Author: Dwarika Pokhrel

  • मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न

    मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न

    काठमाडौं — राजधानीको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ।
    सौन्दर्य, प्रतिभा र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम सामरी इन्टरनेसनलको आयोजना र एमकेएम फेसन हाउसको सहकार्यमा सम्पन्न गरिएको हो।

    कार्यक्रमको सञ्चालन सोनु निरौलाले गरेकी थिइन्। प्रमुख अतिथि पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले प्रतियोगिताको उद्घाटन गरेकी थिइन्।
    विशेष अतिथिका रूपमा एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवर र सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष रेशमकुमार लामा तामाङ उपस्थित थिए।

    निर्णायक मण्डलमा सेफ गोविन्द नरसिंह केसी, Mrs. Indigenous 2024 उपाधि प्राप्त समाजसेवी तथा उद्यमी सोनिया चाम्लिङ राई, गायक तथा र्‍यापर निर्णय श्रेष्ठ (NSK), र्‍यापर तथा राजनीतिज्ञ सिड वाग्ले, र समाजसेवी दिलसागर कटवाल रहेका थिए।

    मिसेस तर्फ चन्दु बलामीले शीर्ष उपाधि जितिन् भने सरु कार्की फर्स्ट रनरअप र डा. मीना प्रधान सेकेन्ड रनरअप बने।
    मिस तर्फ अधिका कुमारी थापा मगर विजेता घोषित भइन् भने प्रेक्षा श्रेष्ठ फर्स्ट रनरअप रहिन्।

    त्यसैगरी विधागत उपाधिहरूमा रञ्जु कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’, युनिसा राईले ‘भ्युअर्स च्वाइस अवार्ड’, र सानु शेर्पाले ‘मेनेजमेन्ट च्वाइस अवार्ड’ जिते।

    कार्यक्रममा कलाकार, समाजसेवी, उद्यमी र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
    विशेष पाहुनामध्ये अजय अधिकारी सुशील, सागर कटवाल, लिजा राई, अर्जुन कार्की (अभिनेता) लगायतका चर्चित व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो।

    कार्यक्रममा नविनाज ब्युटी होम एण्ड ट्रेनिङ सेन्टर आधिकारिक ब्युटी पार्टनरका रूपमा रहेको थियो भने क्रिस्टल क्लियर बुटिक, पाम्फा कुट्युर, द क्लासी बुटिक र मथ डिजाइन ड्रेस पार्टनर थिए।
    त्यसैगरी डिजे स्कल स्टुडियो, स्वयम्भू प्रोडक्सन र द जग्वार प्रोडक्सनले फोटोग्राफी तथा भिडियो पार्टनरको भूमिका निर्वाह गरे।

    स्पोन्सरमा सेफ एसोसिएसन अफ नेपाल, एनके कोस्मेटिक्स (ओरा), देववान एग्रो, युनिक्याम्पस ग्लोबल र साझा पाना रहेका थिए।

    कार्यक्रमका आयोजक तथा सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले प्रतियोगिता महिलाको आत्मविश्वास र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नका लागि आयोजना गरिएको बताए।
    उनका अनुसार यस प्रतियोगिताले नेपाली महिलाको सौन्दर्यसँगै उनीहरूको सशक्तीकरण र सांस्कृतिक गौरवलाई विश्व मञ्चमा उजागर गर्ने लक्ष्य राखेको छ।

  • सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

    काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ । 

    नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा÷चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ । 

    विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख गरेको छ । त्यसका लागि व्यापारिक सङ्घ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी सङ्घ, सङ्गठन र उपभोक्ताको उत्तिकै महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ । 

    उपभोक्ता वर्गले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु खरिद गर्न हुन विभागले स्मरण गराएको छ । उपभोक्तहरूको कुनै गुनासो भए विभागको टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउनुहुनसमेत अनुरोध गरेको छ । 

  • सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

    सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

    सिरहा । प्रहरीले सिरहा विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिरस्थित मेनचोकबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको हो । 

    बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम रहेको र प्लास्टिक बाहेक १५ ग्राम शुद्ध रहेको उहाँले जानकारी दिनुभयो । यस अभियोगमा गोलबजार नगरपालिका–७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूसँगै मोटरसाइकल नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध (गाँजा) लैजाँदै गरेको समूह प्रहरी देख्ने बित्तिकै झोला फालेर भागेका थिए । घटनास्थलबाट प्लास्टिकसहित ६४.९ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 

    भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो । प्रहरीले दुवै घटनामा थप अनुसन्धान गरिरहेको प्रनाउ पालले बताउनुभयो ।

  • विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित

    विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित

    काठमाडौँ, २६ असोजः आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विजयी भएको छ । 

    ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ–१ मा आज भएको खेलमा नेपालले युएईलाई एक रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।

    युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए । 

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए । 

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन बनाए । 

    युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक–एक विकेट लिए । नेपालले दोस्रो खेल भोलि कतारसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ ।

  • सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    बागलुङ । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।

    पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नुपरेको छ ।

    ढोरपाटन उपत्यकाबाट घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उहाँले सुनाउनुभयो ।

    ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुईवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उहाँको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताउनुभयो । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उहाँ बताउनुहुन्छ । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उहाँको भनाइ छ ।

    “अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालामात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो”, अध्यक्ष पुनले भन्नुभयो, “यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।”

    समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकैठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आउनुभएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोख्नुभयो । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, “ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।” रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाउनुभयो । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उहाँको भनाइ छ । यतिबेला जलजला पुग्नेगरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् ।

  • एकल महिलाको लोभलाग्दो अग्र्यानिक तरकारी खेती

    एकल महिलाको लोभलाग्दो अग्र्यानिक तरकारी खेती

    भोजपुर । टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बन्नुभएको छ । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अग्र्यानिक तरकारीखेतीमा लाग्नुभएको हो ।

    राईले ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ दर्ता गरी व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले बन्दाकोभी, काउली, ब्रोकोली, टमाटर, भेडेखुर्सानी, एक्वास, प्याजलगायत तरकारी अग्र्यानिक विधिबाट उत्पादन गर्दै आउनुभएको छ । गाउँघरमै पाइने गाईभैँसी, बाख्रा र बङ्गुरको गोबर प्रयोग गरेर बनाइएको प्राङ्गरिक मल प्रयोग गरी पूर्णतया अग्र्यानिक उत्पादनमा जोड दिएको उहाँको भनाइ छ ।

    “व्यावसायिक रूपमा अग्र्यानिक तरकारी उत्पादन गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । घरखर्च चलाउन समस्या छैन, अब अझै विस्तार गर्ने योजनासहित काम गरिरहेको छु ।”

    उहाँले शिक्षण पेसा छाडेर खेतीमा लागेको कारणबारे बताउँदै भन्नुभयो, “कृषि कर्ममा मेहेनत गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ । तर हामी व्यावसायिक बन्न सक्नुपर्छ । राज्यका तर्फबाट आवश्यक सहयोग र बजार व्यवस्थापन भए अझ धेरै किसानलाई राहत पुग्छ ।”

    गाउँपालिका उपाध्यक्ष रमादेवी राईले टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भावना भएकाले गाउँपालिकाले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तय गरेको बताउनुभयो । “टेम्केमैयुङमा कृषि र पर्यटनको राम्रो सम्भवाना छ”, उपाध्यक्ष राईले भन्नुभयो, “किसानलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।”

    वडा नं ४ का वडाध्यक्ष हर्कराज राईले किसानलाई मौरीपालन, जडीबुटीखेती, सुन्तला र कागतीखेतीमा व्यावसायिक बन्न सहयोग गरिएको बताउनुभयो । “हाम्रो वडामा तरकारीखेतीमा लाग्ने किसानको सङ्ख्या बढ्दो छ”, वडाध्यक्ष राईले भन्नुभयो, “नागी क्षेत्र मौरीपालनका लागि पनि उपयुक्त भएकाले मौरीपालक किसानलाई प्रोत्साहनका कार्यक्रम चलाइरहेका छौँ ।”

    गाउँपालिका अध्यक्ष सरोज बस्नेतले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिँदै किसानलाई नगदेबालीतर्फ आकर्षित गर्न कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । टेम्केमैयुङमा धेरै उर्वरभूमि भएकाले किसानलाई व्यावसायिक योजनाका आधारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

  • एनआरएनए साहित्य सङ्गोष्ठी सम्पन्न

    एनआरएनए साहित्य सङ्गोष्ठी सम्पन्न

    काठमाडौँ । गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद्को भाषा तथा साहित्य समिति र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा साहित्यिक सङ्गोष्ठी तथा बहुभाषिक सिर्जना वाचन सम्पन्न भएको छ ।

    गैरआवासीय नेपाली संघको २२ औँ स्थापना दिवसको अवसरमा सो साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो ।

    प्रज्ञा–प्रतिष्ठानको देवकोटा हलमा आयोजित सिर्जना वाचन कार्यक्रममा ५७ जना कविहरूले सहभागिता जनाएका थिए । जसमध्ये २५ जनाले आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए ।

    कार्यक्रमको प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र एनआरएनए आइसिसी अध्यक्ष महेश कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रहेका राईले सबै भाषालाई समेटेर गरिएको कार्यक्रमले वास्तविक नेपाली अनुहार झल्किएको बताए ।

    सो अवसरमा एनआरएनए अध्यक्ष  श्रेष्ठले भाषाको सवालमा हामी नेपालीहरू संवेदनशील हुनुपर्नेमा जोड दिँदै विदेशमा हुर्किरहेका बालबच्चाहरूलाई नेपाली भाषा सिकाउन लाग्नु पर्नेमा जोड दिए । त्यसका लागि आफूहरूले जापानमा नेपाली अध्ययन गराउने विद्यालय स्थापना गरेको उदाहरण पनि दिएका थिए ।

    एनआरएनए पूर्व महासचिव जानकी गुरुङ, मातृभाषा विभागका प्रमुख प्राज्ञ राजन मुकारुङ, एनआरएनए महिला संयोजक रश्मि थापाले पनि नेपाली भाषा संरक्षणमा एनआरएनएले भूमिका खेल्नु पर्नेमा जोड दिए । 

    गोष्ठीमा विशाल नाल्बो, मिथोज सुनुवार, मिमबहादुर परियार, सोझो गाउँले, रमेश पौडेल, विमला तुम्खेवा, सिर्जना मगर, मनोज न्यौपाने, मणिराज सिंह, अन्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत वाशिष्ठ, जनक रसिक, गणेश ताम्बुले राई, डम्बर थामी, निशेष आङदेम्बे, पदम वालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेश बहादुर बुढामगर, जोगबहादुर बुढामगर, शर्मिला राना थारु, शोभा सुनुवार, रचना मोक्तान, स्नेहा झा, आलोक तिवारी, मनु ठाडा मगर, मणि लोहनी, सन्ध्या पहाडी, देवेन्द्र खापुङ, सीता तुम्खेवा, राधिका कल्पित, विजय हितान, गोविन्दमान सिंह कार्की, तीर्थराज भट्ट, योगराज राजन, रितेश त्रिपाठी, विमला गुरुङ, प्रगति राई, प्रकृति थारु, शिलाखा ताम्बुले, जर्नादन अधिकारी, रवीन्द्र आशिष, जायस जया, सङ्गीता काली, शशीश्री आचार्य, चेतनाथ धमला, शनि लिम्बु, उत्तम तुम्सा, स्वप्निल स्मृति, सुनिल आङबो, मिरा श्रेष्ठ, शनि लिम्बु, जमुना पौडेल, कर्ण दयाल, रश्मि रिमाल, सुशीला निनाम राई, प्रतापसिंह नाछिरिङ, निरन्ता तुम्बापो, दीपा लक्सम, सीता तुम्खेवा, डोल्मा शेर्पा, दसीराम थारु, परशुराम थारु लगायतले सिर्जना वाचन तथा मिडिया योगदान गरेका थिए ।

    कार्यक्रमको सभापतित्व एनआरएनए आइसिसी उपाध्यक्ष तथा भाषा साहित्य समितिका संयोजक विश्वास दीप तिगेलाले गरेका थिए भने प्रज्ञा परिषद्का सदस्यसचिव डा. धनप्रसाद सुवेदीले सहभागीलाई स्वागत गर्दा कार्यक्रम  सञ्चालन भाषा साहित्य समितिका सदस्य अमित थेबेले गरेका थिए ।

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, २३ असोजः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा कायम गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६ पैसा कायम भएको छ । 

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा तोकिएको छ । 

    यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुयैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८० पैसा ताकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 

  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    काठमाडौँ, २३ असोजः आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ ।

    ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१  मा आज  सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो ।

    नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो । 

    कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६  तथा यासिन पटेलले १९ रन जोडे । 

    बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई –दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी  र नन्दन यादवले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ५६  बलमा तीन छक्का र तीन चौकासहित  ६६ रन बनाए । यस्तै,  गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए । 

    कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई–दुई  विकेट लिए ।  मोहम्मद आकिफ फरुकले एक विकेट लिए । अब नेपालले समूह चरणको अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ ।

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, २२ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

    साथै युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिदर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिदर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १५ रुपैयाँ १० पैसा र बिक्रीदर १५ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिदर २२ रुपैयाँ १३ पैसा र बिक्री दर २२ रुपैयाँ २३ पैसा तोकिएको छ । 

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ६२ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६४ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिदर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६८ रुयैयाँ १४ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ७० पैसा रहेको छ । साथै भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।