Author: Dwarika Pokhrel

  • लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगर्न आयोगको निर्देशन

    लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगर्न आयोगको निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ।

    साथै आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन पनि निर्देशन दिएको छ।

    आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय भई तयारीका कार्यहरू भइरहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ आगामी असोज २ र ३ गते उम्मेदवार मनोनयनको बन्दसूची पेश गर्ने कार्यक्रम रहेको सन्दर्भमा आयोगले सो निर्देशन दिएको हो ।

    आयोगले निर्वाचनका अन्य कार्यक्रम पनि सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ ।

    निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र आयोगलाई दिन राष्ट्रिय भूमि आयोग ताहाचल, काठमाडौँलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    त्यसैगरी सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोेर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, सातवटै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय तहलाई आयोगले निर्देशन दिएको छ ।

  • दसैंका लागि नयाँ नोट सटही सुरु

    दसैंका लागि नयाँ नोट सटही सुरु

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आजबाट सर्वसाधारणका लागि नयाँ नोट सटही सुरु गरेको छ।

    यस वर्षको दसैं, तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले १० अर्ब नयाँ नोट सटही गर्ने अनुमान गरेको छ।

    काठमाडौं उपत्यका भित्रका वाणिज्य बैंकका शाखाहरुबाट ग्राहकलाई नयाँ नोट उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको छ।

    बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले भदौ २२ गतेदेखि नयाँ नोट सटही सुविधा दिएको थियो।

    निजी बैंकले भने असोज २ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिनेछन्।

    काठमाडौं उपत्यका बाहिरको हकमा केन्द्रीय बैंकको प्रदेश स्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने छ।

    जिल्लाका बैंकहरुमा पनि करिब ५० करोड रुपैयाँ नयाँ नोट दिइएको छ।

    सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक/एक पाकेट गरी प्रति व्यक्ति अधिकतम १८ हजार ५ सयका नयाँ तथा सफा नोट सटही गर्न पाउनेछन्।

    सर्वसाधारणले असोज ७ गतेसम्म राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट नयाँ नोट सटही गर्न पाउनेछन्।

  • ११ महिनादेखि ९ जना नेपाली यूएईको जेलमा

    ११ महिनादेखि ९ जना नेपाली यूएईको जेलमा

    यूएई : वैदेशिक रोजगारीका लागि भिजिट भिसामा दुबई गएका ९ जना नेपाली ११ महिनादेखि यूएईको जेलमा थुनिएका छन् ।

    उनीहरूलाई अहिले फुजेरा राज्यको सेन्ट्रल जेलको ब्रोडर उड ब्लकमा राखिएको छ।

    यसरी जेल पर्नेहरुमा धरानका साजन राई, स्याङ्जाका शिव बहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्दी बहादुर थिङ, नवलपरासीका चोप बहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुजेल, सिन्धुपाल्चोककै बिनोद लामा र पाल्पाका सुर्य बहादुर नेपाली रहेका छन्।

    उद्दार गरिदिन उनीहरुले नेपाली दूताबास अबुधाबीलाई पत्र मार्फत अनुरोध गरेका छन्।

    पत्रमा आफूहरू ११ महिनादेखि बिना कारण फुजेरा जेलमा फसेको बताएका छन्।

    आफूहरू दुबई आएपछि चिनियाँ नागरिकले भिसा लगाइदिन्छु भन्दै ८ महिनासम्म बन्धक बनाएको पनि पत्रमा उल्लेख गरेका छन्।

    दुबई पुगेपछि दुबइको इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्ला (घर)मा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएको र घर बाहिर कतै जान नदिएको उनीहरुले बताएका छन्।

    उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका गरिएको छ।

  • राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लीको भेटवार्ता हुँदै

    राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लीको भेटवार्ता हुँदै

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता हुने भएको छ ।

    राष्ट्रपति भण्डारीसँग चान्शले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनिहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

    मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको थियो ।

    अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

  • साउन यता ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण

    साउन यता ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण

    काठमाडौँ । साउन महिनादेखि हालसम्म नेपालमा ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    बाग्मती प्रदेशमा सबैभन्दा बढी ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूर पश्चिममा २ सय ७१, गण्डकीमा २ सय २, मधेश प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा ६६ जना डेगूंका बिरामी फेला परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

    ७५ जिल्लामा फैलिएको डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ३९ स्थानीय तह, ६० जिल्ला र ७ वटै प्रदेशमा “खोज र नष्ट गर” अभियान सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै सरकारले भाद्र ९ गतेदेखि ललितपुर स्वास्थ्य कार्यालय तथा महानगरपालिकाका वडाहरुसगँको सहकार्यमा सामूहिक डेंगु अनुसन्धान तथा लार्भा नष्ट कार्य सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ ।

  • शशांक कोइराला र बिनोद चौधरी एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

    शशांक कोइराला र बिनोद चौधरी एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

    नवलपुर : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् ।

    दुबैजनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिए ।

    उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले ३ पटक चुनाव जितिसकेका छन् । यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट उनको चुनाव लड्ने तयारी रहेकोछ ।

    उद्योगपति चौधरीले २ नं. क्षेत्रबाट पनि प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव रानाभाटले बताए ।

    जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं. १ बाट ८ जना र क्षेत्र नं. २ बाट ६ जनाले आवेदन दिएको पार्टीले जनाएको छ ।

