Author: Dwarika Pokhrel

  • अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल

    अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल

    काठमाडौँ, २२ असोजः पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्व विभागले रोकेर अलपत्र परेको सम्बन्धी राससमा समाचार प्रकाशित भएपछि अलपत्र पुल निर्माण सम्पन्न भएको छ । 

    राष्ट्रिय समाचार समिति (रासस) ले गत साउन दोस्रो साता पुल नबन्दा साउनमा पशुपति क्षेत्रमा आएका भक्तजनलाई समस्या परेको समाचार तस्बिरसहित प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि काठमाडौँ महानगरपालिका पुलको निर्माण पुरानै स्वरुपमा बनाउन सहमत भएको थियो ।  

    काठमाडौं महानगरपालिकाले ठेक्का गरी पुनःनिर्माणका लागि भत्काइएको सात महिना बितिसक्दा पनि पुलको काम अघि नबढेपछि त्यसबेला आवतजावतमा समस्या भएको थियो । विश्वसम्पदा क्षेत्रमा निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत पुल पुनःनिर्माण सुरु गरेपछि पुरातत्व विभागले पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै रोकेको थियो । 

    विभागका प्रवक्ता रामबहादुर कुँवरले निर्माण व्यवसायीले आधुनिक निर्माण सामग्री राखेर पुल निर्माण गर्न खोजेपछि पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै पुनःनिर्माण रोकेकामा प्राचीन सामग्रीकै प्रयोगबाट बनाउन सहमत भएपछि बनाउन अनुमति दिएको बताउनुभयो ।

    काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सँगत विभागले दिएको निर्देशन अनुसारकै निर्माण सामग्रीको प्रयोग गरेर पुल निर्माण गरिएको बताउनुभयो । 

    पुल नबन्दा विशेषगरी पशुपति क्षेत्र आउने भक्तजनलाई समस्या भएको थियो । विगतमा भएको पुलबाट मोटरसाइकल ट्याक्सीलगायत साना सवारी आवतजावत गर्न सजिलो भए करिब एक वर्षदेखि कुनै साधन गुड्न पाएका थिएनन् । जसले गर्दा भक्तजन घुमेर गुह्येश्वरी मन्दिर जान बाध्य भएका थिए । पैदलयात्रुलाई समेत पुल अलपत्र हुँदा अप्ठ्यारो अवस्था आएको थियो ।

    गुह्येश्वरीमा बसेर धार्मिक अभियान चलाउँदै आउनुभएका धर्मराज बराल विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा पुल निर्माण नहुँदा घुम्न आउने पर्यटकलाई पनि समस्या भएको बताउनुहुन्छ । पुरानो पुल भत्काउँदा निकालिएका इँटाको संरक्षण नहुँदा चोरी भएको स्थानीयको भनाइ छ । 

    सुरुमा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखेको इँटा भेटिए पनि ती हराएको गौरी आध्यात्मिक मासिक पत्रिकाका सम्पादक समेत रहनुभएका स्थानीय अर्जुन लामिछानेले बताउनुभयो । ऐतिहासिक एवं पुरातात्विक महत्वका ती इँटा कहाँ गए भनेर सरोकार भएका निकायले जवाफ दिनुपर्ने उहाँको माग छ ।

  • देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

    देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

    काठमाडौँ, २२ असोजः कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।  

    बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित कृषकको अवस्थाबारे विवरण सङ्कलन गरिने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्याङ्क सङ्कलन गरिने छ ।

    बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनपछि तथ्याङ्कको आधारमा किसानले गरेको योगदानको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ । 

    मन्त्रालयले किसानले बाली तथा पशु धनमा बिमा गरेको भए त्यसको सहजीकरण मल, बिउ विजन, प्रविधि, प्राविधिक सिपलगायतमा सहयोग उपलब्ध गराउने तथा आवश्यकता भएको स्थानमा क्षतिपूर्ति समेत उपलब्ध गराउने जनाएको छ । 

    विवरण प्राप्त भएपछि तथ्याङ्कका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण र कार्यान्वयन गरिने सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।-

  • प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

    प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

    काठमाडौँ, २१ असोजः जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए ।

    त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् ।

    गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।

    मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो ।

    प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए । यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधार गृहबाट नौ सय ६३ बालबन्दी भागेका थिए ।

    सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको थियो । कारागार कार्यालयहरुले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार कैदीबन्दीलाई प्रचलित कानुनबमोजिमको कारबाही गरिने विभागको भनाइ छ ।

    कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार छ सय ४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा कारागार छैनन् ।

