Author: Dwarika Pokhrel

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ : गगन थापा 

    सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ : गगन थापा 

    बुटवल । नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् । 

    शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई संबोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् । 

    उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए । उनले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रूखमा मतदान गरेर कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।’

    सभापति थापाले अगाडि भने, ‘किसानका खेतमा मल पर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस् ।
     
    यो क्षेत्रका उम्मेदवारका लागि आफूले मेहनत गरेर केही नहुने भन्दै सभापति थापाले भने, ‘यस क्षेत्रका उम्मेदवार सबैलाई आ–आफ्नो क्षेत्रमा दिनरात मेहनत गरेका छन् । उम्मेदवारले मेहनत गरेर म गगन थापा भएर तपाईसँग भोट माग्न आग्रह गरेको छ । पाँच वर्षलाई रूखलाई भोट दिनुहोस् देश हामी बनाउँछौँ ।’ 

    सभापति थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरे । उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् ।

    सभापति थापाले भने, ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ – केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घरमा जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’

    सभापति कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता –कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’

    थापाले नवयुवासँग कुरा गर्दा शुरूमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे ।

    ‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस् भन्नुस् यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ’ ।

    कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे । 

    ‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । यो कांग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ । यो कांग्रेसले मौका पाउनुपर्छ ।’

    सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् । 

    ‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो टेलिफोनले धेरैलाई झुक्याएको छ,’ उनले भने, ‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरेको युट्युवले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ । धेरै भ्रममा नपरौं ।’

    सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए । ‘संसारभर छरिएर रहेका नेपालीलाई पनि आह्वान गर्छौं– तपाईंहरूको सहयोग चाहिएको छ । तपाई–हामी मिलेर एउटा तागत बनाउनुपर्ने छ,’ उनले भने ।

    सभापति थापाले देशमा केही गर्ने र गर्न सक्ने भनेर माटोमा खुट्टा जमाएर बसेको पनि बताए । ‘मेरो सबैलाई आग्रह छ । नेपाली कांग्रेसको तलबाट काम गर्दै गर्दै यो ठाउँसम्म हामी आइपुगेका छौँ,’ उनले भने, ‘हामी यो देशमा केही गर्छौं, गर्न सक्छौँ भनेर माटोमा खुट्टा जमाएर बसेका हौं ।’

    उनले अब गाउँमा गएर काम नगरेसम्म बाँझिएका खेतबारी हराभरा हुन नसक्ने बताएका छन् । उनले भने, ‘खेतबारी बाँझिएका छन् भने घर रित्तिएका छन् । यो ठाउँ बौद्धिक, व्यापारिक व्यक्ति उत्पादन गर्ने ठाउँ हो । यही ठाउँको व्यक्ति के भन्छन् । ७५ प्रतिशत व्यक्ति विश्वविद्यालय पढ्न गएका छैनन् ।’

  • सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका सिडिओ निलम्बित

    सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका सिडिओ निलम्बित


    काठमाडौं । सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् । विशेष अदालत काठमाडौंमा ढुङ्गानासहित ३२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ ।

    जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा ढुङ्गाना गत पुस १७ गतेदेखि कार्यरत छन् ।

    उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगले जनाएको छ ।

    यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल ल्याइएका ‘ब्रेजा’ सवारीलाई सरकारी अभिलेखमा प्रविष्ट गरी वैध बनाइएको पुष्टि भएको आयोगको दाबी छ ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९९२० बमोजिम ढुंगानामाथि कैद र जरिवानाको मागदाबी गरेको छ ।

  • पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा

    पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा

    काठमाडौं । पाकिस्तान र अफगानिस्तान बीच सीमा पारको द्वन्द्व शुक्रबार तीव्र बनेको छ । अफगानस्तानले काबुल, कन्दहार र उबअतय क्षेत्रमा हवाई हमला गरेपछि इस्लामाबादले काबुलविरुद्ध “खुला युद्ध” घोषणा गरेको जनाएको छ ।

    पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफ ले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको बयानमा अफगानिस्तानमाथि पलायनवादी कट्टरपन्थी समूह र आतंकवादीलाई संरक्षण गरेको आरोप लगाउँदै “हाम्रो धैर्य टुट्यो, अब खुला युद्ध छ” भनेका छन् । उनले भनेका छन,“नाटो फौजको वापसीपछि अफगानिस्तानमा शान्ति हुने अपेक्षा थियो । तर त्यहाँ विश्वभरका आतंकवादीहरू जम्मा भए, आतंक निर्यात हुन थाल्यो । महिला–मानवअधिकारबाट वञ्चित गरियो, अब हाम्रो धैर्यको प्याला ओवरफ्लो भयो । अब ‘दमा दम मस्त कुलन्दर’ हुनेछ । हामी तिमीहरूका छिमेकी हौँ, हामी तिम्रो भेडा–भित्ता जान्ने गर्छौँ । अल्लाहु अकबर ।”

    यसैबीच, अफगानिस्तानका सरकारी प्रवक्ता जÞबिहुल्लाह मुजाहिद ले पाकिस्तानको हवाई हमलालाई “कायरतापूर्ण” कदम भनेका छन् । उनका अनुसार काबुल, कन्दहार र उबअतय का केही भागमा भएको हवाई हमलामा भाग्यमानी रूपमा कुनै मानवीय क्षति भएको रिपोर्ट छैन ।
    यो तनाव अफगानिस्तान र पाकिस्तानबीच दुरन्द रेखा (ब्रिटिशकालिन सीमारेखा) लाई लिएर बढ्दो सुरक्षा चिन्ता र विवादबीच आएको हो ।

    अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयले पाँचौरी सैनिकहरूद्वारा पाकिस्तान सीमा क्षेत्रमा प्रतिकारात्मक अभियानमा ५५ पाकिस्तानी सैनिक मारिएका, दुई बेस र १९ पोस्ट कब्जा गरिएको दाबी गरेको छ । मन्त्रालयका बयानअनुसार फेब्रुअरी २६ अर्थात रमजानको ९ गते राति ८ बजे उक्त अभियान सुरु गरिएको थियो, जसलाई “पाकिस्तानी सेनाले केही दिनअघि अफगान सीमा उल्लङ्घन गरेको” जवाफमा सञ्चालन गरिएको बताएका थिए ।

    यसैबीच, पाकिस्तानी तर्फबाट “गÞजÞब लिल हक” नामक विशेष अभियान सुरु गरिएको र यसमा १३३ अफगान तालिबान लडाकू मारिएका, २०० भन्दा बढी घाइते भएका तथा २७ तालिबान पोस्ट ध्वस्त र ९ कब्जा गरिएको दावी गरिएको छ । यसबीचको तनावले दुबै छिमेकी राष्ट्रबीच सुरक्षा, राजनीतिक र मानवीय चुनौती थप गम्भीर बन्दै गएको छ ।

  • विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै

    विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै


    काठमाडौं । विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै छ ।

    गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ । आजको दिनको मूलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ ।

    यस दिवसको यस वर्षको मूल नारा ‘समावेशितामार्फत सम्मान पुनः स्थापना’ रहेको छ । विश्व गैरसरकारी संस्था दिवसले समाजका सीमान्तकृत, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको अधिकार संरक्षण, सशक्तीकरण र समान सहभागिता सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले खेलेको योगदानलाई विशेष रूपमा उजागर गर्ने लक्ष्य राखेको छ ।

    विश्वभर मनाइने यस अवसरमा विभेद न्यूनीकरण, मानवीयता अभिवृद्धि तथा समुदायमै आधारित विकासलाई प्रवद्र्धन गर्ने विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन् । सामाजिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, महिला तथा बालअधिकार, वातावरण संरक्षणलगायत क्षेत्रमा गैरसरकारी संस्थाहरूले पुर्याएको योगदानको सम्मानसमेत यस दिवसमार्फत गरिन्छ ।

  • यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

    त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३५ पैसा ,जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

    यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

  • आजको मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना


    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।

    आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

  • अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : गगन थापा

    अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : गगन थापा

    सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गरेका छन् । सुर्खेतमा भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।

    उनले भने, ‘विगत पाँच छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ । बैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौैँ भन्छ कांग्रेसले । जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ ।’

    उनले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए ।

    उनले भने, ‘आओस् एमाले, आओस् नेपाली कम्युनिष्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाउँ भन्दा कोही नआउने । हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरु आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरुलाई कर्णालीबासीले नपत्याओस् ।’

    सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले सम्बोधनका क्रममा भने, ‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।’

    सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए ।

    विदेशमा भएकाहरुलाई सम्बोधन गर्दैै थापाले भने, ‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।’

    उनले यो पाँच वर्षलाई परीक्षण नगर्न पनि आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै भने, ‘यो पाँच वर्षलाई परीक्षण नगरौँ । हामी काम गरेर देखाउने हो । कर्णालीका बारेमा सबै राम्रा भन्न सकिन्छ तर प्रश्नसँगसँगै देशभर १७ प्रतिशत हुँदै गर्दा करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभपरिका बालबालिका बचाउँदा कर्णालीका किन बनाउन सकिएन ? समस्याको जरासम्म पुग्नुपर्छ ।’

    उनले कर्णाली र काठमाडौँ महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने बताए । उनले भने, ‘कर्णालीको आय वार्षिक ५२ करोड छ । काठमाठौँमा त १० अर्ब छ । सुतीसुती मेयरले १० अर्ब खर्च गर्न पाउँछ । प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात, सडकबाट पाउँछ । यहाँ त यातायात र सडक नै कम छ ।’

    सभापति थापाले अगाडि भने, ‘कर्णालीको विकासको पहिलो मुद्धा संविधान पनि बदल, कानून पनि बदल । काठमाडौँबाट कर लिन पाउने हक कर्णालीले लिनुपर्छ । म संविधान र कानून बदलाब गरौँ भनेर भन्छु । तर बनाउन कति दुःख छ । कर्णालीमा पैसा कम छ मात्र हैन खर्च पनि गर्न सकिएको छैन । पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था राखेपछि कर्णालीको खर्च बजेट फ्रिज हुन्छ । अर्को वर्षको कार्तिक मंसिरसम्म नभएसम्म खर्च गर्न सकिन्न ।’

    उनले सूचनाको अवसरमा पनि कर्णाली पछि पर्ने बताए । उनले तीतो सत्य अगाडि सार्दै भने, ‘त्यो सूचनाको उद्योगमा काम गर्न विज्ञान, अग्रेजी र गणित राम्रो हुनुपर्छ । त्यसका लागि आमाको स्वास्थ्य राम्रो हुनुपर्छ । आमाको काखमा हुँदासम्म ५ वर्षमै विज्ञान, अंग्रेजी र गणितको अवस्था बच्चाले बुझेको हुन्छ । काठमाडौँलेमात्र लाभ लिने हुन्छ । त्यसैले प्रतिस्पर्धाका लागि कर्णालीकी आमा र पोषणमा काम गर्नुपर्छ ।’

    सभापति थापाले कर्णालीको खर्च बाँदरले दिएको दुःखमा भएको उल्लेख गर्दै उनले भने, ‘विकास बहुआयामिक छ । यहाँ हल्ला छ । को कसरी हात हल्लाउँदै छ यसको चर्चा छ ।’

    उनले कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे ।

    सभापति थापाले भने, ‘मैले दुई चार ओटा गालीको कुरा गरेँ भने त्यसले बेलुका भाइरल भइहाल्छ । आएको हैन माओवादी ? खै के भयो ? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने ? नेपाली कांग्रेस यही देशको पार्टी हो । हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौँ । देश पनि बदल्छौँ । पाँच वर्षमा देशलाई दुर्घटनामा जान दिन्नौँ । यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन । अर्को शक्ति आक्रोश छ आगो छध । हामी पेटको आगो पनि भर्नुपर्नेछ ।’

    सुर्खेतको मैदानमा बोल्दै सभापति थापाले उपस्थित समुदायतिर हेर्दै भने, ‘यो उत्साह यो चौरीमा भएर हुँदैन । सबै साथीहरु गाउँ जानुस् । आफ्नो घरमा होइन मतदाताको घरमा पुग्नुस् । कांग्रेसको सन्देश दिलएर पुग्नुस् । पाँच वर्षलाई खेर जान दिन हुन्न भन्नुस् ।’

