विराटनगर, २१ भदौः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसको आसत्र महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिनुभयो । तत्काल सरकारका मन्त्रीहरु हेरफेर नहुने सभापति देउवाले स्पष्ट पार्नुभयो । उहाँले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गर्नुभयो ।
पाटन (ललितपुर), २१ भदौः सभामुख देवराज घिमिरेले स्वास्थ्य चुनौती एक देशको समस्या मात्र नभएकाले अन्तरराष्ट्रिय समुदाय मिलेर यसकोे समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले स्वास्थ्य समस्या एक देशमा मात्र सीमित नरहेका, ती विश्वव्यापी छन् भन्दै तिनको समाधान पनि सामूहिक रुपमा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साझा दृष्टिकोण र सहकार्यद्वारा समस्याको समाधान खोजौँ, यो अन्तरराष्ट्रिय सहभागिताले त्यस दिशामा काम गरोस् ।”
सभामुख घिमिरेले ज्ञान, प्रविधि र सहकार्यका तीन आधारस्तम्भलाई एउटै मञ्चमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा चीन, भारत र नेपालका स्त्री रोगविशेषज्ञ सहभागी छन् ।
देशकोे संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा व्याख्या गरेको बताउँदै सभामुख घिमिरेले स्वास्थ्यसम्बन्धी नीतिनिर्माणमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले महिला स्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको बताउँदै सन् २००० यता मातृ मृत्युदर ७० प्रतिशतले घटेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य चन्दा कार्कीले देशका ग्रामीण क्षेत्रमा प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि सरकारीस्तरमा नै आवश्यक प्रयास हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विकास देवकोटाले स्त्रीरोग सेवालाई प्रभावकारी बनाउन सरकारले तल्लो तहदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम जनसम्पर्क समन्वय विभागको प्रमुख किरण पौडेलले हाल पार्टीको १५ औं महाधिवेशन केन्द्रीत गतिविधिहरु भइरहेकाले समयसीमा भित्रै महाधिवेशन हुने बताएका छन् ।
विदेशमा पार्टीको संजाल विस्तार गर्नेक्रम जारी रहेको बताएका उनले महाधिवेशनलाई नै केन्द्रीत गर्दै विदेशस्थित जन सम्पर्क समितिहरुको अधिवेशनको तयारी भइरहेको पनि बताए ।
जनसम्पर्क समितिलाई आश्विन मसान्तसम्म सबै देशले नवीकरण गरेर नयाँ सदस्य बनाएर केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन भइसकेकाले सम्पर्क समितिहरुले समयमै अधिवेशन सम्पन्न गर्ने दाबी पनि गरे ।
‘हामी महाधिवेशनको तयारीकै चरणमा छौं । कांग्रेससँग आबद्ध विदेशस्थित जति जनसम्पर्क समितिहरू छन्, ती समितिहरू कांग्रेसको १४ औं महाधिवेशनभन्दा अगाडि सबैको अधिवेशन भएकाले १५ औं अघिपनि कुनै देशको रोकिदैन् । पार्टीको विधानअनुसार लगभग तीन वर्ष जनसम्पर्क समितिको पदावधी हुने र त्यो समय समाप्त भइसकेकाले अधिवेशन समयमै सकिन्छ,’ उनले भने ।
देशहरूको अधिवेशनको लागि पार्टी केन्द्रीय समितिको हालैको बैठकले निर्देशन गरिसकेकाले साउन महिनाभित्र सबै प्रक्रिया सुरु गरेर आश्विन मसान्तसम्म त्यसको सदस्यता नवीकरण गरिसक्ने र पुस मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने केन्द्रले निर्देशन भएकाले सोही अनुसार तयारीमा लाग्न पनि उनले आग्रह गरेका छन् ।
सदस्यता वितरण पुरानै विधि र प्रक्रियाबाट भइरहेको उल्लेख गरेका उनले कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको फारामहरु सबै देशमा पठाएइएकाले सोही अनुसार क्रियाशिलता वितरण गर्न पनि अनुरोध गरेका छन् ।
उनले भने,‘ क्रियाशिलता सम्बन्धित देशको जनसम्पर्क समितिले नै सदस्यता वितरण गर्छ । अनलाइन पठाउने हो भने गुगलको सहायतामा फर्म डेभलप गरेर अनलाइनबाट पठाउन पनि सक्छन् । अहिलेसम्मको चलन फिजिकल्ली नै हो । फर्म नै भरेर पठाउने चलन छ । अनलाइन प्रणाली सुरु भइसकेको छैन् । भविष्यमा सदस्यताका लागि सफ्टवेयर बनाएर अनलाइन प्रणालीमार्फत पनि सदस्यता लिने अवधारणा बनाइएको छ ।’
३७ देशमा जन सम्पर्क समिति भइसकेकाले अन्य देशमा पनि विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘तथ्यांकलाई हेर्दा २९ वटा देशमा २९,७०० क्रियाशील सदस्यहरू हुनुहुन्छ । ३७ देशमा जनसम्पर्क समिति छ र केही देशले गठन गर्नको लागि निवेदन दिनुभएको छ । अब छिट्टै नै अरु थप देशहरूमा पनि सम्पर्क समितिको विस्तार गर्छौँ। लगभग चारवटा देशको आइसकेको छ,’ उनले भने ।