    प्रदेश सभा सदस्यतर्फ भने १ सय बढीको आवेदन परेको जिल्ला सचिव रानाभाटले बताए ।

    प्रदेश सभा सदस्यका लागि आवेदन दिनेमा वर्तमान प्रदेश सभा सदस्यदेखि नगर सदस्यमा चुनाव हारेकासमेत रहेको जिल्ला सचिव रानाभाटले बताए ।

    आवेदन परेका सबैको नाम छनौट गरेर भदौ २० गते उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने पार्टीले जनाएको छ ।

  • पोखराबाट मुस्ताङ उडेको जहाजको आपतकालिन अवतरण

    पोखराबाट मुस्ताङ उडेको जहाजको आपतकालिन अवतरण

    कास्की । जोमसोमका लागि पोखराबाट आइतबार बिहान उडेको समिट एयरको जहाज इन्जिनमा खराबी देखिएका कारण ७ मिनेटमै पोखरामा आपतकालिन अवतरण भएको छ ।

    जहाज पोखराबाट बिहान ७ः५९ बजे उडेको थियो ।

    जहाज उडेको ७ मिनेटमा फेरि पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताएका हुन ।

    पाइलटले जहाजमा खराब सङ्केत देखिएको भन्दै दायाँ इन्जिन अफ गरी जहाजलाई पोखराको आकाशमा एक फन्को लगाएर फेरि पोखरानै अवतरण गराएका थिए ।

    जहाज पोखरा विमानस्थलमा आपतकालिन अवतरण गरेपछि यात्रुमा रुवाबासी चलेको थियो ।

    जहाजको आपतकालिन अवतरण भए पनि विमानस्थलमा आकस्मिक तैनाथ गर्न भने नपरेको जानकारी सूचना अधिकारी सुवेदीले बताए।

  • काबुलको मस्जिदमा बम विष्फोट

    काबुलको मस्जिदमा बम विष्फोट

    काबुल : अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझ प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एक प्रमुख धर्मगुरूसहित कम्तीमा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।

    एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिएका छन् भने धेरै बालबालिका घाइते भएका छन् ।

    तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

    इस्लामिक स्टेट समूहको स्थानीय सहयोगीले तालिबान र सर्वसाधारणलाई लक्ष्यित गर्दै देशका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी त्यसको जिम्मेवारी पनि लिएको थियो ।

    प्रत्यक्षदर्शीका अनुसार शहरको खेर खन्ना नजिकैको सिद्दिकिया मस्जिदलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले विस्फोट गराएको थियो । विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

    काबुलको इटालियन आपतकालीन अस्पतालले बम विष्फोट भएको स्थानबाट पाँच बालबालिकासहित कम्तीमा २७ जना घाइते सर्वसाधारणलाई त्यहाँ ल्याइएको बताएको छ ।

    विष्फोटनका बेला मस्जिदमा रहेका एकजना प्रत्यक्षदर्शीले आज बिहान मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउँदै कम्तीमा २५ जना मारिएका एपीलाई जानकारी दिए ।एपी

  • आजको मौसममा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आजको मौसममा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ : आज देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । प्रदेश नं १ का पहाडी भू–भागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

  • काउलि, टमाटर जस्ता पाँच थरी तरकारीमा घातक विषादी

    काउलि, टमाटर जस्ता पाँच थरी तरकारीमा घातक विषादी

    काठमाडौँ : काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ ।

    कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।

    केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटीको विश्लेषण एकाइमा गत आर्थिक वर्ष २०७८\७९ मा दुई हजार ८८३ वटा नमुनाको परीक्षण गरिएकोमा ४६ वटामा अत्यधिक विषादी अवशेष भेटिएको हो ।

    परीक्षण गरिएका नमुनामध्ये तोरीको साग, काउली, हरियो खुर्सानी, गोलभेँडामा सातरसात वटा खान नहुने विषादीको अवशेष भेटिएको थियो । यस्तै तुनेबोडीमा पाँचवटा, काँक्रो र घिउ सिमीमा तीनरतीनवटा, भेँडेखुर्सानी र गाँजरमा दुईरदुई वटा, हरियो फर्सी, बन्दा सलगममा एक\एक वटामा विषादीको अवशेष भेटिएको थियो । यी तरकारीमा विषादीको रोकावट दर ४५ देखि १२० प्रतिशतसम्म थियो ।

    यस्तै सो अवधिमा २९ किसिमका तरकारीमा केही दिन पर्खेर पुनः परीक्षणमा रिपोर्ट ठीक भएमा खान मिल्ने विषादीको अवशेष भेटियो । यो भनेको विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत हो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ ।

    आर्थिक वर्ष २०७८\८९ मा भारतबाट भित्रिएको तरकारीको नमुना परीक्षण गराउँदा खान नहुने विषादीको अवशेष भटिएको छ । सो अवधिमा कालीमाटी बजारमा भारतबाट भित्रिएका ४१६ वटा तरकारीको नमुना परीक्षण गर्दा पाँचवटामा खान नहुने विषादीको अवशेष र छवटा तरकारीमा केही दिन पर्खेर पुनः परीक्षण गर्दा ठीक भए मात्रै खान सकिने विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।

    सो प्रयोगशालाका अनुसार सो अवधिमा कालीमाटी बजारमा भारतसहित चीन, युगान्डा, टर्की, बगङ्लादेश, केन्याबाट भित्रिएका ६२५ वटा तरकारीका नमुना परीक्षण गरेको गरिएको थियो ।

    भारतपछि युगान्डाबाट भित्रिएका तरकारीमा १७७ वटा नमुना परीक्षण गरिएकोमा एउटैमा पनि खान नहुने विषादीको मात्रा नभेटिएको प्रयोगशालाकाले जनाएको छ ।