    सो सभामा नेपाली कम्युनिष्ट पार्टीबाट धनलाल गुरुङ, भोजराज मल्ल, बलराम रावल र नारायण बस्नेतसहित ८० जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई सभापति थापाले पार्टीमा स्वागत गरे ।

  • इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

    इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

    इरानका विदेशमन्त्री अब्बास अराघची र उहाँको वार्ता टोली बुधबार तेहरानबाट जेनेभाका लागि प्रस्थान गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

    वासिङ्टन र तेहरानले इरानको आणविक कार्यक्रमबारे सहमति जुटाउने उद्देश्यका साथ ओमानको मध्यस्थतामा दुई चरणको वार्ता गरिसकेका छन्।

    अमेरिकाले इरानले युरेनियम प्रशोधन शून्यमा झार्न पटक–पटक आह्वान गर्दै आएको छ, यसका साथै, इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई सम्बोधन गर्न र उक्त क्षेत्रमा रहेका लडाकू समूहलाई समर्थन गर्न पनि माग गर्दै आएको छ ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु हतियार निर्माण गर्न नदिने बताउनुभएको छ।

    इरानले बारम्बार आणविक हतियार आफ्नो रोजाइ नभएको बताउँदै आएको छ तर शान्तिपूर्ण उद्देश्यका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार आफूसँग रहेको पनि बताउँदै आएको छ।

    सम्झौताका लागि इरानमाथि दबाब दिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा महत्वपूर्ण जलसेना परिचालन गर्नुभएको छ ।

    इरानले हालैका दिनहरूमा देशको दक्षिणी क्षेत्र र खाडीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ नजिकै धेरै चरणको सैन्य अभ्यास गरेको छ।

  • कम्बोडियाका विपक्षी नेता चान्थी जेलमुक्त

    कम्बोडियाका विपक्षी नेता चान्थी जेलमुक्त

    सरकारको आलोचना गरेको आरोपमा जेलमा रहेका कम्बोडियाली विपक्षी पार्टीका पूर्व नेता शाही माफीपछि बुधबार रिहा हुनुभएको छ ।

    नेशन पावर पार्टीका संस्थापक सन चान्थीलाई सन् २०२४ डिसेम्बरमा सामाजिक अराजकता निम्त्याएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको थियो । कम्बोडियाली अधिकारीहरूले यो आरोप बारम्बार सरकारी आलोचकविरुद्ध प्रयोग गर्छन् ।

    जापानमा समर्थकहरूसँगको भेटका क्रममा कम्बोडियाली सरकारको आलोचना गर्ने भिडियो क्लिपसहित उनको सामाजिक सञ्जाल पोष्टसँग उहाँको मुद्दा सम्बन्धित छ।

    नेसन पावर पार्टीका सल्लाहकार रोङ चुनले राजा नोरोद्दोम सिहामोनीले आममाफी दिएपछि चान्थीलाई बुधबार बिहान पुर्सात प्रान्तको एक जेलबाट रिहा गरिएको बताउनुभयो ।

    चुनले आफ्ना नेताको रिहाइको स्वागत गर्दै भन्नुभयो, “जेलमुक्त गरिएका चान्थीलाई उहाँकी श्रीमतीले जेलबाट बुझ्नुभएको थियो ।

    परम्परागत रूपमा सरकारको अनुरोधमा कब्बोडियाका राजाले शाही माफी जारी गर्ने परम्परा रहेको छ ।

    चुनले रिहाइको पुष्टि गर्दै भन्नुभयो, “चान्थीको समय अगावै भएको रिहाइको लागि कुनै कारण दिइएको छैन।”

    लामो समयदेखि विपक्षी नेता र मजदुर कार्यकर्ता रहेका रोङ छुन आफैँले गत वर्ष यस्तै उक्साएको आरोपमा चार वर्षको जेल सजाय पाएपछि मुद्दाबारे अपिल गरिरहनुभएको छ।

    सन् २०२४ मा उहाँले भूमि विवादका पीडितहरूलाई भेटेपछि र प्रधानमन्त्री हुन मानेटको भियतनामको सीमामा रहेको क्षेत्रमा टिप्पणी गरेपछि उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो।

    चुनले बुधबार उहाँविरुद्धको आरोप फिर्ता लिन र जेलमा रहेका दलका अन्य कार्यकर्ताहरूको रिहाइको माग गर्नुभएको छ ।

    अधिकारवादी समूहहरूले लामो समयदेखि कम्बोडियाको सरकारले कानुनी मुद्दालाई विपक्षी आवाज र वैध राजनीतिक असहमतिलाई दबाउन रणनीतिको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।

    नेता हुन सेनले करिब चार दशकको शासनपछि राजीनामा दिएपछि उहाँका छोरा हुन मानेटले सन् २०२३ मा सत्ता सम्हाल्नुभएको थियो ।

  • ग्रीसमा भएको डुङ्गा दुर्घटनामा परेका इजिप्टका १८ जना अझै बेपत्ता

    ग्रीसमा भएको डुङ्गा दुर्घटनामा परेका इजिप्टका १८ जना अझै बेपत्ता

    गत हप्ता ग्रीसको क्रेट टापुमा आप्रवासीहरूलाई बोकेको एक डुङ्गा दुर्घटनामा वेपत्ता भएका आफ्ना १८ नागरिक अझै हराइरहेका इजिप्टले बुधबार जानकारी गराएको छ।

    काठको उक्त डुङ्गामा चार नाबालकसहित ५० जना सवार थिए ।

    ग्रीक अधिकारीहरूले उद्धार कार्यका लागि त्यस क्षेत्रमा एक व्यापारिक जहाजलाई निर्देशन दिएका थिए ।

    ग्रीसको सार्वजनिक प्रसारक इआरटीका अनुसार आप्रवासीहरूको डुङ्गा नजिक पुग्दा एउटा दुर्घटना भएको थियो ।

    यात्रुहरूले उद्धार जहाजमा भर्याङ चढ्न खोज्दा अचानक डुङ्गा पल्टिएको थियो ।

    इजिप्टको विदेश मन्त्रालयका अनुसार डुङ्गामा २१ इजिप्टका नागरिक सवार थिए, जसमध्ये तीन जना मृत अवस्थामा फेला परेका छन् भने अन्य अझै हराइरहेका छन् ।

    ग्रीक अधिकारीहरूका अनुसार व्यावसायिक जहाजले बीस आप्रवासीहरूलाई उद्धार गरेको थियो तर धेरै व्यक्तिहरू अझै पनि बेपत्ता छन्।

    स्थानीय सञ्चारमाध्यम क्रेटा २४ का अनुसार ग्रिसका अधिकारीहरूले मानव तस्कर भएको आशङ्कामा दुई सुडानी पुरुषलाई पक्राउ गरेका छन् ।

    आप्रवासी डुङ्गा लिबियाबाट हिँडेको अनुमान गरिएको छ ।

    आप्रवासीहरूले नियमित रूपमा लिबियाबाट युरोपेली सङ्घको प्रवेशद्वार क्रेटमा खतरनाक छाल पार गर्ने प्रयास गर्छन्।

    गत वर्ष १७ हजारभन्दा बढी इजिप्टका नागरिक भूमध्यसागर हुँदै युरोप पुगेका थिए, जसले उनीहरूलाई युरोपमा अनियमित आप्रवासीहरूको शीर्ष अफ्रिकी र दोस्रो ठूलो विश्वव्यापी समूह बनाएको थियो।

    धेरै आप्रबासीहरू इजिप्टको नाइल डेल्टाका गरिब शहरहरूबाट आउँछन् र लिबिया हुँदै यात्रा गर्छन्, जहाँ उनीहरूले स्वेच्छाचारी हिरासत, यातना, यौन हिंसा र जबरजस्ती श्रमको सामना गर्छन्।

    उनीहरूलाई प्रायः जबरजस्ती असुली गरिन्छ र बन्धक बनाइन्छ र जबसम्म उनीहरूका परिवारले घरबाट तस्करहरूलाई थप पैसा पठाउँदैनन् उनीहरूले गन्तव्यतर्फ जान पनि पाउँदैनन् ।

    इजिप्टको विदेश मन्त्रालयले नागरिकहरूलाई ‘अवैध आप्रवासन गिरोहहरूबाट बहकिनबाट बच्न अत्यधिक सावधानी अपनाउन’ चेतावनी दिएको छ र मृतकहरूको स्वदेश फिर्तीमा समन्वय गरिरहेको बताएको छ।