Author: Dwarika Pokhrel

  • टेनिसमा चार स्वर्ण सहित आर्मी टिम च्याम्पियन

    टेनिसमा चार स्वर्ण सहित आर्मी टिम च्याम्पियन

    कास्की : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ ।

    यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्वितीय बन्न सफल भएको छ ।

    बागमती प्रदेशले एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जितेको हो । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले भने एक रजतमा जित्यो ।

    त्यस्तै आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जिते ।

    पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको अन्तिम चरणको प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट् हाडालाई ७–६, ६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जितेका हुन् ।

    यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१, ६–६ सेटमा पराजित गर्दै स्वर्ण पदक जिते ।

    पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य पदक जिते ।

    महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जिते ।

    पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडीले रजत पदक जितेको छ ।

    महिला युगल विधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाहको जोडीले रजत पदक जितेको छ ।

    टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जित्यो ।

  • अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

    अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ५४ पैसा छ भने बिक्रीदर एक सय ३३ रुपियाँ १४ पैसा छ ।

    केन्द्रीय बैंकले अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपियाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपियाँ आठ पैसा तोकेको थियो ।

    त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपियाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपियाँ २४ पैसा छ ।

  • निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न

    निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न

    काठमाडौँ : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आजसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

    छापिएका मध्ये प्रतिनिधिसभा तर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेशसभातर्फको मतपत्र ५० लाख २४ हजार रहेको पनि आयोगले जनाएको छ ।

    आयोगका अनुसार प्रतिनिधिसभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।

    त्यस्तै प्रदेशसभाका लागि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।

    आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ।

  • सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    प्रहरीले सात दिनको समय माग गरेपनि अदालतले चार दिन मात्र म्याद थप गरी कात्तिक ६ गते आइतबार प्रतिवेदन सहित पेस गर्न अनुमति दिएको हो ।

    पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

    प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं समक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।

    २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलो पटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।

  • शताब्दी पुरुष सत्यमोहन जोशीको निधन, अन्तिम संस्कार भने नहुने

    काठमाडौं : नेपाली वाङ्मयका अविच्छिन्न साधक सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।

    १०३ वर्षको उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा किष्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको हो।

    २४ दिन अघि अस्पतालमा भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

    शताब्दी पुरूष जोशीको शरीर भने नजलाउने निर्णय भएको छ।

    यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।

    आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।

    शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।

  • बडादशैँको तेस्रो दिन

    बडादशैँको तेस्रो दिन

    काठमाडौँ : बिजया दशमी एवं नवरात्रको आज तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

    नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

    चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत–सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् ।

    आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने गर्दछ ।

    नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ ।

  • रुसको विद्यालयमा चलेको गोलीले १३ जनाको मृत्यु

    रुसको विद्यालयमा चलेको गोलीले १३ जनाको मृत्यु

    रुस : रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

    रुसी अनुसन्धान निकायलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले बताए अनुसार मध्यपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै अवस्थित विद्यालयमा भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ ।

    घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।

    आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ ।

    घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

  • दसैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने अनुमान

    दसैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने अनुमान

    काठमाण्डौ : बिजया दशमीको अवसरमा काठमाडौं उपत्यकाबाट घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ ।

    हाल दैनिक रुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या ५० हजार भन्दामाथि रहेको छ ।

    यस पटक दसैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको छ ।

    दसैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

  • सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण

    सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण

    काठमाडौँ : सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएकोले किस्ट अस्पतालमा भर्ना भएका छन्।

    पिसाबमा संक्रमण र डेंगु देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ।

    कमजोर महसुस र खानामा अरुचि भएपछि जोशीको स्वास्थ्य परीक्षण गर्दा डेंगु पुष्टि भएको बताइएको छ।

    १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ।

  • पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    भरतपुर : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

    गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    हाल दुवैतर्फ सडक अवरुद्ध भएकोले जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।