Author: Dwarika Pokhrel

  • पाकिस्तानमा डेङ्गु ज्वरो लगातार बढ्दै

    पाकिस्तानमा डेङ्गु ज्वरो लगातार बढ्दै

    पाकिस्तान : पाकिस्तानमा डेङ्गु ज्वरोको लगातार फैलिरहेको पाइएको छ । देशको दक्षिणी प्रान्त सिन्धमा मात्रै हालसम्म डेङ्गु ज्वरोका कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

    मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीका रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ डेङ्गुका बिरामी फेला पारिएको विभागले जानकारी दिएको छ ।

    सेप्टेम्बर महिनामा बिरामी भएकाहरुको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ ।

    उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।

    यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ जना यस रोगबाट बिरामी भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमा कुल बिरामीको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ ।

    यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

    पञ्जाबको राजधानी लाहोरमा एक सय पाँच जना बिरामी भएका छन् । रावलपिण्डी सहरमा ५४ जनामा यस रोग देखिएको छ । यस बर्ष रावलपिण्डीमा कुल बिरामीको सङ्ख्या तीन हजार ६ सय ४५ पुगेको छ ।

  • काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

    काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

    काठमाडौं : राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

    महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड। डिजिटल बोर्ड । अन्य माध्यम समेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ।यस्ता विज्ञापन आजदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ।

    उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ।

    सूचना उल्लंघन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। रासस

  • ८० प्रतिशत हवाई टिकटको अग्रिम बुकिङ

    ८० प्रतिशत हवाई टिकटको अग्रिम बुकिङ

    काठमाडौँ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् ।

    केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् ।

    हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

    त्यस्तै बुद्ध एयरले हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । दशैँ आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ ।

    हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । रासस

  • मुड्खु–तीनपिप्ले सडकको ठेक्का, चार महिनाभित्र सडक निर्माण कार्य सकिसक्नुपर्ने प्राबधान

    मुड्खु–तीनपिप्ले सडकको ठेक्का, चार महिनाभित्र सडक निर्माण कार्य सकिसक्नुपर्ने प्राबधान

    काठमाडौँ : बालाजु–रानीपौवा सडक अन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डको ठेक्का कमलजीत–ड्रागन जेभीलाई दिने तयारी भएको छ ।

    कम आर्थिक प्रस्ताव पेश गरेको उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने अन्तिम तयारी रहेको सडक विभागले जनाएको छ ।

    ठेक्का रकम १५ करोड रुपैयाँ रहेको र चार महिनाभित्र सडक निर्माणको काम सकिसक्नुपर्ने प्राबधान रहेको बताइएको छ ।

    तोकिएको समयमा सडक निर्माणको काम नसकिए ठेक्काको म्याद नथपिने सडक विभागले जनाएको छ । बालाजु–रानीपौवा सडक टुक्र्याएर ५.५ किलोमिटर दूरीको बीचको खण्ड ‘फास्ट ट्रयाक’मा स्तरोन्नति गर्न ठेक्का गरिएको हो ।

    बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।

    सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोडेको थियो ।

  • २१ खेलाडी विभूषित हुदै

    २१ खेलाडी विभूषित हुदै

    काठमाडौँ ः नेपाल सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका २१ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने भएको छ ।

    मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरू लाई विभिन्न विभूषणबाट विभूषित गर्न लागिएको हो ।

    तेक्वान्दोका पूर्व कीर्तिमानी खेलाडी दीपक विष्ट प्रबल जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् ।

    पौडीमा ओलम्पियन बनेकि गौरिका सिंह राष्ट्रदीप पदकबाट विभूषित हुने भएकी छन् ।

    यस्तै जनसेवाश्री पदकबाट भलिबल प्रशिक्षक जगदीश भट्ट, लगायत १९ जना विभूषित हुने भएका छन् ।

    सरकारले यस वर्ष ९ सय ९८ जनालाई विभिन्न मानपदवी र अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।

  • चीनको एक खानीभित्र बाढी पस्दा चौध जनाको मृत्यु

    चीनको एक खानीभित्र बाढी पस्दा चौध जनाको मृत्यु

    बेइजिङ : राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा रहेको हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

    यो महिनाको सुरुमा पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको चीनका सरकारी अधिकारीहरूले आइतबार जनाएका छन् ।

    खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ ।
    रासस

  • बडा दशैको अवसरमा खुल्यो सुपथ मूल्य पसल

    बडा दशैको अवसरमा खुल्यो सुपथ मूल्य पसल

    काठमाडौँ : नेपाल सरकारले बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौँ उपत्यका सहित देशभर सुपथ पसल सञ्चालनमा ल्याएको हो ।

    उक्त सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताए ।

    कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दसैँ, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन गरिएको छ ।

    राजधानी काठमाडौँ सहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकै पटक सञ्चालनमा ल्याइएको छ । काठमाडौँको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्य विनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।

    आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ ।

    प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ । सुपथ पसलमा मासुजन्य वस्तुमा रु १० तथा खाद्यान्न सामग्री र तेलमा रु ७ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्याङ्ग्रालगायत बिक्रीमा हुनेछन् ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसी बोका र च्याङ्ग्रा खरिद तथा बिक्री गरिने जनाएको छ ।

  • भारतलाई हराउँदै नेपाल फाइनलमा

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौँ : भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १.० गोलले पराजित गरेको हो।

    नेपालले मध्यान्तर अघिको खेलमा गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरेकी हुन् ।

    मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।

    नेपालले फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।

  • दसैं टिकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा

    दसैं टिकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा

    काठमाण्डौ : आउदै गरेको विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

    त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।

    टिका लगाउदा पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने समितिले जनाएको छ।

    असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ।

  • बढ्यो विदेशी मुद्रा सञ्चिति पर्याप्तता

    बढ्यो विदेशी मुद्रा सञ्चिति पर्याप्तता

    काठमाडौँ : विदेशी मुद्राको सञ्चिति घटेतापनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ ।

    नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ) बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

    असार मसान्तसम्म सञ्चिति विदेशी मुद्राबाट ६.९४ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्थ्यो । त्यस्तै साउनसम्म सञ्चित रहेको विदेशी मुद्राबाट ९.४ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

    विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचकमा सुधार आए पनि विदेशी मुद्राको सञ्चित रकम भने घटेको छ । असारसम्म नौ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा साउनमा १२ करोड डलर घटेर नौ अर्ब ४२ करोड डलर कायम भएको छ ।