१४ औं महाधिवेशनमा सदस्यता लिएकाहरुलाई कार्ड बनाएर पठाइने उनले बताए । जनसम्पर्क समितिहरुले नियमित अधिवेशन सम्पन्न गर्दै आइरहेकाले १५ महाधिवेशनअघि सबै देशको अधिवेशन सम्पन्न हुने दाबी पनि गरे । एनआरएनएबारे सर्वोच्च जिम्मेवार हुनुपर्छ
गैर आवासीय नेपाली संघ(एनआरएनए)मा देखिएको विवादका सम्बन्धमा सबैभन्दा बढी जिम्मेवार भनेको सर्वोच्च अदालत नै भएको पौडेलको दाबी छ ।
एनआरएनएबारे सर्वोच्च अदालतमा मुद्दाहरु विचाराधिन अवस्थामा रहेकाले यस्ता मुद्दाहरुको चाँडो फैसला गरेर संस्थालाई लयमा फर्काउनुपर्ने उनको सुझाव छ ।
‘एनआरएनए भनेको गैर राजनीतिक संगठन हो । दलीय राजनीतिक प्रभावका कारणले एनआरएनएमा असर परेको हुनसक्छ । जनसम्पर्क समितिका साथीहरु एनआरएनएका विभिन्न समूहमा हुनुहुन्छ । जसका कारण सम्पर्क समितिमा पनि यसको असर परेको छ । त्यसैले यसमा अलिकति समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ,’उनले अगाडि भने,‘एनआरएनए वास्तवमा एकताबद्ध हुनुपर्छ र गैरराजनीतिक संस्थाको रूपमा स्थापित हुनुपर्छ । र जुन साख थियो, जुन इज्जत थियो र गैरआवासीय नेपाली साथीहरूलाई जुन खालको मर्यादा थियो वा उहाँहरूप्रति जुन खालको विश्वास थियो, त्यो विश्वासलाई पुनः कायम गर्नको लागि तयार हुनुपर्छ । त्यसका लागि जन सम्पर्क समितिबाट मैंले निरन्तर पहल गरिरहेको छु,’ उनले भने,‘जन सम्पर्क समितिमा आवद्ध साथीहरु एनआरएनएका दुई समूहमै क्रियाशील हुनुहुन्छ । तर एनआरएनएले आफ्नो साख बचाउनको लागि सबै एक ठाउँमा आउनैपर्छ ।’
एकताबद्ध एनआरएनए आजको आवश्यक्ता भएपनि मुद्दा मामिलाका कारण समस्या आइरहेको उनले बताए । सर्वोच्च अदालतमा एनआरएनए सम्बन्धि मुद्दालाई चाँडो निकास दिनुपर्ने उनको धारणा छ । ‘सर्वोच्च अदालतले पेसीको रूपमा पटक पटक सार्दै गइराखेको छ । यस्तोबेला नेपालका सबै दलहरूले आह्वान गरेर संस्थालाई लयमा फर्काउने प्रयास गर्नुपर्छ । सर्बोच्च अदालतले पनि एनआरएनए सम्बन्धि मुद्दालाई छिटोभन्दा छिटो निकास दिएर समाधान गर्ने, चाँडो फैसला गरिदिएर एउटा बाटो खोलिदिनुपर्छ,’ उनले भने ।
सर्वोच्च अदालतले गरेको परमादेशलाई स्वीकार गर्नुपर्ने भन्दै पौडेलले अदालतको आदेशलाई कसैले काट्न पनि नसक्ने दावी गरे ।
‘यो संस्थाभित्रको विभाजन नवौं अधिवेशनपछि देखिन थालेको हो । तर हाल शेष घलेको नेतृत्वमा उच्चस्तरीय समितिले सर्वोच्चको परमादेश अनुसार अधिवेशन गरायो । सोही अधिवेशनमा डा.बन्द्री केसीको समूहपनि सहभागि हुनुपर्ने थियो, हुनुभएन । उहाँहरुले सर्वोच्चले आफूलाई नै निरन्तरता दिएको दाबी गर्नुभयो । यहाँनिर सर्वोच्चको भूमिका स्पष्ट हुनुपर्नेथियो । सर्वोच्चकै कारण उहाँ एकै ठाउँ हुन सक्नु भएको छैन्,’ पौडेलले अगाडि भने,‘यतिबेला सबैले सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन् । अब फैसला आएपछि मलाई लाग्छ बहुसंख्यक साथीहरू महेश श्रेष्ठतिर लाग्नुहुन्छ र त्यही नै आधिकारिक हुन्छ जस्तो लाग्छ।’
सर्वोच्चको ढिलासुस्ती र सरकारको नीतिका कारण गैर आवासीयहरुको लगानी नेपालमा भित्रन नसकेको उनको भनाइ छ । ‘नेपाल सरकारको जुन नीति छ, त्यो नीति नै लगानी भित्र्याउने कुरामा अलिकति बाधक छ । हाम्रो ब्यूरोक्रेसी पनि बाधक छ। ब्यूरोक्रेसीलाई सुधार्ने, आर्थिक नीतिलाई सुधार्ने, मौद्रिक नीतिलाई सुधार्ने, राष्ट्र बैंकलाई अलि सहज बनाउने र विदेशी लगानीलाई सहजै ल्याएर लगानी गर्नसक्ने वातावरण गराउन आवश्यक छ ।’ संस्था विभाजित हुँदा लगानी भित्र्याउन पनि कठिनाइ भएको उनले बताए ।
दोधारा चाँदनी (कञ्चनपुर), २१ भदौः गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा आज आयोजित रक्तदान कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट गर्नुभयो । उहाँले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
“वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको छ, २०७२ सालमा संविधान बने पनि निजामती सेवा विधेयक सदनबाट पारित हुन सकेको थिएन,” गृहमन्त्री लेखकले भन्नुभयो,“निजामती सेवा, शिक्षा ऐनलगायत विधेयक पारित हुने क्रममा छन् ।” उहाँले निजामति सेवा विधेयक यसै महिना पारित हुने बताउनुभयो ।
दमौली (तनहुँ), २० भदौ : तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो ।
सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उहाँले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गर्नुभएको हो । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उहाँले बताउनुभयो । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उहाँको भनाइ छ ।
नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडीफलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट रु २० लाख आम्दानी भएको थियो । यसपटक चौथो छिमलको ड्रागन बजारमा पुर्याउँदा रु आठ लाख ५० हजार आम्दानी भइसकेको उहाँले उल्लेख गर्नुभयो । ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ ।
उहाँले भन्नुभयो, “यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन ।” आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ ।
दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ । यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ ।”
ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उहाँको भनाइ छ । उहाँले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाउनुभएको छ । यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ ।
सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन । यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ ।
काठमाडौँ, २० भदौः गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो ।
प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा रु १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१/८२ मा रु १९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा उक्त क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या रार्क राष्ट्रबाट ४७ हजार ३९९ जना रहेकामा अन्य देशबाट आउने सङ्ख्या एक लाख ५३ हजार २६२ जना रहेका थिए ।
त्यसैगरी गत आवमा सार्क राष्ट्रबाट ५० हजार ५३३ जनाले अवलोकन गरेकामा अन्य देशका एक लाख ६९ हजार ३९५ जानले उक्त क्षेत्रको अवलोकन गरेका छन् । अघिल्लो आवभन्दा गत आवमा पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको प्रधानको भनाइ छ ।
सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि रु ५०० निर्धारण गरिएको छभने अन्य मुलुकबाट आउने पर्यटकका लागि रु एक हजार निर्धारण गरिएको छ । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।
उक्त स्थान अवोकनका लागि जुनसुकै समयमा गर्न सकिने भए पनि जीवित देवी कुमारी हेर्नका लागि भने बिहानका लागि ११ः०० देखि १२ः३० सम्म र साँझ ५ः०० देखि ८ः०० बजेको समय तोकिएको छ ।
हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक सात सयसम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानको भनाइ छ ।
यस वर्ष पनि ऐतिहासिक इन्द्रजात्रा नजिकिँदै गर्दा आशाअनुरूप पर्यटक आउने विश्वास रहेको बताइएको छ । उक्त स्थान र इन्द्रजात्राको एकैपटक अवलोकन गर्न पाउने भएकाले उक्त क्षेत्रमा इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरपालिकाले छिमेकी स्थानीय तहका प्रतिनिधि र विदेशी पाहुनालाई पनि इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गर्दै आएको छ ।
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान बीच यही साउन २ गते पार्टी एकता गर्ने सहमति भएको छ ।
अध्यक्ष नेपाल र गौतमले आज पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरिएको उल्लेख छ ।
काठमाडौं : आज कार्तिक शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।
बेलुकी ०५ : ११ मा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्ने छ ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ ।
बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । त्यस्तै बेलुकी ०५ : २७ बजे ग्रहणको उन्मीलन हुनेछ ।
नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिए पछि बेलुकी ०६ : ३४ बजे भने ग्रहण सकिन्छ । चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ।
ग्रहणका बेला जप, स्नान,ध्यान,पाठ लगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ ।
आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुर्याउन सो केन्द्र सञ्चालनमा ल्याएको हो ।
आयोगले आजदेखि पहाडी जिल्लाका मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ ।
आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका रापत्राङ्कित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरु रहने छन् ।
निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन ९पहिलो संशोधन० निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ ।