्काउने नेतृत्व क्षमता । दोस्रोः उनको लगनशीलता र निरन्तर खटाइ। तेस्रोः वडाध्यक्षको रूपमा तथा गोकर्णेश्वर नगरपालिकाको विपद् व्यवस्थापनमा देखाएको अब्बल कार्यक्षमताका कारण जनतामाझ स्थापित विश्वास।

    काठमाडौँ–४ बाट निर्वाचन लडेका सभापति थापाले अर्याललाई नजिकबाट चिनेका थिए । यी सबै गुणका आधारमा यसपटक अर्याललाई काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउँदै कांग्रेसको विजययात्रा निरन्तरता दिने योजना अघि सारिएको देखिन्छ ।

    को हुन् रमेश अर्याल ?

    रमेश अर्याल काठमाडौँ ३ का लागि एक बलियो र भरोसायोग्य विकल्प हुन् । राजनीतिमा ‘सिद्धान्त’भन्दा बढी ‘नतिजा’मा विश्वास गर्ने व्यक्तिका रूपमा उनी परिचित छन् । गोकर्णेश्वर क्षेत्रमा मतदाताहरूको टिप्पणी पनि यही छ ।

    ०७४ सालको स्थानीय निर्वाचनमा आफ्नो टिमका धेरै सदस्य पराजित हुँदा पनि उनी एकल लोकप्रिय मतका साथ वडाध्यक्षमा निर्वाचित भए, जसले उनको जनप्रियता पुष्टि गर्छ । बौद्ध, तारेभिर, सुन्ताखाना तथा कागेश्वरीका विभिन्न वडामा उनी समान रूपमा लोकप्रिय छन् । जनतासँगको यही बलियो सम्बन्धका कारण पार्टीले उनमा विश्वास गरेको देखिन्छ । काठमाडौँ–३ का मतदाताहरूले पनि अर्याललाई यही दृष्टिले हेरेर समर्थन जनाउन थालेका छन् ।

    नेपालको राजनीतिक संस्कारमा उम्मेदवारले आश्वासन बाँड्ने चलन भए पनि अर्यालको हकमा अवस्था उल्टो देखिन्छ। सुन्दरीजलदेखि गागलभेदीसम्म, जहाँ–जहाँ उनी पुगे, त्यहाँका नागरिकले “एक पटकको मत रूख चिन्हमा अर्थात् तपाईंलाई” दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    असहज राजनीतिक परिस्थितिमा पनि विपक्षी र कर्मचारीतन्त्रसँग समन्वय गरेर काम निकाल्न सक्ने क्षमताले नै अर्याललाई क्षेत्र नम्बर ३ को नेतृत्वका लागि योग्य बनाएको जनताको बुझाइ छ ।

    व्यावहारिक एजेन्डा र ठोस अनुभव

    खानेपानी संकटको समाधान:

    काठमाडौँ क्षेत्र नम्बर ३ को प्रमुख समस्या खानेपानीको अभाव हो । अर्यालले मेलम्ची आयोजनाको पाइपलाइन विस्तारमा मात्र निर्भर नरही, परम्परागत मुहानहरूको पुनरुत्थान, बोरिङ प्रणालीको वैज्ञानिक व्यवस्थापन र बर्खे पानी संकलनलाई नीतिगत रूपमा अघि बढाउने योजना अघि सारेका छन् । “हाम्रो क्षेत्रको पानी, हाम्रै घरको धारामा” भन्ने संकल्पका साथ उनले वितरण प्रणालीको न्यायोचित सुधारमा जोड दिएका छन् ।

    युवालाई श्रम बजार र उद्यमशीलतासँग जोड्ने योजना:

    बेरोजगारीको नारा मात्र नभई अर्यालले युवालाई स्थानीय श्रम बजारमा टिकाउने उद्देश्यले ‘सीप प्रमाणीकरण तथा रोजगार केन्द्र’ को अवधारणा अघि सारेका थिए, जुन सफल पनि भएको थियो । जनताले यस कार्यक्रमलाई पुनः सञ्चालन गर्न माग गरिरहेका छन् । क्षेत्र नम्बर ३ भित्रका उद्योग तथा व्यवसायीसँग समन्वय गरी सीपमूलक तालिम प्रदान गर्दै युवालाई स्वदेशमै अर्थतन्त्रको मेरुदण्ड बनाउने उनको सोच छ ।

    शिक्षामा नमूना परिवर्तन:

    खगेन्द्र नवजीवन विद्यालयमा अर्यालले गरेको काम ‘बोल्नेभन्दा गर्ने’ शैलीको उत्कृष्ट उदाहरण हो । पहिले करिब २०० विद्यार्थी मात्र रहेको यस विद्यालयमा उनले गुणस्तर सुधार गरेपछि आकर्षण बढ्यो ।

    हाल विद्यालयमा ६७५ विद्यार्थी अध्ययनरत छन् । गोकर्णेश्वरकै उत्कृष्ट विद्यालयमध्ये एक बन्न सफल यस विद्यालयलाई पूर्ण अपाङ्गतामैत्री बनाउन उनले विशेष पहल गरेका थिए ।

    आज यो विद्यालय देशकै उत्कृष्ट अपाङ्गता मैत्री विद्यालयका रूपमा परिचित छ। यही अनुभवलाई क्षेत्रका अन्य सामुदायिक विद्यालयमा पनि लागू गर्नुपर्ने जनताको अपेक्षा छ ।

    नीतिमा स्पष्टता:

    वडाध्यक्षका रूपमा स्थानीय सरकार सञ्चालन गरेको अनुभवले उनलाई ऐन, नियम र बजेट विनियोजनका जटिलता राम्रोसँग बुझ्न मद्दत गरेको छ। प्रशासनिक झन्झट हटाएर नागरिक सेवाहरू छिटो, सहज र पारदर्शी बनाउने स्पष्ट दृष्टिकोण उनीसँग छ।

    संकटका सारथि:

    कोभिड–१९ को महामारीको समयमा करिब १० हजार नागरिकलाई खोप उपलब्ध गराउनुका साथै तीन महिनासम्म असहाय नागरिकलाई भोजनको व्यवस्था गरेर उनले “नेता भोट माग्न मात्र होइन, भोट दिने नागरिकको ज्यान जोगाउन पनि आउँछन्” भन्ने कुरा व्यवहारमै प्रमाणित गरे ।