  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर


    काठमाडौँ, २१ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

    साथै युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ ३६ पैसा र बिक्रीदर १९१ रुपैयाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।
         
    अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९०, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
     
         केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिदर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिदर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिदर २२ रुपैयाँ  १६ पैसा र बिक्री दर २२ रुपैयाँ २६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिदर ३७६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६८ रुयैयाँ १९ पैसा र विक्रिदर तीन सय ६९ रुपैयाँ ७५ पैसा रहेको छ ।
         
    भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
         
    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • आदिनाथमा एकमहिने मेला सुरु

    आदिनाथमा एकमहिने मेला सुरु

    काठमाडौँ, २१ असोजः कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौँको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो । 

    मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति राखिएका छन् । जसलाई अर्धनारेश्वर ‘आदिनाथ’ भनिन्छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रूपमा आस्था प्रकट गर्ने गर्दछन् । कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजन सहभागी हुने गर्दछन् । 

    मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र  समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि छ । 

    बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्ध धर्मावलम्बको विश्वास छ । लिच्छवीकालीन राजा अंशुबर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्त्विक महत्वको छ । 

    हिन्दू धर्मावलम्बीले शिवशक्तिका रूपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रूपमा आदिनाथलाई पूजा गर्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रूपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । मेला अवधिभर प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ ।

    काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त मन्दिर नजिकै चोभारडाँडाबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । उक्त मन्दिरबाट नजिकै रहेको मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह पनि धार्मिक महत्वका स्थल हुन् ।

  • इलाम पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३७, सबैको सनाखत

    इलाम पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३७, सबैको सनाखत

    फिक्कल (इलाम), १९ असोजः इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

    पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृती सोङमी रहेका छन् । 

    यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन् । 

    यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ । 

    पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा  सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ । 

    पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् । यस्तै, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ । 

    यस्तै, इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उहाँको  खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको पनि उहाँले जानकारी दिनुभयो । “सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ”, कोइरालाले भन्नुभयो, “सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ, तथापि हामी लागिरहेका छौँ ।”

  • वैशाखयता विपद्मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

    वैशाखयता विपद्मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

    काठमाडौँ, १९ असोजः यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ ।

    आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणकी प्रवक्ता शान्ति महतले आज मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताउनुभयो । सबैभन्दा बढी आज इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको रे पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

    प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ । त्यसपछि पहिरोमा परेर ४६ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो ।

    प्राधिकरणले आज सार्वजनिक गरेको विपद्जन्य घटनाको अभिलेखमा बाढीका कारण ३०, भारी वर्षाबाट छ, आगलागीबाट २३, हावाहुरीका कारण आठ, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ ।

    यस्तै, बाढीबाट २३ जना, पहिरोका कारण तीन र जनावरको आक्रमणबाट एकजना बेपत्ता भएका छन् । हालसम्म चार हजार ६५ वटा विपद्जन्य घटना भएको र ती घटनामा परेर एक हजार ७२ जना घाइते भएको पनि प्रवक्ता महतले बताउनुभयो । कुल सात हजार २११ प्रिवार ती विपद्बाट प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

  • उपत्यका आसपासका नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अपनाउन अपिल

    उपत्यका आसपासका नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अपनाउन अपिल


    काठमाडौँ, १८ असोजः निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ । जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ ।

    विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जलसतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । “खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल चार दशमलव दुई मिटर जलसहत पुगेको छ । यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक  छ,” उहाँले भन्नुभयो ।
    
    विभागका अनुसार काभ्रेस्थित रोसी, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जलसतह सतर्कता तह पार गरेको छ । बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी–नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ । आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
  • तीन दिनसम्म लामो दूरीका र काठमाडौँ भित्रिने वा बाहिरिने सवारी साधन बन्द

    तीन दिनसम्म लामो दूरीका र काठमाडौँ भित्रिने वा बाहिरिने सवारी साधन बन्द

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सवारी साधन आवतजावत बन्द गर्ने भएको छ । 

    शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने ÷ बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको जानकारी दिएको हो ।

    भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न सवारी साधन आवतजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

    ‘उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक वाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने ÷ बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

    प्राधिकरणले असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरु रेडियो, टेलीभिजन, अनलाइन संचार माध्यम, सामाजिक संजाल लगायतबाट प्राप्त गर्नु हुन समेत अनुरोध गरेको छ ।

  • राति यात्रा नगर्न सडक विभागको अनुरोध

    राति यात्रा नगर्न सडक विभागको अनुरोध


    काठमाडौँ, १७ असोज: जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ ।

    वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।

    साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।